बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई थुन्ने ठाउँ नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् ।
- सांसद लामाले बाल सुधार गृहमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने र नाइके प्रथा अन्त्य गरी सुरक्षाकर्मी वा आधिकारिक कर्मचारीबाटै प्रत्यक्ष निगरानी हुनुपर्ने माग गरेकी छिन् ।
- उनले बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउन ध्यानका साथै धार्मिक आस्था अनुसारको प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने र अपराधको प्रकृति हेरेर सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् ।
आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार र सुधारका पक्षमा आफ्ना धारणाहरू राखेकी हुन् । बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा उनले सुधार गृहको व्यवस्थापन र बालबालिकाको आचरण सुधारका लागि विभिन्न सुझाव दिइन् ।
सांसद लामाले सुधार गृहमा खटिने कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने बताइन् । सुधार गृहमा दिइने सुविधाका सम्बन्धमा चर्चा गर्दै लामाले देशको अर्थतन्त्रले धान्न सक्ने र बाहिर रहेका आम बालबालिकाले पाउने सुविधासँग सन्तुलित हुने गरी व्यवस्था गरिनुपर्ने बताइन् । बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउन ध्यान (मेडिटेसन)का साथै उनीहरूको धार्मिक आस्था अनुसारको प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
आध्यात्मिक चेतनाले उनीहरूलाई आन्तरिक रूपमा अनुशासित बनाउन र भविष्यमा अपराधबाट टाढा रहन मद्दत पुग्ने उनले उल्लेख गरिन् । सांसद लामाले सुधार गृहभित्र कायम रहेको ‘नाइके प्रथा’ प्रति आपत्ति जनाइन् । उनकाअनुसार कैदीबन्दीमध्येबाटै नाइके छनोट गर्दा बालबालिकाहरूमाझ थप हिंसा र डरको वातावरण सिर्जना भइरहेको छ । त्यसैले, नाइके प्रथालाई पूर्णतः अन्त्य गरी सुरक्षाकर्मी वा आधिकारिक कर्मचारीबाटै प्रत्यक्ष निगरानी हुनुपर्ने उनको माग छ ।
१८ वर्ष उमेर पुगिसकेका व्यक्तिहरूलाई उनीहरूको इच्छा विपरीत भएपनि राज्यको नीति अनुसार अन्यत्र स्थानान्तरण गर्नुपर्ने र यसमा राज्य कठोर हुनुपर्ने उनले बताइन् । अपराधको प्रकृति हेरेर सजायको व्यवस्था गर्न र सामान्य गल्ती गर्नेहरूलाई सम्झाई–बुझाई सुधारको मौका दिनुपर्नेमा पनि उनले जोड दिइन् । बैठकमा सांसद लामाले बालबालिकाले गरेको गल्तीले समाज र पीडितलाई परेको असरबारे उनीहरूलाई बुझाउन सके मात्र वास्तविक सुधार सम्भव हुने धारणा व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
-
बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण