आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विधि र संस्थागत अभ्यास तोडेको भन्दै नेकपा सिन्धुलीका नेताहरूले छाडे पार्टी

सोमबार, ११ जेठ २०८३, २० : २७
सोमबार, ११ जेठ २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सिन्धुलीका ९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र विधि, प्रक्रिया र संस्थागत अभ्यास कमजोर बनाइएको बताउँदै सोमबार उनीहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । 

पार्टी नेतृत्वले विभाजनकारी गतिविधिलाई संरक्षण दिएको, इमानदार कार्यकर्तालाई निराश बनाएको तथा केन्द्रीय हस्तक्षेपमार्फत जबरजस्ती निर्णय थोपर्ने काम गरेको उनीहरूको भनाइ छ । 

पार्टी परित्यागको घोषणा गर्नेहरूमा प्रदेश समिति सदस्यहरू केशव लोहनी ‘भीषण’, दुधराज पुलामी मगर र कृष्णराज दाहाल ‘सन्तोष’ रहेका छन् । त्यसैगरी जिल्ला सदस्यहरू शक्तिमान घिसिङ ‘शमशेर’, चन्द्रबहादुर स्याङ्बा, प्रेम बर्मा, कल्याण बराल, मानबहादुर सारू तथा गाउँ कमिटी सदस्य कान्छामान मोक्तानले पनि संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका छन् ।

उनीहरूले जारी गरेको वक्तव्यमा लामो समयदेखि पार्टीलाई संस्थागत ढङ्गले सञ्चालन गर्न खोज्नेहरूविरुद्ध समानान्तर कमिटी निर्माण गर्ने तथा विभाजनकारी गतिविधि सञ्चालन गर्ने प्रवृत्ति बढाइएको उल्लेख गरिएको छ । यस्ता गतिविधिमाथि कारबाही हुनुपर्नेमा उल्टै पार्टी नेतृत्वबाट संरक्षण र प्रोत्साहन मिलेको आरोप उनीहरूको छ ।

वक्तव्यमा इमानदार, अनुशासित तथा विधिको पक्षमा उभिने नेता–कार्यकर्तालाई अपहेलित गरिएको तथा आन्दोलनविरोधी र भ्रष्ट प्रवृत्तिलाई पार्टी केन्द्रकै नेतृत्वबाट संरक्षण दिइएको दाबी गरिएको छ । पालिका र जिल्ला तहबाट आएका निर्णय तथा सुझावलाई बेवास्ता गर्दै केन्द्रीय हस्तक्षेपमार्फत पटक–पटक जबरजस्ती निर्णय थोपर्ने काम भएको उनीहरूको भनाइ छ ।

पार्टी सुधार, संस्थागत अभ्यास र स्वस्थ आन्तरिक लोकतन्त्रको माग पटक–पटक उठाउँदा पनि नेतृत्वले त्यसलाई गम्भीर रूपमा नलिएको उनीहरूले उल्लेख गरेका छन् । “सही कुरा उठाउने कार्यकर्ताहरूलाई अपमानित, निराश र निष्क्रिय बनाउने वातावरण सिर्जना गरियो,” वक्तव्यमा भनिएको छ ।

यही परिस्थितिमा पार्टीभित्र रहेर इमानदारीपूर्वक योगदान दिन सम्भव नभएको निष्कर्षसहित आफूहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेको उनीहरूको घोषणा छ । यद्यपि जनताको परिवर्तन, सामाजिक न्याय र प्रगतिशील राजनीतिक अभ्यासप्रतिको प्रतिबद्धता भने यथावत् रहने उनीहरूले बताएका छन्।

705311766_998397662669800_2746057917763220025_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप