इबोलाको नयाँ ‘आउटब्रेक’ : के नेपाल सुरक्षित छ?
सारांश
- कंगो र युगान्डामा इबोलाको नयाँ प्रकोप देखिएको छ, जसबाट ८० जनाको मृत्यु भएको छ र २४६ जना शंकास्पद संक्रमित छन्।
- बुन्दिबुग्यो भाइरसका कारण फैलिएको इबोलाको मृत्युदर २५-४०% सम्म हुन सक्छ, यद्यपि हालको प्रकोपमा ३३% देखिएको छ।
- नेपालमा इबोलाको जोखिम कम भए पनि अफ्रिकाबाट नेपालीहरूको बढ्दो आवतजावतले संक्रमण भित्रिने सम्भावनालाई नकार्न सकिँदैन।
हालै अफ्रिकी महादेशको कंगोमा बुन्दिबुग्यो भाइरसका कारण इबोला रोग तीव्र गतिमा फैलिरहेको छ। इबोला भाइरस कंगोसँगै छिमेकी देश युगान्डामा पनि पुगिसकेको छ।
विश्व स्वास्थ्य सङ्गठनले मे १७ मा प्रकाशित गरेको जानकारीअनुसार यो प्रकोप (आउटब्रेक) मा ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शङ्कास्पद सङ्क्रमितहरू देखिएका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई "अन्तर्राष्ट्रिय महत्त्वको जनस्वास्थ्य आपत्काल" समेत घोषणा गरिसकेको छ। अर्थात्, हाल देखिएको यो भाइरसको असाधारण तथा तीव्र फैलावटले अरू देशलाई पनि प्रभावित पार्न सक्ने जोखिम भएकाले समन्वयात्मक अन्तर्राष्ट्रिय प्रतिक्रियाको आवश्यकता देखिएको छ।
तसर्थ, हाल यी दुई अफ्रिकी देशमा सीमित देखिएको इबोला भाइरस थप अरू देशमा पनि पुग्न सक्ने जोखिमलाई नकार्न सकिँदैन। मङ्कीपक्स (एमपक्स) भाइरस लामो समय अफ्रिकी महादेशमा मात्र सीमित देखिए पनि पछिल्लो समय नेपाललगायत विश्वव्यापी रूपमै फैलिन पुगेको घटनालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ।
हाल देखिएको इबोला रोगको कारक ‘बुन्दिबुग्यो भाइरस’ भएको पुष्टि भइसकेको छ। विगतका तथ्याङ्कले इबोलाका अन्य दुई प्रजाति– जाइरे र सुडान भाइरसले ठुला प्रकोप निम्त्याएको देखाउँछन्। बुन्दिबुग्यो भाइरसको मृत्युदर भने माथि उल्लेखित दुई भाइरसको तुलनामा कम देखिएको छ। विभिन्न अनुसन्धानले बुन्दिबुग्यो भाइरसका कारण हुने इबोलाको मृत्युदर २५ देखि झन्डै ४० प्रतिशतसम्म हुने देखाएका छन्।
यद्यपि, हालै देखिएको इबोला प्रकोपमा ३३ प्रतिशत मृत्युदर देखिएको छ। बुन्दिबुग्यो भाइरस पहिलोपटक युगान्डाको बुन्दिबुग्यो क्षेत्रमा सन् २००७ मा देखिएको थियो। तत्पश्चात् सन् २०१२ मा कंगोमा पनि यो भाइरसको प्रकोप देखिएको थियो।
विभिन्न अध्ययन अनुसन्धानले देखाएअनुसार बुन्दिबुग्यो भाइरसका संक्रमितमा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, घाँटी दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने, अत्यधिक शारीरिक तथा मानसिक थकान हुने, बान्ता हुने, पखाला लाग्ने र रक्तस्राव हुने जस्ता लक्षणहरू देखा पर्छन्। सङ्क्रमण भएको २ देखि २१ दिनभित्रमा यस्ता लक्षणहरू देखा पर्ने गर्छन्। समस्या थप जटिल बन्दै गएमा यसले मिर्गौला, कलेजो तथा स्नायु प्रणालीमा समेत असर गर्ने गर्छ। यस सङ्क्रमणको प्रारम्भिक स्रोत चमेरो तथा बाँदरलाई मानिन्छ।
पछि सङ्क्रमित व्यक्तिको तरल पदार्थ जस्तै: रगत, बान्ता, दिसा आदिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्ने गर्छ। सुरुवाती लक्षणहरू औलो, टाइफाइड र डेंगु जस्ता सङ्क्रमणहरूसँग मिल्दोजुल्दो हुने हुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित हुने सम्भावना सधैँ उच्च रहन्छ।
सन् २००७ मा पहिलोपटक बुन्दिबुग्यो भाइरस देखिँदा पनि धेरै सङ्क्रमितहरू स्वयं स्वास्थ्यकर्मी नै थिए। हालै पनि ४ जना स्वास्थ्यकर्मीमा सम्भावित इबोला सङ्क्रमण पुष्टि भइसकेको छ। यसबाट स्वास्थ्यकर्मीहरूमा इबोला सङ्क्रमणबाट बच्नका लागि पर्याप्त तयारी वा व्यावहारिक जानकारी नभएको देखिन्छ।
केही वर्ष अगाडि अफ्रिकामा इबोलाको प्रकोप देखिँदा नेपालमा पनि यसको सङ्क्रमणबाट बच्न स्वास्थ्यकर्मीलाई पीपीई (व्यक्तिगत सुरक्षा कवच) लगाउने तरिकाको प्रशिक्षण दिइएको थियो। तत्पश्चात् कोभिड-१९ को महामारीमा उनीहरू पीपीई लगाएरै उपचारमा खटिएका थिए। तर, महामारीको अन्त्यसँगै हाल लामो समयदेखि पीपीईको प्रयोग खासै गर्ने गरिएको छैन।
नेपालीहरूको रोजगारीको मुख्य गन्तव्य अफ्रिकी महादेश नपर्ने भए तापनि पछिल्ला केही वर्षयता त्यहाँ जानेहरूको संख्या बढ्दो छ। अस्पतालमा अफ्रिका जानका लागि अनिवार्य मानिने येलो फिभरको खोप लगाउन आउनेहरूको बढ्दो चापले पनि यो सङ्केत गर्छ।
रोजगारको सिलसिलामा अफ्रिकी देशमा रहँदा औलो सङ्क्रमित भएर नेपाल फर्केका कतिपय बिरामीलाई लेखकले विगतमा देखेको पनि छ। यातायातको सहज पहुँच र रोजगारीको बढ्दो अवसरले गर्दा नेपालीहरू त्यहाँ जाने क्रम बढेको हो।
तसर्थ, हाल नेपालमा इबोलाको जोखिम अति न्यून रहे तापनि आगामी वर्षहरूमा अफ्रिकी महादेशमा देखिने सङ्क्रमणहरू नेपालमा आयातित हुँदैनन् भनेर यकिनका साथ भन्न सक्ने अवस्था छैन। विगतमा पनि अफ्रिकामा इबोलाको प्रकोप देखिँदा नेपालमा सतर्कता अपनाइएको थियो भने टेकु अस्पताललाई यसको पहिचान तथा उपचारका लागि तयारी अवस्थामा राखिएको थियो।
कोभिड-१९ को महामारीपछि नेपाल सरकारले टेकु अस्पताललाई स्तरोन्नति गरेर आधुनिक संरचनासहितको अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। यद्यपि, यो लेख तयार पार्दासम्म उक्त घोषणाअनुरूप अस्पतालको भौतिक निर्माण कार्य सुरु भइसकेको छैन।
कोभिड-१९ को महामारीले नेपालमा सुविधासम्पन्न सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको आवश्यकता महसुस गराइसकेको छ। हामी अहिले पनि समस्या पर्दा आत्तिने अनि समस्या सकिएलगत्तै बिर्सिने गर्छौँ। प्रकोप कहाँ र कहिले देखिन्छ भनेर कसैले पनि यकिनका साथ भविष्यवाणी गर्न सक्दैन। तर, पूर्वतयारी राम्रो गर्न सकेमा सम्भावित उच्च मृत्युदर र यो फैलन सक्ने अवस्थालाई धेरै हदसम्म नियन्त्रणमा ल्याउन भने पक्कै सक्छौँ।
अन्तमा, इबोला प्रकोपले अबका दिनमा कस्तो मोड लेला, त्यो आगामी दिनमा गरिने प्रतिकार्यको क्षमतामा निर्भर रहनेछ। नेपालमा हाल यो भाइरसको जोखिम न्यून देखिए पनि शून्य नै भने छैन। पछिल्ला केही वर्षयता रोजगार, भ्रमण वा अन्य कारणले अफ्रिकी देशहरूमा नेपालीहरूको बढ्दो आवतजावतले त्यहाँ देखिने सङ्क्रामक रोगहरू नेपाल भित्रिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
नेपालका लागि नौलो मानिने इबोला र यस्ता उच्च सङ्क्रामक तथा घातक रोगहरूको सामना गर्न तयारी अवस्थामा रहनु आजको अपरिहार्यता हो। यसका लागि आधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) जस्तो संस्था स्थापना गर्न जरुरी भइसकेको छ।
पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटको संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड
-
पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीकाे ध्यानाकर्षण
-
प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
-
बङ्गलादेशको निर्यातमा सामान्य कमी
-
शिथिल अर्थतन्त्रलाई गति दिने मौद्रिक नीतिको खोजी
-
अढाई सय वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण