करेन्ट लागेर घाइते भएका शाक्यको मुद्दामा पीडितलाई क्षतिपूर्ति भराउने फैसला
काठमाडौँ । उपभोक्ता अदालतले ललितपुरस्थित होटेल स्क्वायरको पौडी पोखरी (स्विमिङ पुल) मा करेन्ट लागेर गम्भीर घाइते भएका सजिलमान शाक्यको मुद्दामा पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
शुक्रबार उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले पीडित शाक्यको पक्षमा फैसला सुनाउँदै स्क्वाय होटलका सञ्चालकबाट १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। होटेलको लापरबाहीका कारण सेवाग्राहीको ज्यान जोखिममा परेको ठहर गर्दै अदालतले पीडित परिवारलाई सो रकम दिलाउन आदेश दिएको हो।
गएको २०८० साल भदौ १५ गते ललितपुरको पुल्चोकस्थित होटेल स्क्वायरमा परिवारसहित पौडी खेल्न गएका सजिलमान शाक्य पोखरीमा रहेको ’स्पटलाइट’ बाट विद्युत् चुहावट (इलेक्ट्रोक्युसन) हुँदा गम्भीर घाइते भएका थिए। आफ्नी साढे दुई वर्षकी छोरीलाई पौडी सिकाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्टका कारण शाक्यको मुटुको धड्कन बन्द भएको र तत्कालै मेडिसिटी अस्पताल पुर्याइएको थियो। लामो समयको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा पूर्ण सुधार आउन सकेको छैन। हाल उनी अर्धचेत र पक्षाघात (प्यारालाइसिस) जस्तै अवस्थामा घरमै नर्सको रेखदेखमा उपचाररत छन्।
पीडितकी श्रीमती रञ्जिना मानन्धर शाक्यले होटेल स्क्वायर (टि.डि.आर. स्क्वायर प्रा.लि.) र त्यसका सञ्चालकहरू विरुद्ध मुद्दा दायर गरेकी थिइन्। फिराद पत्रमा होटेलले सुरक्षा मापदण्ड नअपनाएको, दिउँसोको समयमा पनि पोखरीको बत्ती बालेको र मर्मत सम्भारमा गम्भीर लापरबाही गरेको उल्लेख थियो।
पीडित पक्षले उपचार खर्च र भविष्यमा हुने आम्दानीको क्षति समेत गरी कुल १० करोड रुपैयाँ क्षतिपूर्तिको मागदाबी गरेको थियो । यद्यपि, अदालतले उपलब्ध प्रमाण र कानुनी आधारमा १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ।
नेपालमा उपभोक्ता हित र सुरक्षाका विषयमा यति ठुलो परिमाणको क्षतिपूर्ति भराउने फैसला कमै हुने गरेका छन् । यो फैसलाले सार्वजनिक सेवा प्रदायक संस्थाहरू, विशेष गरी होटेल तथा मनोरञ्जन स्थलहरूलाई आफ्ना ग्राहकको सुरक्षाप्रति थप जिम्मेवार बन्न कडा सन्देश दिएको छ।
पीडित शाक्यका तर्फबाट अधिवक्ताहरूले 'लापरबाहीको सिद्धान्त’ र उपभोक्ता संरक्षण ऐन बमोजिम होटेलले आफ्नो दायित्व पुरा नगरेका कारण यो दुर्घटना भएको जिकिर गरेका थिए । चिकित्सा प्रतिवेदनहरूले पनि शाक्यको अवस्था करेन्टका कारण भएको पुष्टि गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण