फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?
सारांश
- फेसबुक र इन्स्टाग्राम विश्वव्यापी रूपमा अवरुद्ध भएका छन्, जसले लाखौं प्रयोगकर्तालाई प्रभावित पारेको छ।
- डाउनडिटेक्टरका अनुसार डेस्कटप प्रयोगकर्ताहरू वेबसाइटमा समस्याको सामना गरिरहेका छन्, जबकि मोबाइल एपहरूमा पनि केही असर देखिएको छ।
- मेटाले प्राविधिक समस्या स्वीकार गरेको छ तर समस्याको मुख्य कारण र समाधानको निश्चित समय खुलाएको छैन।
काठमाडौँ । मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम विश्वव्यापी रूपमा अवरुद्ध भएका छन्। समाचार संस्था 'न्युजविक'का अनुसार अमेरिकी समयअनुसार बिहान ३:२५ बजेदेखि सुरु भएको यो समस्याले केही घण्टामै विश्वभरका लाखौँ प्रयोगकर्तालाई प्रभावित बनाएको छ।
नेपालमा समेत आइतबार दिउँसो साढे १ देखि कैयन प्रयोगकर्ताले फेसबुक नखुलेको बताएका छन् । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको छैन भने कतिपयले एपबाट भने खुलेको बताएका छन् ।
सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलियो । अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने 'डाउनडिटेक्टर'का अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ गुनासो दर्ता गरेका छन्।
डेस्कटप प्रयोगकर्ता बढी प्रभावित
यस पटकको अवरोधमा एउटा रोचक ढाँचा देखिएको छ। डाउनडिटेक्टरका अनुसार ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप ब्राउजर) मा देखिएको छ भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत एपमा देखिएको छ। धेरैजसो प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको तर डेस्कटपमा खाता अस्थायी रूपमा उपलब्ध छैन भन्ने सन्देश देखाइरहेको बताएका छन्।
केही प्रयोगकर्ताहरूले अनौठो र डरलाग्दो अनुभव पनि साझा गरेका छन्। सामाजिक सञ्जाल 'रेडिट' मा एक प्रयोगकर्ताका अनुसार, उनलाई सुरुमा "तपाईंलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ भन्ने सन्देश आएको थियो । जुन पछि सामान्य त्रुटिमा परिणत भयो। यस्ता सन्देशका कारण कतिपय प्रयोगकर्ताहरू आफ्नो खाता ह्याक भएको वा बन्द भएको आशंकाले चिन्तित बनेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मेटाले आफ्नो आधिकारिक त्रुटि सन्देशमा भनेको छ— 'साइटमा आएको समस्याका कारण तपाईंको खाता अहिले उपलब्ध छैन। हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौं। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस्।' तर ठ्याक्कै के भएको हो भन्नेबारे बताएको छैन ।
सन् २०२१ मा मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झण्डै ६ घण्टाका लागि विश्वभर ठप्प भएका थिए। त्यतिबेला कम्पनीले नेटवर्क पूर्वाधारमा भएको 'कन्फिगरेसन परिवर्तन'का कारण उक्त समस्या आएको बताएको थियो। त्यसपछि पनि मेटाका प्लेटफर्ममा समस्या देखिँदै आएको छ ।
न्युजविकले यसबारे मेटालाई इमेलमार्फत आधिकारिक जानकारी मागेको जनाएको छ, तर अहिलेसम्म कम्पनीले समस्याको मुख्य कारण र समाधान भइसक्ने निश्चित समय खुलाएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण