सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसको ड्रोन आक्रमणमा चिनियाँ जहाज क्षतिग्रस्त

सोमबार, ०४ जेठ २०८३, १७ : ०२
सोमबार, ०४ जेठ २०८३

सारांश

  • युक्रेनको ओडेसा क्षेत्रमा रुसले गरेको ड्रोन आक्रमणमा चिनियाँ स्वामित्वको मालवाहक जहाज क्षतिग्रस्त भएको छ ।
  • मार्सल आइल्यान्ड्सको झन्डा बोकेको केएसएल देयाङ नामक उक्त जहाजमा आक्रमण हुँदा कुनै पनि चालक दल सदस्य घाइते नभएको जनाइएको छ ।
  • युद्ध सुरु भएयता युक्रेनको कृषि तथा निर्यातका लागि महत्त्वपूर्ण मानिने ओडेसा क्षेत्रका बन्दरगाहहरूमा बारम्बार आक्रमण भइरहेका छन् ।

किभ । युक्रेनको ओडेसा क्षेत्रका बन्दरगाह नजिक ड्रोन आक्रमण हुँदा चिनियाँ स्वामित्वको मालवाहक जहाज क्षतिग्रस्त भएको छ । यो घटना रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबिच भेटवार्ताका लागि पुटिन बेइजिङ जानुअघि भएको हो ।

युक्रेन स्पोर्ट्स अथोरिटीका अनुसार सोमबार भएको आक्रमणमा दुई नागरिक जहाजलाई निशाना बनाइएका थिए । तीमध्ये एउटा मार्सल आइल्यान्ड्सको झन्डा बोकेको र अर्को गिनी–बिसाउको झन्डा बोकेको जहाज रहेको बताइएको छ ।

युक्रेनी नौसेनाका अनुसार प्रभावित जहाजमध्ये केएसएल देयाङ पनि रहेको छ, जुन चिनियाँ स्वामित्वमा रहेको र मार्सल आइल्यान्ड्सको झन्डामुनि सञ्चालन भइरहेको मालवाहक जहाज हो । आक्रमणपछि जहाजको एक भाग जलेको तस्बिर सार्वजनिक गरिएको छ । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसले बन्दरगाह क्षेत्र लक्षित गर्दै नागरिक जहाजमाथि आक्रमण गरेको आरोप लगाएका छन् । उनका अनुसार आक्रमणका क्रममा जहाजमा कुनै पनि चालक दल सदस्य घाइते भएका छैनन् ।

युक्रेनी नौसेनाका प्रवक्ताले जहाजमा रहेका सबै चालक दल चिनियाँ नागरिक भएको र उनीहरू सुरक्षित रहेको बताएका छन् । साथै जहाज आक्रमणपछि पनि आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको जनाइएको छ । 

रिपोर्टअनुसार उक्त जहाज आक्रमणको समयमा खाली थियो र पछि ओडेसा क्षेत्रको पिभ्डेनी बन्दरगाहमा फलाम खनिज लोड गर्न जाने तयारीमा थियो । विश्लेषकहरूका अनुसार ओडेसा क्षेत्र युक्रेनको कृषि तथा निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो । जहाँ युद्ध सुरु भएयता बारम्बार आक्रमण भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप