शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
सहरमा समस्या

वीरेन्द्रनगरमा विद्युत् संकट, खानेपानी र गर्मीको कहर

व्यवसायीको मासु, रेस्टुरेन्टको खाना खेर, दैनिक जीवन प्रभावित
बिहीबार, १४ जेठ २०८३, २१ : ३८
बिहीबार, १४ जेठ २०८३

सारांश

  • वीरेन्द्रनगरमा विद्युत् संकटका कारण व्यवसायीले मासु र तयारी खानेकुरा खेर फाल्नुपरेको छ ।
  • विद्युत् तथा खानेपानीको समस्याले अस्पताल, विद्यालयदेखि समग्र जनजीवन प्रभावित भएको छ ।
  • भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने आयोजना र १३२ केभीए विद्युत् प्रसारण लाइनको मर्मतले समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

सुर्खेत । दैलेखका केशव सोडारी वीरेन्द्रनगर झरेर फ्रेस हाउस सञ्चालन गर्न थालेको १५ वर्ष भयो । यसअघि विद्युत्का कारण उनको पसलमा मासु कहिल्यै खेर गएन । यो पटक भने विद्युत् अवरुद्ध हुँदा मंगलबार र बुधबार गरी ८ केजी मासु फाल्नुपर्ने अवस्था आयो । 

‘बत्तीको समस्याले मंगलबार ६ केजी र बुधबार साढे २ केजी मासु खेर गयो,’वीरेन्द्रनगर नगरपालिका–४, को चन्द्रमान चोकस्थित फ्रेस हाउस चलाउँदै आएका उनले निराश हुँदै भने, ‘झण्डै ३ हजार बढीको क्षति भयो ।’
उक्त रकम आफूजस्ता गरिखाने व्यक्तिका लागि ठूलो भएको उनी बताउँछन् । उनका अनुसार, यस क्षेत्रमा विद्युत्को समस्या विगतदेखिकै हो । अघिल्लो वर्ष अहिलेको जस्तो मासु खेर जाने अवस्था थिएन । 

‘सेकेन्डको फरकमा विद्युत् अनियमित हुने, अर्को विद्युत् आउँदा पनि ‘लो–भोल्टेज’ हुने,’उनले रातोपाटीसँग भने, ‘जसका कारण फ्रिज नै चलेन, बाहिर गर्मीका कारण झन समस्या । काटिसकेको कुखुराको मासु लामो समय फ्रिजमा नराख्दा बिग्रियो ।’  

birendranagar (2)

उनी आफ्ना सेवाग्राहीको आवश्यकता अनुसार, खसी पनि काट्थे । तर विद्युत्कै समस्याले त्यो काम रोकिएको उनले बताए । विद्युत् संकटले  आफूजस्ता गरिखाने वर्गका मान्छेलाई ठूलो समस्या पारिरहेको बताउँछन् केशव । 

‘वीरेन्द्रनगरलाई अहिले विकसित सहर भन्छन्, तर विद्युत्का तारमा काग बसे पनि विद्युत् गैजान्छ,’ उनी थप्छन्, ‘कोठा बाहिर गर्मीले बस्न सकिन्न, भित्र बसौं पङ्खा पनि चल्दैन, गर्मीले निकै सकस छ हजुर..!’

गणेशकञ्चन भारतीले वीरेन्द्रनगरको एरिचोकभन्दा थोरै पूर्वतिर केही समयअघि मात्रै यार्सा चुलो नामको रेस्टुरेन्ट सञ्चालनमा ल्याए । अहिले पनि उनी थप व्यवस्थापनकै चरणमा छन् । तर विद्युत् अभावकै कारण दैनिक ठूलो आर्थिक क्षति हुन थालेपछि अहिले उनी चिन्तामा छन् । 

‘विगत दुई दिनयता मात्रै विद्युत्का कारण हाम्रोमा ७० हजार बराबरको क्षति भयो,’ उनले रातोपाटीसँग भने, ‘बिजनेस बिजोग छ ।’ 

रेस्टुरेन्टमा भोलिका लागि आज बेलुका नै खानेकुराका आइटम तयारी गरिसक्नुपर्छ । सोमबार बेलुका आएको हावाहुरीपछि झण्डै २४ घण्टासम्म विद्युत् नै आएन । जसका कारण तयारी गरेका उनका सबै आइटम खेर गए । दिनभरि जेनेरेटर चलाउँदा २०–२५ हजार खर्च हुने गरेको उनले बताए । 

यदि सरकारले तदारुकताका साथ ध्यान दिएर क्षतिग्रस्त विद्युत् टावरको काम गरिदिएको भए यस्तो समस्या आउँथेन । ‘तर अहिलेको सरकार पनि खासै जनमुखी देखिएन,’ निराश हुँदै उनी भन्छन् ।

विद्युत् समस्याले अस्पताल, विद्यालयदेखि सबै क्षेत्र तनावमा

अनियमित विद्युत् र ‘लो–भोल्टेज’ कारण होटल, रेस्टुरेन्ट मात्र होइन विद्यालय, अस्पतालदेखि सबै क्षेत्र प्रभावित बनेको छ । सुर्खेत र कर्णालीमा अहिले अक्सिजन कन्सेन्ट्रेटर, नेबुलाइजर मेसिनहरूले काम गरिरहेका छैनन् । 

वीरेन्द्रनगरमा विद्युत्, खानेपानी संकटसँगै अत्यधिक गर्मीले समग्र मान्छेको दैनिकी नै प्रभावित बनेको बताउँछन्, वीरेन्द्रनगरमा बाल पोलिक्लिनिक सञ्चालन गर्दै आएका डाक्टर नवराज केसी । अत्यधिक गर्मीको कहर छ, त्यसमाथि कारण पङ्खा चल्दैन । अर्कातिर खानेपानीको चरम संकट, जसका कारण बच्चाबच्चीको पढाइमा बाधादेखि हरेक क्षेत्रमा समस्या थपेको उनी बताउँछन् । 

‘गर्मीले आफैमा हिट स्ट्रोक गराउने, डिहाइड्रेसन गराउने, अल्छी गराउने गर्छ,’ उनी भन्छन्, ‘त्यो भएको हुनाले विद्युत् समस्या रोगसँग जोडिने नै भयो ।’ 

उनका अनुसार, फ्रिजमा राखेका फलफूल जति डिग्री चिस्यान हुनुपर्ने हो त्यो छैन । जसले गर्दा चाँडै सड्ने सम्भावना हुन्छ । व्यापारीले व्यापारका लागि त्यो फाल्दैन । यदि त्यस्तो फलफुल किनेर खाँदा झाडापखाला, टाइफाइड, हेपाटाइटिस जस्ता रोगहरु फैलिने सम्भावना रहने केसी बताउँछन् । 

उनी बत्ती अहिले मान्छेको स्वास्थ्यसँग जोडिएको बताउँछन् ।

birendranagar (3)

उनका अनुसार अहिले वीरेन्द्रनगरमा अस्पतालमा विद्युत्का कारण नेबुलाइजर मेसिन, अक्सिजन कन्सन्ट्रेटरले राम्रोसँग काम गरिरहेका छैनन् । मेसिनले काम नगरेपछि दमका बिरामी बुबाआमाहरूको स्वास्थ्यमाथि समस्या बढ्ने भयो । 

अर्कातिर फ्रिजमा भएको भ्याक्सिनहरु बिग्रिरहेको उनले बताए । अर्कातिर धारामा पानी नआउने समस्याले सरसफाइमा कमी हुने र फेरि त्यसले छुट्टै रोग निम्त्याउँने समस्या बढ्ने जोखिम रहेको केसी बताउँछन् ।
यसअघि सुर्खेतसहित कर्णालीको विद्युत् समस्या समाधानको रुपमा हेरिएको कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन गएको माघमा सम्पन्न भयो । 

वैशाख अन्तिम साता उक्त लाइन अन्तर्गत बाँकेको चिसापानीमा दुई वटा टावर (पोल) मा रुख ढल्दा क्षति पुग्यो । हावाहुरीका कारण निकुञ्जका रुख ढलेर टावरमा परेको र त्यही कारण टावर नै ढलका छन् । ती टावर अहिलेसम्म ठडिएका छैनन् । केही महिना नै लाग्ने भनिएपछि प्राधिकरणले वैकल्पिक रुपमा विगतकै ३३ केभीए र कैलालीबाट आएको लाइनबाट वीरेन्द्रनगरमा विद्युत् आपूर्ति मिलायो । 

सोमबार साँझको हावाहुरीले त्यसैमा पनि क्षति पुर्‍याएपछि विद्युत् संकट थप चुलिएको छ अहिले ।

प्राधिकरणका अनुसार हावाहुरीका कारण पुराना संरचनाको विद्युत् पोलनमा क्षति पुर्‍याएको थियो । अहिले त्यसलाई हल गरिएको छ । तर कम क्षमता भएका कारण अनियमित हुने र ‘लो–भोल्टेज’को समस्या भने उस्तै छ । 

अहिले प्रवाह भइरहेको विद्युत्बाट मोबाइलसम्म चार्जर हुने अवस्था नभएको बताउँछन्, वीरेन्द्रनगर नगरपालिका–३, तातापानीमा बस्दै आएका कमल शाही बताउँछन् । ‘झ्याप्पझ्याप्प विद्युुत् दिनुभन्दा बरु नदिए आनन्दै हुन्छ,’ उनी भन्छन्, ‘जाबो मोबाइल चार्जर नहुने, कम्प्युटर नचल्ने, पङ्खान नै नचल्ने हो भने विद्युत्को काम के छ ?’ 

डाक्टर नवराज केसी हावाहुरीका कारण विद्युत् पोल कर्णालीमा मात्रै ढल्ने कुरालाई गहिरो तरिकाले हेर्नुपर्ने बताउँछन् । 

निकै बलियो गरी तयार गरिएका हाई टेन्सन लाइनका विद्युत् टावर ढल्नुमा निर्माणकै क्रममा कमजोरी भएको हुनसक्ने उनी बताउँछन् । ‘निर्माणका मापदण्ड पुरा गरिएको छन् कि छैनन्, यहाँको जस्तो हुरीबतास देशभरि गा'छ, कर्णालीमा मात्रै किन विद्युत् आपूर्ति बन्द ?,’ उनी प्रश्न गर्छन् । 

उनी भ्रष्टाचार सिमेन्ट बालुवामा मात्रै नभइ यहाँका मान्छेको जीवनमाथि भएको तर्क उनी गर्छन् ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । अहिले यो सहरलाई पश्चिम नेपालकै विकासउन्मुख र उदाउँदो सहरका रुपमा चर्चा गरिन्छ । वीरेन्द्रनगर नगरपालिकाले यसलाई उपमहानगर बनाउने योजना अघि बढाइक्यो । स्वास्थ्य, शिक्षादेखि खेल क्षेत्रका ठूला संरचना बनिसके ।  जताततै सडक कालोपत्रे पनि भइसक्यो । 

यद्यपि खानेपानीको चरम संकट र अनियमित विद्युत्को समस्या अझै हल हुन सकेको छैन । वैशाखदेखि असारसम्म वीरेन्द्रनगर उपत्यकाभित्रको बसाइँ सकसपूर्ण हुने गरेको छ ।

विद्युत् जस्तै हुँदैन खानेपानीको पनि ठेगान्

वीरेन्द्रनगरमा विद्युत् मात्र होइन खानेपानीको पनि कुनै ठेगान् हुँदैन । विद्युतजस्तै खानेपानी समस्या पनि विगतदेखिकै हो यहाँ । गर्मी समय लागेसँगै धारामा पानी आउने–नआउने कुनै ठेगान हुँदैन । वीरेन्द्रनगर नगरपालिका–१ का शान्ता शाहीको घरमा धारा जडान भएकाले कुवा बनाइनन् । 

तर, धारामा पानी नआउँदा निकै समस्या छ । उनी भन्छन्, ‘एक त धारामा पानी नै आउँदैन, कहिलेकाहिँ आए पनि थोरै मात्रामा आउँछ । त्यसले खाना बनाउने, ट्वाइलेटदेखि नुहाउनलाई १/२ दिन पनि पुग्दैन ।’ वीरेन्द्रनगरको तल्लो भेगतिर (तातापानी, रानाटोल लगायतका ठाउँ) अचेल १५ दिनसम्म धारामा पानी नआएको गुनासो सुर्खेत उपत्यका खानेपानीमा पुगेको छ । 

यद्यपि गर्मी समयमा खानेपानीको सहज वितरणका लागि वैशाख ७ गते नै वितरण कार्यतालिका लागु गरेको छ । जसमा ३ दिनको फरकमा चौथो दिन दैनिक १ घण्टा खानेपानी वितरण गरिने भनिएको छ । 
यद्यपि उक्त तालिका अनुसार पनि सबै क्षेत्रमा खानेपानीको आपूर्ति हुन सकेको छैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका ईन्जिनियर बालाराम तिवारी वीरेन्द्रनगरमा हाल भइरहेको खानेपानी समस्या अहिलेकै स्रोतबाट सम्भव नभएको बताउँछन् । 

खडेरीका कारण हाल खानेपानीका स्रोत घटेका छन् । वीरेन्द्रनगरमा स्थायी र अस्थायी गरी झण्डै ५ लाख बढी जनसंख्या बसोबास गर्छ अहिले । घरधुरी संख्या झण्डै ४० हजार पुगेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको तथ्याङ्क अनुसार, हालसम्म २० हजार ५२९ वटा घरमा मात्रै धारा वितरण गरिएको छ । 

४ हजार ६०० घरधुरीले धाराका लागि आवेदन दिएपनि जडान कार्य हुन सकेको छैन । तिवारीका अनुसार, धारा जडान भएको घरधुरी संख्यालाई खानेपानी आपूर्ति गर्न ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यकता पर्दछ । 

खानेपानी संस्थाका अनुुसार, हाल झुप्रा खोला ८६, खरिबोरीखोला ३०, इत्रामखोला २७, खोर्केखोला १०, दुन्दुरे खोला १० लिटर प्रतिसेकेन्ड क्षमता छ । हाल सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरू सुक्न गयर सम्पूर्ण स्रोतहरुबाट जम्मा ८३ लिटर प्रतिसेकेन्ड खानेपानी मात्र उपलब्ध रहेको खानेपानी संस्थाले जनाएको छ । जुन उपलब्धताले वीरेन्द्रनगरको खानेपानी संकटको १० प्रतिशत हिस्सा पनि पूर्ति गर्न सकस छ ।

धारा जडान नभएका नागरिकले इनार (कुवा) को पानी प्रयोग गर्छन । तर, खडेरीका कारण कुवा नै सुक्ने समस्या बढीरहेको स्थानीयहरु बताउँछन् । 

‘वीरेन्द्रनगरमा बस्नु पनि अपराध जस्तो भयो,’ वीरेन्द्रनगरको खजुराभन्दा उत्तरतर्फको क्षेत्रमा बस्दै आएका रुद्र आचार्य भन्छन्, ‘न पानी न बत्ती ।’ खानेपानी संस्थाका ईञ्जिनियर बालाराम तिवारी भन्छन्, ‘भेरीको पानी नआएसम्म अहिलेकै खानेपानी स्रोतबाट वीरेन्द्रनगरको खानेपानी तिर्खा मेट्न सम्भव नै छैन ।’ 

पूरै जनसंख्यालाई पानी वितरण गर्ने र पाइप नेटवर्क हाल्ने हो भने पनि हिउँद मै ५ दिनको पालो लगाउनुपर्ने उनी बताउँछन् । 

birendranagar (1)

कहिले समाधान हुन्छ वीरेन्द्रनगरको खानेपानी र विद्युत् संकट ?

वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधानको एउटै उपाय–भेरीको पानी वीरेन्द्रनगर ल्याउने नै हो । उक्त आयोजनाको पहिलो चरणको काम अन्तिम चरणमा छ भने दोस्रो चरणको अध्ययन भइरहेको छ ।
सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरेर अघि बढेको यो आयोजना अन्तर्गत भेरी नदीको पानी पम्पिङ प्रविधिबाट राजधानी वीरेन्द्रनगरमा ल्याइनेछ ।

आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत लगानी छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टर्म्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गत वर्षदेखि गरिरहेको छ । 

पहिलो प्याकेज अन्तर्गत ३ अर्ब ५ करोड ८ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले अबको दुई वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइसक्ने बताइन् ।

विद्युत् समस्याको समाधान १३२ केभीए प्रसारण लाइन नै हो । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरी बाँकेमा ढलेका टावरको फाउन्डेशन निर्माण गरिसकेको बताउँछन् ।
‘अबको केही दिनमै लाइन सुचारु हुन्छ,’ उनले भने । 

यद्यपि उक्त निकुञ्ज क्षेत्रमा त्यस्तो रुखहरु अझै रहेकाले हावाहुरीले पुनः समस्या नआउला भन्न नसकिने तर्क उनले गरे । उनका अनुसार, कतिपय ठाउँमा रुखै काट्न पाए सधैंको लागि समस्या समाधान हुन्थ्यो । रुख काट्ने प्रक्रिया लामो निकै लामो छ । 

‘टावर र तारको दायरा भित्रको त हामीले काटिसक्या छौं, त्यो भन्दा बाहिरको तर क्षति पुर्‍याउन सक्ने रूखहरूलाई लिएर समस्या हुने देखिन्छ,’ उनी भन्छन्, ‘तर हामीले रूख कटानका लागि अनुमति पाइसकेका छैनौं ।’ 

त्यसको लागि केन्द्रको वन मन्त्रालय, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई पत्र लेखिएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप