आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे

आइतबार, ०३ साउन २०८३, १४ : ४१
आइतबार, ०३ साउन २०८३

सारांश

  • गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट करिब ८ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
  • २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष बिदेसिनेको संख्या ४७ हजार ७९ ले कमी आएको छ ।
  • वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको पहिलो रोजाइ संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ ।

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालबाट करिब ८ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति (नयाँ र पुनः) लिएका थिए, जसमा ६ लाख ९७ हजार ९६ जना पुरुष र बाँकी महिला छन् । अर्थात् २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष बिदेसिनेको संख्या ४७ हजार ७९ ले कमी आएको आएको देखिएको छ । 

२०८१/८२ मा विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागको तथ्यांकअनुसार म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो । गत वर्ष म्यानपावरहरूले २ लाख ६८ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने १ लाख २८ हजार ५ सय २० जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए । गत वर्ष जी–टु–जीमार्फत ८ हजार १ सय ९७ जना गएका थिए । 

म्यानपावरहरूले अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोगजारीमा पठाएका थिए, जुन गत आर्थिक वर्षको तुलनामा ९० हजार ६ सय ८५ ले कमी हो ।

बिदेसिने कुल संख्यामध्ये पुरुषको संख्या ६ लाख ९७ हजार ९६ (८८ प्रतिशत) छ भने महिलाको संख्या ९५ हजार ९१ (१२.०१ प्रतिशत) छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्यामा पनि वृद्धि भइरहेको विभागको तथ्यांकले देखाउँछ ।

यूएई पहिलो रोजाइ, मलेसिया र कतार दोस्रो र तेस्रोमा 

नेपाली कामदारहरूको पहिलो रोजाइ संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । एक वर्षको अवधिमा १ लाख ८३ हजार ५८० जना यूएई पुगेका छन् । यस्तै, दोस्रो स्थानमा मलेसिया छ, जहाँ १ लाख ३२ हजार ६४६ जना नेपाली पुगेका छन् । तेस्रो स्थानमा रहेको कतारमा १ लाख ३२ हजार ५१ जना र चौथो स्थानमा रहेको साउदी अरबमा १ लाख २४ हजार ५८३ जना नेपाली रोजगारीका लागि पुगेका छन् । युरोपेली मुलुक रोमानियामा पनि ३३ हजार ९२० जना नेपाली पुगेको देखिन्छ । 

बढ्न थाल्यो दक्ष कामदारको संख्या

सरकारले दक्ष कामदार पठाउने नीति लिए पनि अझै ठुलो संख्यामा अदक्ष कामदारहरू बिदेसिने क्रम रोकिएको छैन । विभागका अनुसार दक्षमा ४ लाख ८२ हजार ६४३ जना, अदक्ष १ लाख ९० हजार २६४ जना, अर्ध–दक्ष १ लाख १४ हजार ६१४ जना, व्यावसायिक ३ हजार ५७० जना र उच्च दक्ष १ हजार ९६ जना रहेका छन् । 

कुन जिल्लाबाट धेरै ? 

भौगोलिक आधारमा हेर्दा तराईका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेको संख्या सबैभन्दा धेरै छ । जसमा धनुषा जिल्लाबाट सबैभन्दा धेरै ३८ हजार ५५३ जना बिदेसिएका छन् । त्यसपछि झापाबाट ३५ हजार १२४, मोरङबाट ३१ हजार ९९० र सिरहाबाट ३० हजार २११ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

पुनः श्रम स्वीकृति लिनेको संख्या उच्च

कुल संख्यामध्ये नयाँ श्रम स्वीकृति लिएर जानेको तुलनामा पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या बढी देखिएको छ । विवरण अनुसार ३ लाख ८५ हजार ७८३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत र संस्थागत रूपमा नयाँ जानेहरूको संख्या पनि उल्लेख्य छ । 

कुन महिनामा कति ?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ६८ हजार ११० वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कात्तिकमा ७३ हजार ९४ जना रोजगारीका लागि विदेश गएको विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जना रोजगारीका लागि विदेश गएका छन् ।

त्यस्तै माघमा ७० हजार ५०३ जना, फागुनमा ५२ हजार ९४४, चैतमा ६१ हजार ८१९, वैशाखमा ७४ हजार ४२९ जना , जेठमा ६१ हजार ७२ जना र असारमा ६९ हजार ३६२ जना वैदेशिक रोजगारीका लागि गएका विभागले जनाएको छ ।

महिना र  श्रम स्वीकृति लिनेको संख्या

साउनः ६८ हजार ११०
भदौः ६७ हजार ९७२
असोजः ६४ हजार ६३४
कात्तिकः७३ हजार ९४
मंसिरः६५ हजार ७०५
पुसः६२ हजार ५५९
माघः७० हजार ५०३
फागुनः५२ हजार ९४४
चैतः६१ हजार ८१९
वैशाखः७४ हजार ४२९
जेठः६१ हजार ७२
असारः६९ हजार ३६२
जम्मा     ७ लाख ९२ हजार १८७
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप