शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ’

शनिबार, ०९ जेठ २०८३, १५ : २८
शनिबार, ०९ जेठ २०८३

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताएका छन् । उनले विसं २००७ सालदेखि गत भदौमा भएको जेनजी पुस्ताको आन्दोलनमा युवापुस्ताको उल्लेखनीय योगदान रहेको धारणा राखे ।

आज धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले २००७ सालको क्रान्तिदेखि २०४६/४७ को जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै पछिल्लो जेनजी पुस्ताको आन्दोलनसम्म युवाहरूले लोकतन्त्र, गणतन्त्रको स्थापना तथा सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि उल्लेखनीय योगदान गरेका बताए । उनले मुलुकमा भएका विभिन्न परिवर्तनमा युवाको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री शाहले स्पष्ट पारे । उनले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतनाको आवश्यकता रहेकामा जोड दिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालको सभापतित्व भएको कार्यक्रममा महासङ्घका केन्द्रीय उपमहासचिव किरण थापा र भवराज रेग्मी, युवा अभियानका अध्यक्ष योगेन्द्र काफ्ले तथा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाहलगायतको उपस्थिति थियो ।

आजदेखि सुरु भएको दुईदिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट युवाहरूको सहभागिता रहेको छ । सम्मेलन जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप