ह्वीलचेयरबाट सिनेमाको उडान : मृत्यु जितेर ‘मितज्यू’ जन्माउने जनक
सारांश
- मृत्युलाई जितेर ह्वीलचेयरमा दोस्रो जीवन बाँचिरहेका चलचित्र निर्माता जनक घर्तीमगरले तीन करोडभन्दा बढी लगानीमा 'मितज्यू' नामक चलचित्र निर्माण गरेका छन्।
- दुर्घटनामा परी मेरुदण्डमा चोट लागेपछि शरीरका अङ्गहरू चल्न वा महसुस गर्न नसक्ने अवस्थामा पुगेका बिरामीहरूको पीडा र उनीहरूको दोस्रो जीवनको सङ्घर्षबारे यो लेखले प्रकाश पार्छ।
- जनक घर्तीमगरको कथाले शारीरिक असक्षमतालाई स्वीकार गरी सपनालाई जीवित राख्ने र आशा नछाड्ने व्यक्तिको सङ्घर्षलाई चित्रण गर्दछ।
मित– लोकसंस्कृतिमा आधारित शक्तिशाली सामाजिक सम्बन्ध हो, जुन रगतको नाताभन्दा बाहिरको सबैभन्दा विश्वसनीय, आत्मीय र नजिकको हुन्छ। लोकसंस्कृतिमा दुई सम्बन्ध समान स्तरका हुन्छन्– मित र सम्धी।
मितमा एउटा मात्र सम्बन्ध समान हुँदैन, मितकी श्रीमतीलाई पनि मितसरह नै सम्मान दिइन्छ।
सम्धीबाट सम्धीज्यू बन्यो, मितबाट मितज्यू। मित शब्दसँग मिल्ने चलचित्र अहिले देशैभर प्रदर्शनरत छ– ‘मितज्यू’। दयाहाङ राई र सौगात मल्ल अभिनीत उक्त चलचित्रबाट टेरिया मगरले धमाकेदार डेब्यु गरेकी छन्। नामका आधारमा चलचित्रले मितकै कथा बोलेको होला, हुन सक्छ अन्य कथा पनि।
म यहाँ चलचित्रको कथा भन्दै छैन, चलचित्रका निर्माताको कथा भन्न खोजिरहेको छु; जो युवा अवस्थामै ह्वीलचेयरमा दोस्रो जीवन बाँचिरहेका छन्। छातीमुनिका आफ्ना अङ्गहरू आँखाले त देख्छन्, तर महसुस गर्दैनन्– ती आफ्नै हुन् या अरूका।
- दोस्रो जीवन!
हो, मृत्युको मुखबाट फर्किएर दोस्रो जीवन बाँचिरहेका छन्, रोल्पा खुमेलका जनक घर्तीमगर। पहिलो जीवनमा उनले चलचित्र ‘घरज्वाइँ’ बनाए। क्रेटा कार हुइँक्याउँदै चलचित्रका काम सके।
दोस्रो जीवनमा उनी क्रेटा कारमा छैनन्, ह्वीलचेयरमा छन्। छातीमुनिको शरीर निष्क्रिय छ, तर उनका सपना जीवित छन्। चलचित्र बनाउने पहिलो जीवनको भोकले पुनर्जन्म लियो र जन्मियो– ‘मितज्यू’, तीन करोडभन्दा बढी लगानीका साथ।
०००
भक्तपुर र काभ्रेको सिमाना साँगास्थित ‘स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र’मा मेरो दैनिक आउजाउ चलिरहेको थियो। २०८१ भदौ १७ गते दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी भएकी मेरी माइली बहिनी सविना तीन महिनादेखि त्यहाँ थिइन्।
स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र एउटा पारिवारिक थलो हो, जहाँ स्पाइनल कर्ड इन्जुरीका थरीथरीका बिरामी हुन्छन्। प्रायःको शरीरको तल्लो भाग पूर्ण पक्षघात भएको हुन्छ। खुट्टा चल्दैनन्, कतिपयका हात पनि। उनीहरू ह्वीलचेयर, वाकर र एल्बो क्रचेजको सहायतामा हुन्छन्। भूगोल फरक, जात फरक, लिङ्ग फरक हुन्छन्, तर कथाहरू भने उस्तै बनेका हुन्छन्।
बिरामीका परिवार, आफन्त र सहयोगीका कथाहरू पनि उस्तै भइसकेका हुन्छन्। बिरामीको छेउमा ‘सञ्चो हुन्छ, नआत्तिऊ, हामी छौँ’ भनेर ढाडस दिने परिवारका सदस्यहरू एकान्तमा आँसु थाम्न सक्दैनन्। आँसुका धारा चुहाउँदै आ–आफ्ना पीडा साझा गर्छन् र आफूलाई हल्का बनाउने कोसिस गर्छन्।
०००
मेरुदण्डको नसामा गम्भीर चोट लागेपछि शरीरका अङ्गहरू चल्न वा महसुस गर्न छोड्छन्। यस्ता बिरामीलाई महिनौँसम्म राम्रो स्याहार चाहिन्छ।
मेरी कान्छी बहिनीले आफ्नी दिदीको स्याहारका लागि जागिर नै छोडिन्।
पुनर्स्थापना केन्द्रमा हरेक साँझ नयाँ बिरामी को आयो, को घर फर्कियो, कस्तो अवस्थामा आयो र कस्तो अवस्थामा फर्कियो भन्ने कुराकानी भइरहन्छ। २०८१ को पुस मध्यतिर म माइली बहिनीका लागि खाना पुर्याउन साँगा पुगेको थिएँ।
मेरी कान्छी बहिनीले भनी, ‘दाइ, रोल्पाबाट एकजना आएका छन्, घरज्वाइँ फिल्म बनाउने मान्छे रे!’
म विक्षिप्त बनेँ। उनै जनक घर्तीमगर पुनर्स्थापना केन्द्रको माथिल्लो तलामा छिमेकी बन्न आइपुगेछन्। स्पाइनल कर्ड इन्जुरी त दुश्मनलाई पनि नहोस् भनिन्छ।
०००
शरीर हलचल गर्न नसक्ने अवस्थामा पल्टिरहेका जनकसँगको भेटको कथा सुनाउनुअघि मलाई आफ्नै बहिनीको स्पाइनल कर्ड इन्जुरीको कथा जोड्न मन लाग्यो। कथा पनि के भन्नु, भयंकर दुर्घटना र त्यसबाट भोग्नुपरेका पीडाहरूको सङ्ग्रह न हो।
२०८१ साल भदौ १७ गते अपराह्न म सिंहदरबारभित्र थिएँ। मेरो साथी वीरबहादुर घर्तीको फोन आयो, ‘हामी दुर्घटनामा पर्यौँ, सविना तल भीरमा पुगेकी छे। वडाध्यक्षलाई फोन गर्नुहोस्, उनीहरू उद्धारमा छन्।’
बुबाको ४९ वर्षको उमेरमा निधन हुँदा सानै रहेकी बहिनी सविना हाम्रो घरपरिवारको मूल खम्बा हो। व्यक्तिगत जीवनभन्दा पर रहेर सामाजिक काममा अग्रसर उनी त्यस दिन युवा क्लबको कार्यक्रममा जाँदै थिइन्।
माडी–५, जङबाङनजिकको पहरोबाट खसेको खबरले मलाई लाग्यो, बहिनी हामीबाट बिदा भइन्। त्यो पहरोबाट मोटरसाइकलसँगै झरेको मानिस बाँच्ने अनुमान गर्न गाह्रो हुन्छ।
बहिनीको उद्धारको खबर आयो– शिरदेखि पाउसम्म घाउ नै घाउ। कम्मरभन्दा मुनिको भाग नचल्ने। छोएको पनि थाहा नपाउने।
लिबाङ र भैरहवा हुँदै ट्रमा सेन्टरमा ल्याइपुर्याएपछि थाहा भयो– स्पाइनल कर्ड इन्जुरी भएछ, टी–१० मा पूर्ण क्षति।
टी–१० मा पूर्ण क्षति भएपछि के हुन्छ?
चिकित्सकले भने, ‘अब ह्वीलचेयरको जिन्दगी। शल्यक्रिया गरेर भाँचिएको हड्डी निकाल्ने, स्टिल राखेर मेरुदण्ड सिधा बनाउने र बाँकी जीवन सहज बनाउन पुनर्स्थापनासम्बन्धी सीप सिक्न काभ्रे जाने।’
उनी पूरा होसमा थिइनन्। बर्बराउँदै एउटै कुरा भनिरहेकी थिइन्– ‘मलाई बचाउनुहोस्।’
हिजोसम्म परिवार र समाजका लागि रातदिन हिँडिरहेकी, दौडिरहेकी मेरी बहिनी अब ह्वीलचेयरमा हुने सत्य मेरै अगाडि थियो।
त्यो ह्वीलचेयरको दैनिकी, शौचालय व्यवस्थापन र दैनिक जीवनको म कल्पना मात्रै गर्थें। तर उनलाई भन्थेँ, ‘सबै कुरा ठीक हुन्छ, नआत्तिऊ।’
घरमा आमालाई निद्रा थिएन, आँसु थामिएको थिएन। परिवार, आफन्त र छिमेकीका आँसु थामिएका थिएनन्।
म बहिनीको अगाडि आफूलाई दह्रो बनाउँथेँ। तर एक्लै हुँदा आँसु थाम्न सक्दिनथेँ। ट्रमा सेन्टरमा कैयौँ दिन लुकेर रोएँ।
बहिनीको आँसु थाम्न हामी अनेक हौसलाका कुरा गर्थ्यौं। उनी बाँचेकी छन् भन्ने तथ्यलाई नै ठूलो खुसी मानेर हँसाउने प्रयास गर्थ्यौं।
ट्रमा सेन्टरमा शल्यक्रिया भयो। थेरापी र पुनर्स्थापनासम्बन्धी सीपका लागि काभ्रे पुर्यायौँ। शल्यक्रिया त भएको थियो, तर उनी बेडमा आफैँ कोल्टे फेर्न सक्दिनथिन्। दुईजनाको सहयोगले मात्रै पल्टिन सक्थिन्। रातदिन केही घण्टाको फरकमा पल्टाइदिनुपर्ने, दिसापिसाब निकालिदिनुपर्ने।
०००
भदौ अन्तिम सातादेखि पुनर्स्थापना केन्द्रमा पुगेको माघको मध्यतिरसम्म समय त्यतै बित्यो। आत्मबल, मेहनत, हौसला, थेरापी र सिकाइले बहिनीको जीवन बिस्तारै सहज बन्दै गयो।
पुनर्स्थापना केन्द्रमा एक आदर्श व्यक्ति छन्– डा. राजु ढकाल। नवजात शिशु अवस्थामै पोलियो भएका डा. राजु आफैँ ह्वीलचेयरमा छन् र स्पाइनल इन्जुरी भएर ह्वीलचेयरमा पुगेका मानिसलाई जीवन जिउन सिकाउँछन्।
जब बिरामीहरू मुस्कुराउँदै फर्कन्छन्, डा. राजुको सबैभन्दा ठूलो खुसी त्यही हुन्छ।
मेरी बहिनी महिनौँको थेरापीपछि बिस्तारै ह्वीलचेयरबाट वाकर र एल्बो क्रचेजसम्म आइपुगिन्। अहिले पनि ‘एएफओ’को सहायताले खुट्टालाई नियन्त्रण गर्दै एल्बो क्रचेजको सहारामा घरमा हिँड्ने अभ्यास गरिरहेकी छन्।
कम्मर अडिँदैन। भुइँमा बस्न र उठ्न गाह्रो छ। खुट्टाका औँला चल्दैनन्, चाल पनि पाउँदैनन्। तापनि उनी निरन्तर सङ्घर्ष गरिरहेकी छन्, एकदिन निको भएर हिँड्ने आशाले। त्यही आशाले उनलाई आत्मविश्वास दिइरहेको छ।
टी–१० को पूर्ण क्षति हुँदाहुँदै पनि एल्बो क्रचेजसम्मको यात्रा तय गर्नुलाई चिकित्सक र थेरापिस्टले उनको ‘मेहनत, साहस र आशावादिता’को परिणाम भनेका थिए।
पुनर्स्थापना केन्द्रको बसाइले बिरामी र आफन्तलाई स्पाइनल कर्ड इन्जुरीबारे गहिरो ज्ञान दिन्छ; किनकि त्यो एउटा पाठशाला र परिवारजस्तै हो। त्यहाँ पुग्ने हरेक व्यक्ति त्यस परिवारको सदस्य बन्छ। अर्काको कथा आफ्नैजस्तो लाग्छ, अर्काको पीडा आफ्नैजस्तो महसुस हुन्छ। त्यो अनुभूति त्यहाँ गहिरोसँग हुन्छ।
०००
पुसको दोस्रो साता बहिनी बसेको भन्दा तेस्रो नम्बरमा रहेको क्याबिनमा मैले जनक घर्तीमगरलाई भेटेँ। उनी आफैँ पल्टिन सक्दैनथे। उनलाई आमा र श्रीमतीले सघाइरहेका थिए। उनको छातीमुनि पूर्ण पक्षघात थियो।
त्यतिबेला बिरामीसँग भन्न सक्ने धेरै कुरा हुँदैनन्। सान्त्वना र हौसलाका कुरा मात्रै गर्ने हो। जनकको पीडा मैले महसुस गर्न सक्थेँ। उनको अवस्था र त्यसमा हुने प्रगतिबारे पनि म जानकार भइसकेको थिएँ। उनकी आमा र श्रीमतीको 'जनकलाई सञ्चो हुन्छ' भन्ने आशापूर्ण प्रश्नमा म नाजवाफ हुन्थेँ।
मैले मेरी बहिनीको दुर्घटना र पुनर्स्थापना केन्द्रको बसाइको कथा सुनाएँ। थोरै भए पनि प्रगति भएको कुरा सुनाएँ। ती कुराले जनककी आमालाई निकै आशावादी बनाउँथ्यो। म भन्थेँ, ‘नआत्तिनुहोस्, सञ्चो हुन्छ, बिस्तारै हुन्छ, अलि समय लाग्छ।’
म भन्न सक्दिनथेँ कि छातीमुनि छोएको थाहा नपाउनेलाई ह्वीलचेयरको विकल्प छैन।
जनकले आँसु बगाएको मैले देखिनँ। आमा, श्रीमती र साथीहरूका अगाडि आफूलाई कठोर बनाउने प्रयास गरिरहेका थिए उनी। उनकी आमा र श्रीमती पनि जनकका अगाडि आँसु बगाउँदैनथे, तर जनकभन्दा अलि पर पुगेपछि उनीहरूको आँसु थामिँदैनथ्यो।
‘कसरी दुर्घटना भयो?’ मैले जनकलाई सोधेँ।
२०८१ साल मङ्सिर २३ गते राति जनक बुटवलबाट दाङ जाँदै थिए। उनले चलाएको क्रेटा कार अनियन्त्रित भएर रूखमा ठोक्कियो। एयरब्यागले समेत जोगाउन सकेन। त्यहाँबाट हेलिकप्टरमा ह्याम्स अस्पताल र त्यसपछि ट्रमा सेन्टर पुर्याएर उनको शल्यक्रिया गरियो।
उनको टी–४ र टी–५ मा पूर्ण चोट छ।
०००
जनक बेडमै थिए। उनी अरूको सहायताले मात्रै कोल्टे फेर्न सक्थे।
तर, उनमा अचम्मको साहस, आँट र स्वीकारोक्ति मैले देखेँ। एकछिन ‘घरज्वाइँ’ चलचित्रको कुरा भयो। त्यसपछि उनले भने, ‘म अब अर्को चलचित्र बनाउँछु। त्यो चलचित्रको छायाङ्कन ढोरपाटनमा गर्छु।’
म आश्चर्यचकित बनेँ। उनले सिधै भने, ‘मेरो उपचार अहिलेलाई थप सम्भव छैन। प्रविधिको विकासले एकदिन अवश्य सहज होला। अहिलेलाई मैले यो कुरा स्वीकार गर्नुपर्छ र काममा लाग्नुपर्छ।’
उनले यो पनि थपे, ‘अब ह्वीलचेयरमै हुने हो। जिपमा ढोरपाटन पुग्ने, ह्वीलचेयरमै वरपर गर्ने।’
अर्को दिन मैले चलचित्र पत्रकार हुँदै निर्देशक बनेका मित्र दीपेन्द्र लामालाई त्यहाँ भेटेँ। लक्ष्मण सुवेदीलाई पनि भेटेँ। ‘घरज्वाइँ’का निर्देशक अनिल बुढामगरलाई पनि मैले त्यहाँ भेटेँ। जनक आफ्नो स्वास्थ्यलाभको कामना गर्न आउनेसँग पनि चलचित्र निर्माणकै कुरा गर्थे।
०००
पुनर्स्थापना केन्द्रले चुँडिएका नसा जोड्दैन। पूर्ण इन्जुरी भएकालाई दौडिने बनाएर घर फर्काउँदैन। निष्क्रिय बनेका नसाहरूलाई थेरापी गरेर सक्रिय बनाउने कोसिस गर्छ। बेडमा पल्टिन, उठ्न, ह्वीलचेयरमा बस्न, झर्न र हिँड्न सिकाउँछ। शौचालय व्यवस्थापन सिकाउँछ। जीवन जिउने तरिका सिकाउँछ। र, सबैभन्दा प्रमुख कुरा त सत्य स्वीकार गर्ने वातावरण बनाइदिन्छ। यो कथा व्यक्तिगत मात्र होइन, समाजको साझा कथा हो भन्ने महसुस गराउँछ।
स्पाइनल कर्ड इन्जुरीको सबैभन्दा अप्ठ्यारो पक्ष भनेकै बिरामी र घरपरिवारले वास्तविकतालाई स्वीकार गर्नु र त्यससँग बाँच्न सिक्नु हो। यो केवल शरीरको चोट होइन, मानसिक र भावनात्मक रूपमा ठूलो परीक्षा हो। बिरामी र परिवारले एकअर्कालाई गहिरोसँग बुझ्न, साथ दिन र निरन्तर हौसला दिन सक्नुपर्छ। त्यही साथ, विश्वास र सहयोग नै जीवनलाई फेरि अघि बढाउने शक्ति हो।
यो सत्य स्वीकार गर्न चार वर्ष लाग्छ भनिन्छ। जनकले भने पुनर्स्थापना केन्द्र पुगेको केही दिनमै आफ्नो वास्तविकता स्वीकार गरिसकेका थिए।
०००
दुर्घटनाहरू यस्ता पनि हुन्छन्, जसले एउटा मानिसको शरीर, एउटा परिवारको सपना र भविष्यका हजारौँ योजनालाई एकैपटक बदलिदिन्छन्। सम्पन्नलाई क्षणभरमै गरिब बनाइदिन सक्छन्। स्पाइनल कर्ड इन्जुरीको उपचार महँगो र अनिश्चयतापूर्ण हुन्छ।
जसले आफ्नो वास्तविकतालाई स्वीकार गर्दै सपनालाई जीवित राख्छ र आशा छाड्दैन, ऊ शारीरिक रूपमा ढले पनि गन्तव्यतर्फको यात्रामा कहिल्यै ढल्दैन।
दुर्घटनाले मेरी माइली बहिनी सविनाको जस्तै जनक घर्तीमगरको जीवनलाई पनि धक्का दियो, तर उनका सपना तोड्न सकेन।
त्यही सपनाको मेरुदण्ड हो– ‘मितज्यू’।
जनक केवल एक चलचित्र निर्माता मात्र होइनन्, सङ्घर्षका जीवित प्रतीक बनेका छन्।
उनी आफैँ कसैको सहारामा सर्छन्, तर नेपाली सिनेमामा ठूलो प्रेरणा र सहारा दिने नाम बनेका छन्।
त्यसैले त गजलकार सुमन स्मारिका जनकबारे कवितामा लेख्छिन्–
‘ऊ ह्वीलचेयरमा बसेर
सिङ्गो समाजलाई गुडाइरहेको छ।
ऊ रातदिन कसैको सहारामा सर्छ,
तर सिङ्गो नेपाली सिनेमा
आज उसकै हिम्मती काँधमा अडिएको छ।’
०००
स्पाइनल कर्ड इन्जुरीको उपचार निकै महँगो छ। यो महँगो उपचारपछि जनक किन तीन करोडभन्दा बढी लगानीमा ‘मितज्यू’ निर्माणमा लागे त?
उनी भन्छन्, ‘म चलचित्रकै लागि जन्मेको हुँ। अहिले पनि चलचित्रकै लागि दोस्रो जीवन पाएजस्तो लाग्छ।’
जनकको कथाले भन्छ– जीवन भनेको कहिल्यै नढल्नु होइन, ढलेपछि पनि फेरि उठ्ने साहस राख्नु हो। सपनाको निरन्तरता तथा नयाँ सपना र योजनासहित अघि बढ्नु हो।
हरेक बिहान मेरी बहिनी खुट्टा चल्छ कि भनेर जाँच गर्छिन्, तर अवस्था हिजोजस्तै हुन्छ। मेरी आमा छोरी जुरुक्क उठेर दौडिरहेको सपना देख्छिन्, तर बिहान उठ्दा छोरीको शरीर उस्तै हुन्छ।
जनक पनि हरेक बिहान ‘छोएको थाहा पाउँछु कि’ भनेर आफ्नो शरीर चिमोट्छन् होला, तर पक्कै थाहा पाउँदैनन्। उनकी आमाले पनि छोराको खुट्टा चलेको, पहिलेजस्तै हिँडिरहेको सपना देख्छिन् होला, तर बिहान छोराको अवस्था फेरि उस्तै हुन्छ।
करिब १० हजार नेपालीको व्यथा यस्तै छ। उनीहरूका परिवारका कथाहरू उस्तै छन्। नेपालमा अहिले वार्षिक ५ सयदेखि ७ सयसम्म स्पाइनल कर्ड इन्जुरीका बिरामी थपिइरहेका छन्।
स्पाइनल कर्ड इन्जुरीको अहिलेसम्म पूर्ण उपचार देखिएको छैन। तर, बिरामीहरू सधैँ आशावादी भएर बाँच्नुपर्छ। पछिल्ला अनुसन्धानहरूले स्पाइनल इन्जुरीका बिरामी र परिवारका लागि नयाँ आशा देखाइरहेका छन्।
०००
स्पाइनल इन्जुरी कुनै व्यक्तिगत घटना मात्रै होइन, यो समाज र राज्यले गम्भीरतापूर्वक हेर्नुपर्ने मानवीय प्रश्न हो।
स्पाइनल कर्ड इन्जुरीका बिरामी र उनीहरूका परिवार एकअर्काका मित हुन्, मितेनी हुन्; जहाँ पीडा, सङ्घर्ष र आशाले जोडिएका सम्बन्ध छन्। यो आफैँमा एउटा साझा र विशाल परिवार हो। सरकार र सबै क्षेत्रले स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मित बनेर माया, सम्मान, उपचार र साथ दिन सक्नुपर्छ।
जनक घर्तीमगर यही विशाल परिवारका सदस्य बनिसकेका छन्। उनले निर्माण गरेको चलचित्र ‘मितज्यू’ स्पाइनल कर्ड इन्जुरी परिवारकै हो। यस परिवारका सदस्यले ‘मितज्यू’लाई आफ्नै सम्झेर साथ र सहयोग दिनुपर्छ।
आम नेपालीहरूले जनक घर्तीमगर र स्पाइनल कर्ड इन्जुरीका बिरामीको पीडामा मलम लगाउन पनि साथ दिनुपर्छ।
ह्वीलचेयरमा बसेर आज जनक घर्तीमगरले ‘मितज्यू’ निर्माण गरेका छन्, तर एकदिन जनककै सङ्घर्षमाथि पनि चलचित्र बन्नुपर्छ। किनकि, यो केवल जनकको मात्र होइन, स्पाइनल कर्ड इन्जुरी भएका १० हजार नेपालीको साझा सपना र साहस हो।
मेरी बहिनीलाई मैले भनेकै छु– ‘तिम्रो वर्षमा दुईवटा जन्मदिन छन्।’
जनकका लागि पनि मैले भनेँ– ‘मङ्सिर २३ दुर्घटनाको दिन होइन, तिम्रो दोस्रो जीवनको जन्मदिन हो।’
नजिकको हलमा गएर ‘मितज्यू’ हेर्नुहोस्, यो नै जनकको दोस्रो जीवनको जन्मदिनका लागि अग्रिम शुभकामना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण