सुदूर कांग्रेसको निष्कर्ष : विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व असफल, देउवामाथिको आरोप फिर्ताकाे माग (निष्कर्षसहित)
सारांश
- सुदूरपश्चिम प्रदेश कांग्रेसले विशेष महाधिवेशनबाट चुनिएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ।
- भेलाले १५ औँ महाधिवेशन निष्पक्ष बनाउन तटस्थ निर्वाचन समिति गठन गर्न र निवर्तमान सभापति शेरबहादुर देउवामाथिका आरोपको समीक्षा गर्न माग गरेको छ।
- सुदूरपश्चिम कांग्रेसले सरकारको कार्यशैली, मलको अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सुकुमबासी हटाउने कार्यको आलोचना गर्दै सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्न नेतृत्वलाई आग्रह गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै ११ बुँदे घोषणापत्र जारी गरेको छ।
प्रदेश सभापति वीरबहादुर बलायरले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशनका कारण पार्टीमा विभाजनको रेखा कोरिएको र यसले भर्खरै सम्पन्न निर्वाचनमा समेत नकारात्मक असर पारेको उल्लेख छ ।
भेलाले १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन साविक र वर्तमान केन्द्रीय समितिको समन्वयमा एउटा ‘तटस्थ निर्वाचन समिति’ गठन गर्न माग गरेको छ । विशेष महाधिवेशनले १४ औँ महाधिवेशनका निर्वाचित प्रतिनिधिहरूलाई विस्थापित गरेको भन्दै भेलाले असन्तुष्टि जनाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा निवर्तमान सभापति शेरबहादुर देउवामाथि विगतमा लगाइएका आरोप–प्रत्यारोपबारे समीक्षाको माग गरिएको छ । देउवालाई ‘साहसी नेतृत्व’ र ‘अथक योद्धा’ भन्दै भेलाले उपचाररत देउवाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
सुदूरपश्चिम कांग्रेसले सरकारको आलोचना गरेको छ । सरकार अपारदर्शी भएको, संसद्प्रति उत्तरदायी नरहेको र अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
धान रोपाइँको सिजनमा मलको अभाव हुनु र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण नागरिक प्रताडित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । गुरुयोजना बिना सुकुमबासी हटाउने सरकारको कार्य अमानवीय रहेको ठहर गरिएको छ ।
भेलाले क्रियाशील सदस्यता अद्यावधिकका नाममा लिइने शुल्क र प्रक्रियामा अल्झिनुभन्दा सङ्गठन सुदृढीकरणमा लाग्न नेतृत्वलाई सुझाव दिएको छ । साथै, विधानलाई आमूल परिवर्तन गर्ने प्रयासप्रति असहमति जनाउँदै विधान संशोधन न्यायसम्मत र वैधानिक प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिएको छ।
कांग्रेसले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको जनधारणा बढिरहेको भन्दै जनताका समस्या (बेरोजगारी, भ्रष्टाचार र आर्थिक सङ्कट) मा स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेको छ ।
भेलाले बाजुरा जिल्लाको रानीसैन क्षेत्रलाई सामरिक र पर्यटकीय महत्वको क्षेत्रका रूपमा विकास गर्न र त्यहाँ राज्यको उपस्थिति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। निर्वाचित पदाधिकारीहरूलाई विधान विपरीत पदबाट हटाउने कार्य स्वीकार्य नहुने चेतावनी भेलापछि प्रदेश सभापति बलायरले जारी गरेको विज्ञप्तिमा दिइएको छ।
सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता–कार्यकर्ता सहभागी भेलाले पार्टीलाई एकताबद्ध र जनआधारित बनाउन नेतृत्वमा लचकता, सहनशीलता र त्याग हुनुपर्ने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण