आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

रेलिगेसनबाट जोगियो टोटेनहम

आइतबार, १० जेठ २०८३, २३ : ४९
आइतबार, १० जेठ २०८३

सारांश

  • इङ्लिस प्रिमियर लिग २०२५/२६ सिजनको अन्तिम खेलमा टोटेनहम रेलिगेसनबाट जोगिन सफल भयो ।
  • आर्सनलले २२ वर्षपछि प्रिमियर लिग उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो ।
  • युरोपा लिगमा एएफ सि बर्नमाउथ र सन्डरल्याण्डले स्थान सुरक्षित गरे ।

काठमाडाैँ ।  इङ्लिस प्रिमियर लिग २०२५/२६ सिजनको अन्तिम दिन नाटकीय मोडले भरिएको रह्यो । उपाधि होड धेरै अघि नै टुंगिएको भए पनि च्याम्पियन्स लिग छनोट, युरोपा लिगको टिकट र रेलिगेसनको संघर्ष अन्तिम खेलसम्म पुगेको थियो । यही संघर्षबीच उत्तर लन्डन क्लब टोटेनहम हट्स्पर अन्ततः रेलिगेसनबाट जोगिन सफल भयो । अन्तिम चरणसम्म संकटमा रहेको टोटेनहमले आवश्यक नतिजा निकाल्दै अर्को सिजन पनि शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस सिजन टोटेनहमका लागि अत्यन्त निराशाजनक रह्यो । केही वर्षअघिसम्म च्याम्पियन्स लिगको नियमित दाबेदार मानिने क्लब यसपटक रेलिगेसनको संघारसम्म पुग्दा समर्थकहरू स्तब्ध बने । प्रशिक्षक परिवर्तन, कमजोर डिफेन्स, लगातार चोट समस्या र अस्थिर प्रदर्शनले क्लबलाई संकटमा धकेलेको थियो । सिजनकै बीचमा प्रशिक्षक परिवर्तन गर्दै रोबर्टो डि जेर्बीलाई जिम्मेवारी दिइएको थियो । डे जर्बीले अन्तिम चरणमा खेलाडीहरूलाई ‘क्लबको प्रतिष्ठाका लागि खेल्न’ आह्वान गरेका थिए ।

अन्तिम तालिकामा टोटेनहम १७औँ स्थानमा रह्यो । समान रूपमा संघर्षरत वेस्ट ह्याम युनाइटेड भने रेलिगेट हुँदै दोस्रो श्रेणीमा झरेको छ । यससँगै बर्नली फुटबल क्लब र वुल्फह्याम्पटन वन्डरर्स पनि रेलिगेसनमा झर्न पुगे । 

आर्सनललाई २२ वर्ष पछि उपाधि

यस सिजनको सबैभन्दा ठुलो सफलता भने आर्सनल फुटबल क्लबले हात पार्‍यो । मिकेल आर्टेटाको टोलीले २२ वर्षपछि प्रिमियर लिग उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । स्थिर प्रदर्शन, युवा खेलाडीहरूको उदय र बलियो सामूहिक खेलका कारण आर्सनलले सिजनभर उत्कृष्ट लय कायम राख्यो । बोकायो साका, मार्टिन ओडेगार्ड तथा मेक्लान राइस जस्ता खेलाडी टोलीको सफलताका प्रमुख आधार बने ।

गत केही वर्षदेखि इङ्लिस फुटबलमा प्रभुत्व जमाउँदै आएको म्यानचेस्टर सिटी यसपटक दोस्रो स्थानमा सीमित भयो । सिटीका प्रशिक्षक पेप ग्वार्डियालाका लागि यो सिजन भावनात्मक रह्यो, किनकि उनको भविष्यबारे व्यापक चर्चा भइरहेको छ । यद्यपि सिटीले लगभग लिगको अन्त्यसम्मै दबाब बनाए पनि आर्सनललाई उछिन्न सकेन ।

तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहँदा चौथो स्थान एस्टन भिल्ला ले सुरक्षित गर्‍यो । लिभरपुल पाँचौँ स्थानमा रह्यो । यससँगै यी पाँचै टोलीले अर्को सिजनको युइएफए च्याम्पियन लिगमा आफ्नो स्थान सुरक्षित गरेका छन् । इंग्ल्यान्डले युरोपेली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि अतिरिक्त स्थान पाएकोले पाँच टिम छनोट भएका हुन् ।

यस सिजन विशेषगरी एस्टन भिल्लाको पुनरागमन उल्लेखनीय रह्यो । केही वर्षअघिसम्म मध्यतालिकामा सीमित टोली अहिले युरोपेली फुटबलको बलियो शक्ति बन्दै गएको छ । प्रशिक्षक उन्नाइ एमरीको रणनीतिक कुशलताले टोलीलाई च्याम्पियन्स लिगमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको मानिएको छ । 

युरोपा लिग छनोटमा अप्रत्याशित टिम 

छैटौँ स्थानमा रहेको एएफ सि बर्नमाउथले ले अर्को सिजनको युइएफए युरोपा लिगमा स्थान सुरक्षित गर्‍यो । सानो बजेटमा उत्कृष्ट प्रदर्शन गर्दै बर्नमाउथले यस सिजन धेरैलाई चकित बनायो । लगातार १७ खेलसम्म अपराजित रहने उनीहरूको यात्राले क्लबको इतिहासमै नयाँ अध्याय लेख्यो । 

सातौँ स्थानमा रहेको नवप्रवेशी सन्डरल्याण्डले पनि युरोपा लिगमा स्थान बनाउँदै सनसनीपूर्ण उपलब्धि हासिल गर्‍यो । लामो समयपछि शीर्ष डिभिजनमा फर्किएको टोलीले युरोपेली प्रतियोगितामा स्थान बनाउनु धेरैका लागि अप्रत्याशित थियो ।

आठौँ स्थानमा रहेको ब्राइटन एण्ड होम अल्बियनले युइएफए कन्फरेन्स लिगको को टिकट हात पार्‍यो । प्रशिक्षकको परिवर्तन र सीमित स्रोत हुँदाहुँदै पनि टोलीले आक्रामक शैलीलाई सिजनभर कायम राख्यो ।

यस सिजन सबैभन्दा ठुलो निराश मध्ये एक चेल्सी फुटबल क्लब रह्यो । लगातार प्रशिक्षक परिवर्तन र अस्थिर प्रदर्शनका कारण चेल्सी १०औँ स्थानमा सीमित बन्यो । करोडौँ पाउन्ड खर्च गरेर पनि टोलीले युरोपेली प्रतियोगितामा स्थान बनाउन नसक्दा क्लब व्यवस्थापनमाथि दबाब बढेको छ ।

त्यस्तै न्युक्यासल युनाइटेड पनि अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रह्यो । केही वर्षअघि च्याम्पियन्स लिग पुगेको टोली यसपटक मध्यतालिकामा सीमित भयो ।

व्यक्तिगत पुरस्कारतर्फ भने एर्लिङ हल्याण्ड फेरि एक पटक चर्चामा रहे । म्यानचेस्टर सिटीका स्टार फरवार्ड हालान्डले २७ गोल गर्दै गोल्डेन बुट जितेका छन् ।  यस सिजन प्रिमियर लिगमा युवा खेलाडीहरूको प्रभाव पनि उल्लेखनीय रह्यो । आर्सनल, एस्टन भिल्ला र बर्नमाउथका युवा खेलाडीहरूले आफ्नो क्षमता प्रमाणित गरे। त्यसैले यो सिजनलाई ‘नयाँ पुस्ताको उदय’ को रूपमा समेत हेरिएको छ ।

प्रिमियर लिगका क्लबको वर्चश्व

आर्थिक हिसाबले पनि प्रिमियर लिग अझ शक्तिशाली बनेको छ । अन्तिम स्थानमा रहने टोलीले समेत ठुलो रकम पुरस्कार पाउने भएकाले क्लबहरूबीच प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको छ ।

अब सबैको ध्यान युरोपेली प्रतियोगितातर्फ मोडिएको छ । भर्खरै एस्टन भिल्लाले युरोपा लिग उचालेबो छ । आर्सनलले आगामी २०२६ युइएफए च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट–जर्मन विरुद्ध खेल्ने तयारी गरिरहेको छ । यदि आर्सनलले उपाधि जिते इङ्लिस फुटबलका लागि यो सिजन झन् ऐतिहासिक बन्नेछ ।

समग्रमा हेर्दा २०२५/२६ को प्रिमियर लिग सिजन नाटकीय मोड, अप्रत्याशित नतिजा, रेलिगेसनको तनाव र युरोपेली दौडका कारण स्मरणीय बन्यो । उपाधि जित्ने आर्सनलदेखि रेलिगेसनबाट मुस्किलले जोगिएको टोटेनहमसम्म, प्रत्येक टोलीले फरक कथा बोकेको यो सिजनले फेरि एक पटक प्रिमियर लिगलाई विश्वकै सबैभन्दा रोमाञ्चक फुटबल लिगका रूपमा स्थापित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप