सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिर्गौला प्रत्यारोपणपछि पनि खेलमैदानमा हरिनारायणको स्वर्णिम यात्रा’

सोमबार, ०४ जेठ २०८३, १४ : ०५
सोमबार, ०४ जेठ २०८३

काठमाडौँ । बागलुङको एउटा सामान्य गाउँका जन्मिएका युवक अहिले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीका रूपमा चिनिएका छन् ।

केही वर्षअघि अस्पतालको शय्यामा जीवन र मृत्युबीच सङ्घर्ष गरिरहेका उनीभित्रको दृढ विश्वास र आत्मबलकै कारण विदेशका थुप्रै प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पदक जित्न सफल भएका हुन् । जैमिनी नगरपालिका–१, कुश्मीसेराका हरिनारायण शर्माको जीवन यात्रा त्यही सङ्घर्ष, साहस, कृतज्ञता, आशा र पुनर्जन्मको प्रेरणादायी कथा हो ।

कहिलेकाहीँ जीवनमा यस्ता कठिन क्षण आउँछन्, जहाँ सबै सपना टुटेको जस्तो लाग्छ, भविष्य अन्धकार देखिन्छ र बाँच्ने आशासमेत हराउन थाल्छ । तर त्यही अन्धकारबीच आशाको एउटा सानो किरणले जीवनलाई फेरि उज्यालो बनाउन सक्छ । पाँच दिदीबहिनीहरूका बीचमा बाबा–आमाका एक्लो छोरा रहेका उनी सानैदेखि सामाजिक कार्यमा रुचि राख्थे । गाउँ, विद्यालय तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने उनी सबै उमेर समूहका मानिससँग सजिलै घुलमिल हुन सक्थे । पढाइमा पनि राम्रो थिए ।

परिवारको भविष्य र छोराहरूको शिक्षाका लागि उनी काठमाडौँमा निजी क्षेत्रमा ग्राफिक डिजाइनिङको काम गर्दै थिए । विस्तारै शरीर कमजोर हुँदै गयो, हातखुट्टा सुन्निने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, अत्यधिक कमजोरी महसुस हुनेजस्ता समस्याहरू देखिन थाले ।

अस्पतालमा जाँच गर्दा चिकित्सकहरूले दुवै मिर्गौलामा गम्भीर समस्या भएकाले छिटोभन्दा छिटो डायलासिस वा मिर्गौला प्रत्यारोपणको तयारी गर्न सुझाव दिए । उनी सम्झन्छन्, “त्यो क्षणमा जीवन नै समाप्त भएकोजस्तो लाग्यो । केही सोच्न, बोल्न वा बुझ्न सकिन । विस्तारै ओपिडी बाहिर निस्किएँ ।”

त्यतिबेला अस्पतालमा र ओपिडीमा आफ्नो पालो कुरिरहेका व्यक्तिका आफन्तहरुबीच धेरैजसो नकारात्मक कुरा मात्र सुनिन्थ्यो–यस्तो रोग लागेपछि उपचार गर्न गाह्रो हुन्छ, धेरै खर्च लाग्छ, प्रत्यारोपण सफल हुँदैन, जीवनभन्दा मृत्यु नै सजिलो हुन्छ भन्ने । यस्ता कुराले आफूजस्ता बिरामीलाई मानसिक रूपमा झन कमजोर बनाउँथ्यो । कहिलेकाहीँ लाग्थ्यो बरु सजिलै मर्न पाए परिवारलाई कम दुःख हुन्थ्यो भन्ने सोचसमेत आएको उनी बताउँछन् ।

चिकित्सकसँग खुला रूपमा प्रश्न गर्न वा उपचारपछि जीवनको सम्भावनाबारे बुझ्न पनि आँट आउँदैनथ्यो । वरिष्ठ चिकित्सक डा ऋषिकुमार काफ्लेले “तिमी प्रत्यारोपणपछि पनि राम्रो गर्न सक्छौ । भारतमा एउटा राम्रो अस्पताल छ, कम खर्चमा उपचारका लागि सिफारिस गरिदिन्छु” भनेर दिएको सल्लाहले नै उनलाई बाँच्ने आशा पलायो । त्यस समय नेपालमा डायलासिसबाहेक प्रत्यारोपण सुविधा उपलब्ध थिएन ।

उनी नयाँ जीवनको आशामा भारतको कोइम्बातुरस्थित कोभाइ मेडिकल अस्पतालमा पुगेका थिए । उनको २०६३ चैत २३ गते मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भयो । त्यतिबेला उनी २८ वर्षका थिए । उनको उपचारमा धेरै व्यक्तिहरुबाट सहयोग जुटेको थियो । धेरैको सानो सानो सहयोग, स्कूलका साना नानीबाबुहरुले आफ्नो खाजा खर्चबाट जोगाएरसमेत सहयोग गरेकाले नै उपचार सम्भव भएको थियो । जीवनको अन्तिम विन्दुमा पुगेको मानिसलाई एउटा सकारात्मक भावनाले र सानो सहयोगले पनि फेरि बाँच्ने शक्ति दिन सक्छ, आशा पलाउँछ ।

परिवारको सहयोग र चिकित्सकको प्रयासपछि उनको मिर्गौला प्रत्यारोपण सफल भयो । प्रत्यारोपणपछि चिकित्सकले उनलाई नियमित व्यायाम गर्न सुझाव दिए ।

प्रत्यारोपणपछि समाजसेवा र जनचेतनाको अभियान मिर्गौला प्रत्यारोपणपछि शर्माले आफ्नो जीवनलाई केबल व्यक्तिगत सङ्घर्षमा सीमित राखेनन् । उनले अङ्गदान र प्रत्यारोपणपछि पनि स्वस्थ, सफल र सक्रिय जीवन जिउन सकिन्छ भन्ने सन्देश फैलाउने अभियान सुरु गरे । उनले सन् २०१० मा केही साथीहरूसँग मिलेर नेपालमै पहिलोपटक नेपाल ट्रान्सप्लान्ट गेम्स तथा मिर्गौला स्वास्थ्य तथा अङ्गदान सचेतनाका लागि ‘किड्नी वाक’ कार्यक्रम सुरु गरे । यी कार्यक्रम अहिले पनि विभिन्न संस्थाहरूले निरन्तर सञ्चालन गरिरहेका छन् ।

सन् २०१० देखि देशका विभिन्न स्थान तथा विद्यालयहरूमा अङ्गदान र मिर्गौला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सन् २०११ देखि हालसम्म ‘वल्र्ड किड्नी डे च्याम्पियन’का रूपमा सक्रिय छन् । सन् २०२२ मा स्वीट्जरल्याण्डको लोजानस्थित ओलम्पिक भवनमा ‘वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेशन’द्वारा आयोजित ‘ग्लोबल अर्गान डोनेसन एम्बासडर क्याम्पेन’मा नेपालको प्रतिनिधित्व गरे । सन् २०२३ मा अष्ट्रेलियाको पर्थमा सम्पन्न वल्र्ड ट्रान्सप्लान्ट गेम्स प्रतियोगितामा नेपालका पाँच जना प्रत्यारोपण खेलाडीलाई सहभागिता गराउन टोली प्रबन्धकको भूमिका निर्वाह गरे । आरोग्य फाउन्डेसन तथा अन्य संघसंस्थाको सहयोगमा सहभागी नेपाली खेलाडीहरूले सात पदक जित्न सफल भएका थिए । सन् २०२३ मा थाइल्याण्डको बैंककमा आयोजित पहिलो ‘पेटाङ्क ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पियनसिप’मा सहभागिता जनाए ।

तीनवर्ष अघि नेपाल प्रत्यारोपण खेलकुद सङ्घ स्थापना गरी संस्थापक तथा महासचिवको रूपमा कार्यरत उनी ‘वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेशन’का लागि नेपालको तर्फबाट टोली प्रबन्धकको रूपमा कार्यरत छन् । थाइल्याण्डको बैंककमा २९ अप्रिलदेखि ३ मे २०२६ सम्म सम्पन्न दोस्रो पेटाङ्क ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पियनसिपमा उनले एक स्वर्ण पदक र एक रजत पदक जितेर अन्तरराष्ट्रियस्तरमा देशलाई गौरवान्वित बनाए । अष्ट्रेलिया, भुटान, चीन, हङकङ, हङ्गेरी, भारत, मलेसिया, नेपाल तथा थाइल्याण्डका ८५ जना ट्रान्सप्लान्ट खेलाडी सहभागी उक्त प्रतियोगितामा उनले पुरुष सिंगल्स (नेसन्स गु्रप) मा स्वर्ण पदक र मिक्स डबल (नेसन्स गु्रप) मा रजत पदक जित्न सफल भए ।

उनको यो उपलब्धि केवल खेलकुदको विजय मात्र नभई समाजका लागि शक्तिशाली सचेतनामूलक सन्देश पनि बनेको छ । यसले अङ्गदान तथा अङ्ग प्रत्यारोपणपछि पनि मानिसलाई नयाँ जीवन, नयाँ आशा र समाज तथा राष्ट्रका लागि सक्रिय योगदान गर्ने अवसर दिन सक्छ भन्ने पुष्टि गरेको छ । उनको यो यात्रा अङ्ग प्रत्यारोपणको प्रतीक्षामा रहेका हजारौँ बिरामी तथा प्रत्यारोपणपछि पुनः जीवनतर्फ फर्किरहेका व्यक्तिहरूका लागि प्रेरणा बनेको बागलुङका सञ्चारकर्मी हरिनारायण गौतम बताउँछन् ।

सन् २००८ मा नेपालमा सुरु भएको मानव अङ्ग प्रत्यारोपण सेवाले उल्लेखनीय प्रगति गरिरहेको छ । अहिले काठमाडौँसहित देशका विभिन्न सहरहरूमा मिर्गौला र कलेजो प्रत्यारोपण सेवा विस्तार भइरहेको छ । नेपालमा प्रत्यारोपण सफलताको दर विकसित देशहरूसँग तुलना गर्न सकिने अवस्थामा पुगेको छ भने खर्च पनि तुलनात्मक रूपमा कम मानिन्छ । नेपाल सरकारले सरकारी अस्पतालमार्फत सहुलियत तथा निःशुल्क प्रत्यारोपण सेवा उपलब्ध गराउन प्रयास गरिरहेकोमा उनी खुसी व्यक्त गर्छन् । तर जीवनभर नियमित खानुपर्ने महँगा औषधि, उपचार र परीक्षण खर्चले गरिब तथा निम्न आय भएका बिरामीहरूलाई अझै कठिनाइ भइरहेको उनको भनाइ छ । उनका अनुसार डायलाइसिस सेवा जिल्ला अस्पतालसम्म विस्तार हुँदै गए पनि दक्ष जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको छ ।

नेपालमा अझै धेरै बिरामी अङ्गदाताको अभावमा प्रतीक्षामा बस्न बाध्य छन् । अङ्गदानसम्बन्धी जनचेतना अझ व्यापक बनाउन आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, “एकजना मस्तिष्क मृत्यु भएका व्यक्तिले आठ जनासम्मलाई नयाँ जीवन दिन सक्छन् । अङ्गदान संसारकै सबैभन्दा ठूलो मानवसेवा हो ।” बाहिरका व्यक्तिले पनि स्वेच्छाले, कुनै आर्थिक प्रलोभनबिना कसैको जीवन बचाउन अङ्गदान गर्न चाहेको अवस्थामा कानुनी व्यवस्था सहज हुनुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य बिमा प्रणालीलाई सरल र झन्झटरहित बनाउने, नेपालका जुनसुकै अस्पतालबाट स्वास्थ्य बीमा सुविधा उपलब्ध हुने व्यवस्था गर्ने, डायलासिस तथा प्रत्यारोपण बिरामीलाई सरल, सहज र निःशुल्क औषधि तथा उपचार उपलब्ध गराउन सके यस्ता जटिल प्रकृतिका बिरामीको उपचारमा सहज हुने उनको धारणा छ ।

प्रत्यारोपणपछि स्वस्थ जीवनका लागि सुझाव उनले प्रत्यारोपणपछि स्वस्थ, सक्रिय र सफल जीवनका लागि नियमित रूपमा समयमै औषधि सेवन गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, व्यायाम, खेलकुद, योग, ध्यान, प्राणायाम र प्रार्थनालाई दैनिकीमा समावेश गर्ने, चिकित्सकको सल्लाह पालना गर्ने, अन्य सङ्क्रमणबाट जोगिने, स्वस्थ पानी र ताजा खानाको सेवन गर्ने, सामाजिक, पारिवारिक र आध्यात्मिक गतिविधिमा धेरैभन्दा धेरै सक्रिय रहने, मानसिक, शारीरिक र आध्यात्मिक रूपमा स्वस्थ रहन कोसिस गर्ने र सकारात्मक सोच राख्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार परिवारको माया, सहयोग, सद्भाव, आशीर्वाद र प्रार्थनाले बिरामीलाई भित्रबाट बलियो बनाउँछ ।

अहिले पनि उनी प्रत्यारोपणपछि पनि स्वस्थ, सक्रिय र सकारात्मक जीवन बाँच्न सकिन्छ भन्ने सन्देश फैलाउने अभियानमा सक्रिय छन् । “मिर्गौला प्रत्यारोपणपछि जीवन सकिँदैन भन्ने सन्देश दिन चाहन्छु”, उनी भन्छन् । अङ्गदान – जीवनदान भएकाले प्रत्यारोपणपछि पनि जीवन सुन्दर, सक्रिय र अर्थपूर्ण हुन्छ भन्ने उनको अभियान जारी नै छ । शर्माको जीवन कथा केबल खेलकुदको सफलता होइन, आशा, साहस र पुनर्जन्मको कथा हो । कठिन परिस्थितिमा पनि आत्मविश्वास र निरन्तर मेहनत भए असम्भवजस्तो लाग्ने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने प्रेरणा उनीबाट लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप