बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

बुधबार, १३ जेठ २०८३, ०० : ३५
बुधबार, १३ जेठ २०८३

सारांश

  • बेहडाबाबामा गङ्गादशहरा मेला सुरु भएको छ।
  • मेलामा पूजाआजाका लागि विभिन्न स्थानबाट भक्तजन आउने गर्छन्।
  • मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा बुधबारदेखि गङ्गादशहरा मेला सुरु भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताए । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू आउने गरेका छन् ।

परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरूमा छ ।

त्यस्तै यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनहरूको सहजताका लागि सडक मर्मत, बत्ती जडानलगायतको व्यवस्थापन गरिएको आयोजक व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विभिन्न चाडपर्वमध्ये गङ्गादशहरा पनि यहाँको महत्त्वपूर्ण चाड रहेको बताउनुभयो । मेलाका अवसरमा उपमहानगरले सार्वजनिक बिदा पनि दिएको छ । यहाँ आउने भक्तजनहरूको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिएको छ । आजबाट सुरु भएको मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप