बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रास्वपा सभापतिको भारत भ्रमणबारे चर्चा

रवि लामिछानेको भारत भ्रमणबारे के भन्छन् भारतीय मिडिया ?

सोमबार, ११ जेठ २०८३, १३ : ५३
सोमबार, ११ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मिडियाले चासो देखाएका छन् ।
  • भारतीय अखबार नवभारत टाइम्सले लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्त्वबारे समाचार छापेको छ ।
  • अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औँल्याएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मिडियाले चासोका साथ प्रकाशन गरेका छन् ।

लामिछाने दुई दिने भारत भ्रमणमा जान लागेको समाचारलाई भारतीय मिडियाले उत्सुकताका साथ प्रकाशन गरेका छन् । यद्यपि केही भारतीय सञ्चारमाध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन् । लामिछाने जेठ १८ र १९ गते भारत भ्रमणमा रहने समाचार प्रकाशमा आएको छ ।

भारतीय अखबार ‘नवभारत टाइम्स’को अनलाइन संस्करणमा यसबारे विस्तृत समाचार प्रकाशन भएको छ । ‘लामिछाने यतिबेला नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा कहलिएका छन् । देशमा उनको पार्टी रास्वपाको सरकार छ र बालेन शाह प्रधानमन्त्री छन्,’ समाचारमा भनिएको छ, ‘उनको दिल्ली भ्रमण यसर्थ पनि अहम् छ कि काठमाडौँमा रास्वपाको सत्ता आएपछि र बालेन शाह प्रधानमन्त्री भएपछि नेपाल र भारतका बिच कुनै उच्चस्तरीय भ्रमण भएको छैन ।’

गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रास्वपा सत्तामा आएपछि र बालेन शाह प्रधानमन्त्री भएपछि काठमाडौँ–दिल्ली सम्बन्ध सुधार हुने सङ्केत मिलेको तर त्यस्तो हुन नसकेको पनि नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख छ ।

पछिल्लो समय लिपुलेकमाथि विवाद बढेको र व्यापारिक मुद्दामा पनि विवाद बढेको जिकिर गर्दै समाचारमा केही अधिकारीहरूको भ्रमण रद्द भएको परिस्थितिमा रवि लामिछानेको भ्रमण महत्त्वपूर्ण मानिएको जनाइएको छ ।

अर्को भारतीय दैनिक अखबार ‘अमर उजाला’को अनलाइन संस्करणमा पनि यसबारे समाचार प्रकाशन भएको छ । लामिछानेले भारत भ्रमणका क्रममा उच्च अधिकारीहरू र भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्न सक्ने समाचारमा उल्लेख छ ।

हिन्दुस्थान समाचार एजेन्सीले पनि रवि लामिछानेको भारत भ्रमण सम्बन्धी समाचार प्रकाशन गरेको छ । समाचरमा भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि लामिछानेको भेटवार्ता हुन सक्ने सम्भावना औँल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप