बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बहस

परम्परागत वृत्त कि सचेत र ज्युँदो तप्का ?

शनिबार, ०९ जेठ २०८३, १३ : ००
शनिबार, ०९ जेठ २०८३

सारांश

  • समाजमा वर्ग अनुसार बौद्धिक तप्का मौजुद छ, जसको ज्ञानको प्रयोग कर्मको निम्ति महत्वपूर्ण हुन्छ ।
  • बौद्धिकहरूले सर्वसाधारणको सेवामा ज्ञान खर्च नगरे त्यो सर्वहारा वर्गीय दृष्टिकोणबाट काम लाग्ने हुँदैन ।
  • सत्ताको प्रतिपक्षी हुने बुद्धिजीवीहरूले सत्य बोल्ने साहस जुटाउनुपर्छ, जसमा सुकरात, ग्यालेलियो र ग्राम्स्की जस्ताले सत्ताको विरोध गरे ।

समाजमा वर्ग छ र वर्ग अनुसारकै बौद्धिक तप्का मौजुद छ । संसार भरी नै थुप्रै त्यस्ता बौद्धिकहरू छन्, जोसँग अथाह ज्ञानको सागर त छ तर त्यो ज्ञान उसले कुन कर्मको निम्ति खपत गरिरहेको छ भन्ने कुरा ऊसँग ज्ञान हुनुभन्दा अझ अहम् र महत्त्वपूर्ण सवाल हो । 

त्यस्ता थुप्रै बौद्धिकहरू छन्, जसले संसारभरका नयाँ पुराना सबै दर्शनहरूलाई खर्लप्पै निलेका त छन् तर त्यो ज्ञान उनीहरूले सर्वसाधारणहरूको सेवामा एक चिम्टी पनि खर्च गर्न कन्जुस्याइँ गर्छन् भने त्यो सर्वहारा वर्गीय दृष्टिकोणबाट हेर्दा कुनै काम लाग्ने प्रकारको बौद्धिक हुँदैन । 

त्यसैले समाजमा उपलब्ध वर्ग अनुसारका वर्गीय बुद्धिजीवी र हरेक परिस्थितिलाई विश्लेषण गर्ने चेत र दृष्टिकोण पनि वर्गीय पक्षधरता अनुरूप नै रहने गर्छ ।

नोम चोम्स्किको भाषामा ‘बुद्धिजीवी सधैँ सत्ताको प्रतिपक्षी हुन्छ’ । बर्तोल ब्रेख्त भन्छन्, ‘चाहे कठिनाइ जस्तो सुकै होस् चुनौती मोलेरै पनि बुद्धिजीवीहरूले सत्य लेख्ने, बोल्ने साहस जुटाउनुपर्छ’ । प्रचलित तर जनविरोधी मूल्य मान्यता विरुद्ध र सत्ताले स्थापित गरेको भाष्यको प्रतिरोधमा खडा भएर बौद्धिक कर्म निर्वाह गर्ने काम इतिहासबाटै कम सकसपूर्ण अवश्य थिएन । 

इतिहास साक्षी छ, सत्तासँग टक्कर लिएकै कारण झुटो मुद्दा लगाएर कतिलाई मृत्युदण्डको सजायसम्म दिइएको छ । त्यस्तै एकजना बागी दार्शनिक सुकरात पनि हुन् । सत्य बोलेकै कारण ग्यालेलियो ग्यालेलीलाई आजीवन बन्दी बनाइयो ।

एउटा प्रखर विचारको बौद्धिकतालाई कैद गर्न मुसोलिनीको फाँसीवादी सत्ताले एन्टेनियो ग्राम्स्किको मस्तिष्कलाई करेन्ट लगाएर क्षीण गर्ने योजनासहित बन्दीगृहमा नजरबन्द गरेको नजिर पनि छ । त्यस्ता थुप्रै छन् जो सँग सत्ताले दिने सहुलियतहरूको विकल्प हुँदाहुँदै तिनलाई टुक्राएर सधैँ सत्ताको खरो प्रतिपक्षमा बसे र सत्ताका ज्यादतीहरू विरुद्ध निरन्तर निरन्तर खबरदारी गरिरहे । 

जल्दो बल्दो समयलाई हेर्ने हो भने पनि अरुन्धोती रोयलाई भारतीय सत्ताले पटक–पटक दुःख दिने नियतले झुटा मुद्दाहरू सामना गरिरहन बाध्य पारिरहन्छ । सबै आलोचकहरू सत्तामा दुस्मन होइनन् तथापि उनीहरू सत्तालाई खबरदारी गर्नु आफ्नो बौद्धिक कर्म सम्झन्छन् । यी सबै कुनै रूढ र पुरानो परम्पराका अनुयायी नभएर सचेत र ज्युँदा बुद्धिजीवीहरू हुन् । 

कति पतिङ्गर, कति सतिसाल भएर उभिए

भाद्र २३–२४ ले निम्त्याएको सन्नाटामा डुबेर कति लेख्ने बोल्नेहरू ठाउँको ठाउँ ठहरै भए । थाहा छैन, ती चेतनाको ‘कोमा’ मा जीवित छन् या मृत भइसके ? कति बुद्धिजीवीहरू त्यही तुफानको लप्कामा ढल्किएर सत्ताको ‘रागमा राग’ मिलाउने अवस्थामा पुगे । कतिले भविष्यमा निम्तिन सक्ने सम्भावित खतराको आकलन गरेर कायर झैँ ‘आत्मरक्षा’ को बाटो रोजे । 

यी सबैका बाबजुद आजसम्म पनि ज–जसले निरन्तर खबरदारी गरेर आफ्नो बौद्धिक कर्म निभाइरहेका छन्, वास्तवमा ती आधुनिक ‘फिनिक्स’ हुन् । त्यो डढेलोले भौतिक संरचना मात्रै ध्वस्त गरेको थिएन, मान्छेको मनस्थितिलाई पनि निराशाको घनघोर गर्तमा धकेलेको थियो । साँच्चै, खरानीको थुप्रोबाट पुनर्जीवन लिएर आफ्नो कर्ममा फर्कनु कतै सहज थिएन, तैपनि केही अझै छन्– जो हुनुको अर्थ बोकिरहेका छन् । 

सायद तिनै हुन्, कवि नेत्रलाल अभागीको कविताले भनेका वास्तविक सतिसाल ।

आँधी र हुरी चलिरहेको बेलामा

वातावरण गतिशील र अशान्त भएको घडीमा

पहाडको चुचुरोमाथि

आँधी र हुरीसँग पौठेजोरी खेल्दै

एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।

जो हरेक सत्ताबाट पर बसे, सत्ताले दिने लाभ र पदकहरूबाट परै रहेर आफ्नो बौद्धिक कर्म गरिरहे, र सत्तालाई निरन्तर खबरदारी गरिरहे, आज तिनैलाई कसैले आफ्नो भएभरको बौद्धिकता छाँट्दै ‘डिपार्चर’ स्वीकार गर्न नसकेको ‘परम्परागत वृत्त’को आरोप लगाइरहेको छ । 

परम्परागत वा आधुनिक हुने नाममा, जिम्मेवार ओहोदामा रहेर गैरजिम्मेवार, व्यक्तिवादी र अराजक ‘अहम्’लाई मुक्तकण्ठले प्रशंसा गर्दै सही ठह¥याउने ठाउँमा एउटा ‘बुद्धिजीवी’ लेखक कसरी आइपुग्छ ? यसका आफ्नै छुट्टाछुट्टै अवस्थिति र पृष्ठभूमिहरू होलान्, यसमा खासै दुःख मनाउ गर्नुपर्ने केही छैन । तर फेरि पनि पुनर्पुष्टि भएको कुरा के हो भने लेखकको पनि आफ्नो वर्ग हुन्छ र उसको वर्गीय पक्षधरता हुन्छ ।

सत्ताको बुल्डोजर, भुइँमान्छेको ऐँठन

काठमाडौँमा सुकुम्वासी बस्तीहरू धमाधम भत्काइँदै थिए । सम्भावित नागरिक प्रतिरोधलाई रोक्न राज्यसत्ताले ठुलो मात्रामा सैन्य फौज र उपलब्ध भएसम्मका सुरक्षा निकाय चारैतिर परिचालन गरेको थियो । भर्खरै जेनजी प्रदर्शनका दौरान ठुलो क्षति बेहोरेर सन्त्रस्त बनिसकेका नागरिकहरू फेरि एक पटक मर्न वा अङ्गभङ्ग हुन तयार थिएनन् । 

कोही चुपचाप आफ्ना सरसामानहरू अन्यत्र सार्दै थिए, कोही भत्किँदै गरेका आफ्ना घरहरू हेरेर रुँदै, चिच्याउँदै बिलौना गरिरहेका थिए । सत्ताले देखिनसहेको त्यही झुप्रो, जहाँ उनीहरूको उमेर र जीवनका अनगिन्ती यादहरू चाङ लागेर बसेका थिए ।

निजी सम्पत्ति र परिवारमा आधारित विद्यमान सामाजिक संरचनामा एउटा घर भत्कनु भनेको केवल ढुङ्गा, माटो वा इँटाको भौतिक संरचना मात्र भत्कनु थिएन । त्यो त थुप्रै यादहरूको चाङ भत्कनु थियो । सिङ्गो मान्छे, उसको भावना र मानसिकता समेत भत्कनु थियो । 

जो गरिब थिए, जोसँग पुँजीको नाममा त्यही एउटा छाप्रोबाहेक केही थिएन, उनका निम्ति यो सामान्य दुःखको कुरा थिएन । त्यो यस्तो पीडा थियो, जसलाई शब्दहरूले बयान वा व्याख्या गर्नै सक्दैनन् । यही दुःख र मानसिक आघातलाई झेल्न नसकेर दुई जना नागरिकले घर भत्किएकै शोकमा आत्महत्याको बाटो रोजे ।

सामाजिक सञ्जालभरि आँसु र बिलौनाका तिनै दृश्यहरू छाएको त्यो कहालीलाग्दो समयमा मैले ‘अवैध’ भनिने लालपुर्जाविहीन जग्गामा बस्ने चिनाजानकी दिदीलाई भिडियो फोन गरेकी थिएँ । कैयौँ दिनको अनिदो र भोकका कारण उनको अनुहार विदीर्ण देखिन्थ्यो । कुरैकुरामा उनले भनिन, ‘निद्रा लाग्दैन, खाना रुच्दैन । कसैसँग बोल्न पनि मन लाग्दैन । एक्लै भए मरिदिन्थे, केटाकेटीको के होला भनेर बसेकी छु बहिनी ।’ 

उनको त्यो चिन्ताको ओखती मसँग थिएन । उनको आँसुका अगाडि म निःशब्द थिएँ । आफैँ विच्छिप्त र मर्माहत । मैले केही सान्त्वना दिन त खोजेँ, तर मेरो ओठे सान्त्वनामा उनलाई पत्यार गर्ने कुनै आधार थिएन ।

लोग्नेबाट परित्यक्त भएकी उनी आफ्ना सन्तानलाई हुर्काउँदा–हुर्काउँदै खै कता कताबाट लालपुर्जा नभएको राज्यले अवैध करार गरेको जमिनमा आइपुगेकी थिइन् । सत्ताका खेलाडीले दाउ खेलीखेली महँगो तुल्याएको जग्गाको एक छेउ कुनो पनि गरिबहरूको हैसियतमा थिएन । 

जिन्दगी गुजारा गर्न उनले सुकुम्वासी बस्तीमा खै कसो कसो गरेर एउटा बास बनाएकी थिइन् । त्यही बाससँगै जोडिएका थिए उनका थुप्रै खुसी, आशा र अपेक्षाहरू । तर, कुनै पनि समय त्यो खुसी आफूबाट खोसिने र आफ्नो बिचल्ली हुने ऐँठनमा उनी पल–पल बाँचिरहेकी थिइन् कि मरिरहेकी थिइन, मैले पनि छुट्याउन सकिन ।

उनी केवल एउटा उदाहरण हुन् । त्यस्ता जिउँदा १८ हजार मानिसको कल्पना गरि हेर्नुस त ! थाहा छैन, यो त्रास र ऐँठन बोकेर उनी अझै कति दिन भौँतारिन्छिन् । वा उनी जस्तै देशैभरि कति लाख नागरिक ऐँठनमा छन् । 

समयमै अदालतले त्यसमा रोक नलगाएको भए यतिखेर आत्महत्या गर्नेहरूको सङ्ख्या त्यतिमा मात्र सीमित हुने थिएन । यो दुःख देख्नका लागि भुईँमै पुग्नुपर्छ, भुईँका नागरिकसँग साक्षात्कार गर्नुपर्छ । दुःखसँग एकाकार गर्न सक्नु पर्छ । यस्तो पीडा कुनै फ्रान्सको क्याफेबाट देखिने कुरा थिएन । त्यहाँबाट त्यही मात्र देखिन्छ, जो उसले देख्न चाहन्छ र देख्न लायक सम्झन्छ । 

गरिब नागरिक कि सत्ताका बैरी 

सखी, तिमीले देख्यौ

त्यो कुलीन हावा 

जसले निर्दयतापूर्वक सत्ताको लाठी बजार्दै

गरिबहरूको पोल्टाबाट

हिजो मात्रै त लिलाम ग¥यो

सडक किनारमा जिन्दगी चलाउने

हजार रुपियाँको सिङ्गो लगानी

सय रुपियाँको पेट भर्ने दैनिकी । 

गरिबप्रति सत्ता क्रूर हुनु, अहिलेको समयमा आम भएको छ । बाटो छेउ बेच्न बसेको दुई मुठा साग वृद्ध आमाको पोल्टाबाट सत्ताले जफत गर्छ । वर्षमा एक पटक फल्ने एक डालो काफल बेच्न पुगेकी महिलाको काफल भुईँभरि पोखिदिएर सत्ता खित्–खित् हाँस्छ कानुनी व्यवस्था कायम गरेकोमा ।

आखिर ती दुई मुठा साग र एक डालो काफलले सत्ताको कुन सौन्दर्य कुरूप बनाउने अपराध गरेका छन् ? 

गरिब र श्रमजीवी जनताको पेटमा लाठी हान्ने, शोषण र अपहेलित गर्ने चक्र यो देशमा किन बढिरहेको छ ? बिगत हेर्दा स्थानीय सत्ता गरिब र निमुखा जनताप्रति यतिबिधी क्रूर देखिँदैन । यस्तो विषाक्त हावा अहिले काठमाडौँ महानगरबाट देशैभरी फैलिँदो छ । 

त्यस्तो विषाक्त हावा फैलाउने नायक अरू कोही नभएर बालेन्द्र शाह हुन् । नयाँ सत्तारोहणसँगै यो गरिबलाई दिएको उपहार हो उनको । जुन हातले स्नेह र प्रेमपूर्वक भोट दिएर सत्तामा पुर्‍याए आज तिनै मान्छेहरूलाई बाच्न धौ–धौ हुने अवस्था निम्तिँदै गर्दा पनि बौद्धिक वर्ग कसरी चुप लागेर बस्न सक्छ ? 

अचानोको पिर खुकुरीलाई थाहा हुँदैन भनेझैँ, वर्चस्वशाली सत्ता र त्यसका चाकडहरूलाई आफ्नो सुखका अगाडि गरिबको दुःखले खासै विचलित बनाउँदैन । जो अन्याय देख्न नसकेर बोल्छन्, तिनै आक्षेपित गरिन्छन् भने भत्किएको लोकतन्त्र हो कि कथित् परम्परा ?

देशैभरि गरिब र भूमिहीनहरू जुनै सुकै बेला घर भत्कन सक्ने ऐँठनमा बाँचिरहेका छन् । भएभरको सुरक्षा फौज गरिबका झुपडीमा खटाउँदै, उनीहरूको उठिबास लगाएर, मान्छेलाई मर्न विवश पार्ने शासकीय स्वरूपमाथि एक पित्को आक्रोश र आलोचना नगर्ने; तर जसले यस विरुद्ध निरन्तर खबरदारी गरे, तिनैलाई टोक्न आफ्नो आफ्नो सम्पूर्ण बौद्धिकतालाई बन्धकी राखेका लेखक खासमा कसको पक्षमा उभिएका हुन् हँ ? 

भारतका कवि मुक्तिबोधले सन् १९६० को दशकमा आफ्ना साथीहरूलाई सोध्ने गर्थे ‘साथी, तिम्रो पोलिटिक्स के हो ?’ ठिक त्यसैगरी आज हामीले सोध्नु पर्ने भएको छ– साथी, तिम्रो पोलिटिक्स के हो ? राजदूत वा योजना आयोगको प्रमुख ? मात्र यत्तिका लागि ?

वास्तविकता के हो भने, आफ्नै आँखा अगाडिको जनजीवनको सकस र विषादलाई नजरअन्दाज गरेर, आफ्नो कुरालाई सही साबित गर्न विश्वभरका जुनै दर्शन र दार्शनिकको फेरो समातेर ज्ञान पेले पनि त्यस्तो ज्ञान सत्ताको केन्द्रमा ‘बौद्धिक विलास’ गर्न त काम आउला, तर भुइँतहको धरातलमा त्यसले कुनै मूल्य राख्दैन । 

सरकारको कुनै कमजोरी नदेख्ने, त्यसलाई सधैँ सही बाटो हिँडिरहेको ठहर गर्ने र न्यूनभन्दा न्यून आलोचनात्मक चेतना समेत नराख्ने बौद्धिक तप्का सिधै शासकको ‘प्रवक्ता’जस्तो देखिने भूमिकामा झरेको दृश्य हेर्नु दिगमिग लाग्ने हुँदोरहेछ ।

सत्ताको अहङ्कारी रवाफले भिजेका बाहेक कसैले पनि सर्वसाधरण जनतालाई आतंकित पार्ने सरकारी रवैयालाई ‘परिवर्तनकारी’ मानेर आलोचकहरुलाई ‘परम्परावादी वृत्त’ ठहर्‍याउन सक्दैन । अनि आफ्नो विचारसँग असहमत हुने प्रश्नकर्तालाई ‘राजनीतिक रूपमा अचेत’ भनेर पन्छाउने चेष्टाले कुनै बौद्धिक चेतको प्रतिनिधित्व गर्दैन । 

व्यवहारका कुरा एकछिन छाडौँ, उदारवादी सिद्धान्तको कसीमा समेत त्यस्ता बुद्धिजीवी ‘जस्ट पास’ पनि हुन सक्दैनन् । 

सुकरात भन्थे, ‘म केही जान्दिनँ ।’ केही नजानेरै उनी धेरै थोक जान्दथे । कहिलेकाहीँ आफ्नै चिन्तनलाई पनि उल्ट्याएर हेरौँ । आफू मात्र ‘कन्सस’ (चेतनशील) र अरू सबै ‘अनकन्सस’ (अचेतन) देख्ने ज्ञानको यत्रो अहम् कुन पोखरीको पानी पिएपछि पलाउँछ महोदय ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुमिना
सुमिना
लेखकबाट थप