बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

म्यानचेस्टर सिटी र बर्नमाउथ बराबरीमा रोकिएपछि आर्सनल बन्यो प्रिमियर लिग च्याम्पियन

बुधबार, ०६ जेठ २०८३, ०६ : ०२
बुधबार, ०६ जेठ २०८३

सारांश

  • म्यानचेस्टर सिटी र बर्नमाउथबीचको खेल १-१ गोलको बराबरीमा सकिएपछि आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको छ ।
  • म्यानचेस्टर सिटीले बर्नमाउथसँग बराबरीमा रोकिनु परेपछि लिगको एक चरण बाँकी छँदै आर्सनलले शीर्ष स्थानमा ४ अंकको अग्रतासहित उपाधि जित्यो ।
  • आर्सनलले यसअघिका लगातार तीन सिजनमा उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

काठमाडौँ ।म्यानचेस्टर सिटी र बर्नमाउथबीचको खेल १–१ गोलको बराबरीमा सकिएसँगै आर्सनल प्रिमियर लिग च्याम्पियन बनेको छ । यससँगै आर्सनलको २२ वर्ष लामो प्रिमियर लिग उपाधिको प्रतिक्षा समाप्त भएको छ । आर्सनलले सन् २००४ पछि पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।

उपाधि होडमा कायम रहन म्यानचेस्टर सिटीले आफ्ना बाँकी दुवै खेल जित्नुपर्ने थियो र आर्सनलले आफ्नो अन्तिम खेल हारोस् भन्ने कामना गर्नुपर्ने थियो । तर, मंगलबार राति भएको खेलमा सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि पेप ग्वार्डिओलाको टोलीको उपाधि चुनौती समाप्त भएको छ । लिगको एक चरण बाँकी छँदै यो बराबरीले आर्सनललाई शीर्ष स्थानमा ४ अंकको स्पष्ट र सानदार अग्रता दिलायो, जसले गर्दा आर्सनल च्याम्पियन घोषित भयो ।

बर्नमाउथको मैदानमा भएको खेलमा पहिलो हाफमा जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । म्यानचेस्टर सिटीका लागि खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले गोल गर्दै खेल बराबरीमा ल्याए पनि सिटीलाई जित दिलाउन त्यो पर्याप्त भएन ।

मुख्य प्रशिक्षक मिकेल आर्टेटाका लागि यो सफलता ठूलो राहत र खुसीको क्षण बनेको छ । यसअघिका लगातार तीन सिजनमा आर्सनल उपविजेतामा सिमित हुनुपरेको थियो । सन् २०२३ र २०२४ मा म्यानचेस्टर सिटीसँग तथा गत वर्ष लिभरपुलसँग पछि पर्दै आर्सनल दोस्रो स्थानमा समेटिएको थियो । यस सिजनमा भने आर्सनलले सुरुदेखि नै बलियो अग्रता कायम राख्दै अन्ततः उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

आर्सनलका लागि खुसी मनाउने अवसर यतिमै सीमित छैन। टोलीले यसै महिनाको अन्त्यमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्दैछ, जहाँ क्लबले आफ्नो इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेर नयाँ इतिहास रच्ने अवसर समेत पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप