सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जसरी पृथ्वी घुमेको देखिँदैन, त्यसैगरी बजेट पनि शून्यमा हराइरहेछ’

सोमबार, ०४ जेठ २०८३, १६ : ४३
सोमबार, ०४ जेठ २०८३

सारांश

  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।
  • उनले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनले मधेसमा ठूलो सङ्कट उत्पन्न भएको र राज्यका निकायबाट उचित ध्यान नपुगेकोमा असन्तुष्टि व्यक्त गरे।
  • अध्यक्ष ठाकुरले बजेट विनियोजन र खर्च प्रक्रिया पारदर्शी नभएको भन्दै बजेट बालुवामा पानी हाले जस्तै शून्यमा नजाओस् भन्ने कामना गरे।

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले विकासका कुरा भए पनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको टिप्पणी गरेका हुन् ।

चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनका कारण मधेसमा ठूलो सङ्कट उत्पन्न भएको उनले बताए। प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको भयावह समस्या निम्त्याएको उनको भनाइ थियो।

महिनौँसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका निकायहरूबाट उचित ध्यान नपुगेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। सो क्रममा उनले वातावरणीय चेतनाको अभाव र भौतिक विनाशका कारण विगतमा स्थापित विद्यालयहरू समेत बन्द हुने अवस्थामा पुगेको बताए।

बजेट विनियोजन र त्यसको खर्च हुने प्रक्रिया पारदर्शी नभएको भन्दै अध्यक्ष ठाकुरले आलोचना गरे। उनले भने, ‘हामी चुरे विनाशको कुरा गरिरहेका छौँ, तर त्यहाँबाट ढुङ्गा, माटो र बालुवा निकाल्ने क्रम रोकिएको छैन। भावर क्षेत्रको स्थिति पनि उस्तै छ। बजेट जान्छ तर त्यसको प्रतिफल देखिँदैन। आधा बजेट कता हराउँछ, पत्तो हुँदैन। जसरी हामी पृथ्वी घुमिरहेको देख्दैनौँ, त्यसैगरी बजेट पनि शून्यमा हराइरहेको छ।’

विगतका वर्षहरूमा बजेट विनियोजन भए पनि त्यसले लक्षित वर्ग र क्षेत्रलाई छुन नसकेको उल्लेख गर्दै उनले यस पटकको बजेट बालुवामा पानी हाले जस्तै शून्यमा नजाओस् भन्ने कामना गरे। विकास निर्माणका योजनाहरू कागजमा मात्र सीमित नभई जनताले महसुस गर्ने गरी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।

समितिको बैठकमा अध्यक्ष ठाकुरले सरकारलाई मधेसको संवेदनशीलता बुझ्न र विकासका योजनाहरूलाई परिणाममुखी बनाउन ध्यानाकर्षण गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप