सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

संसदीय सुनुवाइमा हतारो नगर्न एमाले उपनेता अर्यालको आग्रह

'अध्ययनका लागि समय नै नदिई आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय'
मङ्गलबार, ०५ जेठ २०८३, ०९ : १९
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइ प्रक्रियामा हतारो गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।
  • उनले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफल बिना निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राखिन् ।
  • अर्यालले संवैधानिक परिषद्बाट सिफारिस भई आएका नामहरूको योग्यता र विज्ञता जाँच्न परिषद्मा छलफल भएका अन्य उम्मेदवारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गरिन् ।

काठमाडौँ ।  नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाएकी छिन् । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफल बिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राखिन्। 

बैठकमा उपनेता अर्यालले कार्ययोजना र उजुरीहरू भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका लागि समय नै नदिई आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय भएको बताइन् । अर्यालले संवैधानिक परिषद्बाट सिफारिस भई आएका नामहरूको योग्यता र विज्ञता जाँच्न परिषद्मा छलफल भएका अन्य उम्मेदवारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गरिन् । 

उनले भनिन्, ‘उजुरीहरू अध्ययन गर्ने र उजुरीकर्ताका गुनासा सुन्ने समय नै नदिई हतारमा निर्णय गर्दा समितिको गरिमा घट्छ । यस्ता संवेदनशील विषयमा गम्भीर छलफल र पारदर्शी प्रक्रिया अपनाउनुपर्छ संवैधानिक परिषद्मा ६ जनाको नाम गएको चर्चा थियो । तीमध्ये कुन आधारमा तीन जना वा प्रस्तावित व्यक्तिको नाम छनोट भयो, त्यो जान्ने अधिकार समितिलाई छ । प्रधानमन्त्रीले योग्यता र विज्ञताको कुरा गर्नुभएको छ, अन्य उम्मेदवार र प्रस्तावित व्यक्तिको कागजात तुलना गरेपछि मात्र हामी स्पष्ट हुनसक्छौँ । हामीले अधिकार प्रयोग नगर्दा यो समिति कार्यपालिकाको छाया जस्तो मात्र देखिन्छ । त्यसैले रातभर अध्ययन गरेर भएपनि भोलि वा पर्सि मात्र परिपक्व निर्णयमा पुग्नु राम्रो हुन्छ ।’ 

उनले संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र राष्ट्रिय सभाका अध्यक्षले राखेको असहमति वा ‘नोट अफ डिसेन्ट’ का विषयमा पनि समिति सुसूचित हुनुपर्ने जिकिर गरिन् । समितिको निर्णय कार्यपालिकाको आदेश पालना गर्ने औपचारिक माध्यम मात्र बन्न नहुने उनले बताइन् । उपनेता अर्यालले प्रक्रियागत त्रुटी नगरी र हतार नगरी गम्भीरतापूर्वक अगाडि बढ्न सभापतिको ध्यानाकर्षण गराएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप