सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिदी र भिनाजुको डिभोर्स बन्यो युवक हत्याको कारण

आइतबार, ०३ जेठ २०८३, २२ : १७
आइतबार, ०३ जेठ २०८३

सारांश

  • चन्द्रागिरि नगरपालिका-३, थानकोट खरिबोटमा २५ वर्षीय युवक जाकिर मन्सुरीको हत्या भएको छ।
  • पूर्व भिनाजु समि अहमदले चक्कु प्रहार गरी मन्सुरीको हत्या गरेको आरोप छ।
  • दिदीलाई किन छाडेको भन्ने प्रश्नले आजित भएका भिनाजुले विवादका क्रममा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ । शनिवार राति चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट खरिबोटमा २५ वर्षीय युवक जाकिर मन्सुरीको हत्या भयो । महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका मन्सुरी काठमाडौँको थानकोटमा बसेर साडीमा बुट्टा भर्ने काम (पिको) गर्दै आएका थिए । जेठ २ मा राति आफ्नो पूर्व भिनाजुको डेरामा गएका उनलाई भिनाजुले चक्कु प्रहार गरेका हुन् । ९ बजेर १५ मिनेटमा चक्कु प्रहारबाट घाइते भएका उनलाई सतुङ्गलस्थित मेड पोइन्ट अस्पतालका चिकित्सकले मृत घोषणा गरे ।

हत्यामा संलग्न आरोपमा प्रहरीले मृतकका भिनाजु महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई पक्राउ गरेको छ । मृतक मन्सुरीकी दिदीसँग  महमदले ३–४ वर्षअघि नै सम्बन्धबिच्छेद गरेका थिए । आरोपी र मृतक दुवै जना चन्द्रागिरिमा बसेर साडीमा बुट्टा भर्ने काम गर्दै आएका थिए । काम गर्ने ठाउँ फरक थियो । भेट्दा र खानपिन हुँदा उनीहरूको बिचमा बेलाबेला विवाद हुने गरेको थियो । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतका अनुसार अहमदलाई  जाकिरले सधैँ एउटै प्रश्न गर्थे, ‘ दिदीलाई किन छाडेको ?’

सो प्रश्नले अमहद आजित भैसकेका थिए । शनिवार राति पनि अहमदको डेरामा पुगेका जाकिरले त्यहि कुरामा विवाद गरेपछि उनीहरूको बिचमा लछारपछार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘लछार पछार हुँदा भिनाजुले चक्कु प्रहार गरेको देखिन्छ ।’

जाकिर पनि त्यहिँ छेउछाउमै डेरामा बस्दै आएका थिए । भिनाजुले चक्कु प्रहार गर्दा जाकिरको हात, छाती र गर्धन लगायतका ७–८ ठाउँमा चोट लागेको छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप