सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोस्रो त्रैमासको सुरुमै सुस्तायो चिनियाँ अर्थतन्त्र

सोमबार, ०४ जेठ २०८३, १३ : ०५
सोमबार, ०४ जेठ २०८३

सारांश

  • चीनको अर्थतन्त्रमा अप्रिलमा औद्योगिक उत्पादनको वृद्धि घटेको छ भने खुद्रा बिक्री तीन वर्षयताकै न्यून स्तरमा झरेको छ ।
  • विश्वको दोस्रो ठुलो अर्थतन्त्र कमजोर आन्तरिक माग र इरान युद्धका कारण बढेको ऊर्जा लागतको दबाबमा परेको छ ।
  • निर्यात क्षेत्रको राम्रो प्रदर्शनले आन्तरिक मागको कमजोरीलाई केही हदसम्म कम गरे पनि पूर्ण रूपमा त्यसको क्षतिपूर्ति गर्न सकेको छैन ।

बेइजिङ । चीनको अर्थतन्त्र सुस्ताएको सङ्केत देखिएको छ । अप्रिलमा चीनको औद्योगिक उत्पादनको वृद्धि घट्नुका साथै खुद्रा बिक्री तीन वर्षयताकै न्यून स्तरमा पुगेको हो । यसलाई विश्वको दोस्रो ठुलो अर्थतन्त्र कमजोर आन्तरिक माग र इरान युद्धका कारण बढेको ऊर्जा लागतको दबाबमा परेको रूपमा हेरिएको छ ।

विश्लेषकहरूका अनुसार अपेक्षाभन्दा राम्रो निर्यात र चीनको इन्धन मूल्य नियन्त्रण नीतिले ऊर्जा सङ्कटको असर केही हदसम्म कम गरे पनि बढ्दो उत्पादन लागतले उद्योगहरूको नाफामा थप दबाब सिर्जना गरिरहेको छ ।

युद्ध लामो समयसम्म जारी रहे उपभोक्ता खर्चमा समेत थप असर पर्न सक्ने चेतावनी दिइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस) ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा चीनको औद्योगिक उत्पादन गत वर्षको तुलनामा ४ दशमलव १ प्रतिशतले बढेको छ ।

मार्चमा यस्तो वृद्धि ५ दशमलव ७ प्रतिशत रहेको थियो । यो वृद्धि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको सर्वेक्षणमा गरिएको ५ दशमलव ९ प्रतिशतको अनुमान भन्दा कम हो । यो २०२३ को जुलाईयताकै सबैभन्दा कमजोर औद्योगिक वृद्धिदर समेत हो ।

निर्यात क्षेत्रको राम्रो प्रदर्शनले आन्तरिक मागको कमजोरीलाई केही हदसम्म कम गर्न सहयोग गरे पनि पूर्ण रूपमा त्यसको क्षतिपूर्ति गर्न नसकेको पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले बताएका छन् ।

अप्रिलमा निर्यात वृद्धि भएको कारणमध्ये कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उद्योगहरूबाट आएको उच्च माग र इरान युद्धका कारण विश्वव्यापी उत्पादन लागत अझ बढ्न सक्ने आशङ्कामा विभिन्न कम्पनीहरूले पुर्जा तथा सामग्री भण्डारण गर्न थालेको अवस्था रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप