सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

मिसन–८४ का लागि नेकपाले बोलायो स्थानीय जनप्रतिनिधिहरूको भेला

बुधबार, १३ जेठ २०८३, ११ : ४०
बुधबार, १३ जेठ २०८३

सारांश

  • स्थानीय तहको निर्वाचन आउन ११ महिना बाँकी रहँदा नेकपाले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ ।
  • भेलामा अहिलेसम्म भएका कामको समीक्षा, आगामी निर्वाचनको तयारी र पार्टीले खेल्ने भूमिका सम्बन्धमा प्रशिक्षण दिइनेछ ।
  • प्रमुख सापकोटाले आगामी स्थानीय तह निर्वाचनमा वामपन्थीबिच एकता र सहकार्य हुनसक्ने बताएका छन् ।

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन ११ महिना बाँकी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

भेलालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा दुई जना विज्ञहरूले प्रस्तुति दिनेछन् । जनप्रतिनिधिहरूको भेला बोलाउनुको उद्देश्य समापन वर्ष भएकाले अहिलेसम्म भएका कामको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीले खेल्ने भूमिका सम्बन्धमा प्रशिक्षण दिन रहेको प्रमुख सापकोटाले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचन आउन एक वर्ष पनि बाँकी छैन । जनप्रतिनिधिहरूको समापन वर्ष भएकाले अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुनिष्ठ अवस्था बुझेर निर्वाचनको तयारीका लागि भेला बोलाइएको हो । विशेषतः यो मिसन ८४ भने बुझ्दा राम्रो हुन्छ’, रातोपाटीसँग सापकोटाले भने ।

आगामी स्थानीय तह निर्वाचनमा वामपन्थीबिच एकता र सहकार्य हुनसक्ने सापकोटाले बताए । उनले भने, ‘पहिला आफ्नै पार्टीलाई सुदृढ बनाउँछौँ । त्यसपछि अन्य वामपन्थी दलहरूबिच एकता र सहकार्य हुनसक्छ । तर एमालेसँग अहिले नै एकता तहसम्म पुगिसकेका छैनौँ ।’

जेनजी आन्दोलनपछि गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा १७ सिट जितेर चौथो स्थानमा खुम्चिएको थियो । त्यतिबेला नेकपाले २५ वटा वामपन्थी घटकसँग मिलेर चुनाव लडेको थियो । 

२०७९ सालको निर्वाचनमा नेकपा(साविक माओवादी केन्द्र), एकीकृत समाजवादी)ले १४२ स्थानमा प्रमुख/अध्यक्ष र १५१ उपप्रमुख/उपाध्यक्ष जितेर तेस्रो दल बनेको थियो । यसअघि २०८१ साल फागुनमा साबिक नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिहरूको भेला बोलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप