पर्यटनकर्मी भन्छन्– हामी पलायन हुने अवस्था नआओस्
सारांश
- पर्यटनकर्मीहरूले हिमाल आरोहणमा खटिने गाइडहरूको सुरक्षा, बीमा र उचित ज्यालामा सरकारले ध्यान नदिएको गुनासो गरेका छन्।
- माउन्टेन गाइडहरूलाई तालिम, सुरक्षा, पेन्सन र सामाजिक सुरक्षा कोषको व्यवस्था नहुँदा उनीहरू बिदेसिन बाध्य भएको गुनासो छ।
- सरकारले सगरमाथा दिवस औपचारिकतामा सीमित नराखी हिमालका सारथिहरूको सुरक्षा र उज्ज्वल भविष्यका लागि नीतिगत बहस गर्नुपर्ने पर्यटनकर्मीहरूको माग छ।
काठमाडौँ । आज सगरमाथा आरोहणको ७३औँ वर्षगाँठ तथा १८औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । पहिलो पटक सन् १९५३ मे २९ तारिखमा विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको थियो । ७३ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखर चुमेका थिए ।
आरोही हिलारीले सन् २००८ जनवरी ११ मा संसार त्यागे । त्यसको २२ वर्षअघि नै नोर्गेले सन् १९८६ मे ९ तारिखमा यो धर्ती छोडेका थिए । हिलारीको निधनको सन्दर्भ पारेर नै सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको हो ।
सरकारले बर्सेनि विविध कार्यक्रम गरी सगरमाथा दिवस मनाउँदै आएको छ । यस वर्ष ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ नाराका साथ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । तर, हिमाल आरोहण गर्नेहरूलाई डोर्याउँदै चुचुरोमा पुर्याउने गाइडहरूको सुरक्षा, बीमा, उचित ज्यालामा ध्यान नदिएको गुनासो वर्षौंदेखि सुनिन्छ । हिमालमा बढ्दो दुर्घटना र फोहोरमैला व्यवस्थापन उत्तिकै चिन्ताको विषय बन्दै गएको छ । सरकार भने यसतर्फ गम्भीर बनेको देखिदैन ।
- ‘ट्रेनिङ र पेन्सनको व्यवस्था नहुँदा माउन्टेन गाइडहरू बिदेसिन बाध्य’
‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ पर्यटनकर्मीहरूका लागि विशेष महत्त्वको दिन हो, तर हिमालमा ज्यानको बाजी थापेर पर्यटकलाई सुरक्षित यात्रा गराउने माउन्टेन गाइडहरूको कथा भने त्यति उज्यालो छैन ।
लामो समयदेखि हिमाल आरोहण र गाइडिङ गर्दै आएका अनुभवी पर्यटनकर्मी अविरल राई र पासाङ किदार शेर्पाले हिमालमा काम गर्ने गाइडहरूको सुरक्षा, दक्षता र भविष्यबारे गम्भीर प्रश्न उठाएका छन् । सुरक्षा र दक्ष जनशक्ति उत्पादनका लागि तालिम अनिवार्य रहेको उनीहरू बताउँछन् ।
हिमालमा काम गर्ने गाइडहरूलाई विशेष तालिम र सुरक्षाको शिक्षा दिनु अत्यन्त आवश्यक रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइड अविरल राई बताउँछन् । विगत ७ वर्षदेखि नेपालमा माउन्टेनेरिङको ‘बेसिक’ र ‘एड्भान्स’ कोर्स नभएकोमा उनी चिन्तित छन् । ‘ट्रेनिङ नभएकै कारण हिमालमा दुर्घटना बढिरहेको उनले बताए । सरकारले ‘नेपाल माउन्टेन एसोसिएसनसँग मिलेर गाइडहरूको ‘बेसिक’ र ‘एड्भान्स’ तालिमका लागि बजेट छुट्ट्याउनुपर्ने उनको भनाइ छ ।
थुलुङ दुधकोशी गाउँपालिका, ६ सोलुखुम्बु स्थायी घर भएका अविरलका अनुसार, राम्रो तालिम पाएका गाइडहरू भएमा हिमालमा भइरहेका दुर्घटनामा कमी हुन सक्छ । सरकारले यथाशीघ्र यतातिर ध्यान दिनुपर्ने उनी बताउँछन् । अनुभवी गाइड भएकै कारण उनी विदेशी पर्यटकहरूको पहिलो रोजाइमा पर्छन् । ‘प्रोफेसनल कोर्ष गरेपछि मात्र अन्तर्राष्ट्रियस्तरको पारिश्रमिक र सम्मान मिल्छ,’ राईले दुखेसो पोख्दै भने, ‘नेपालमा सामाजिक सुरक्षा र पेन्सनको व्यवस्था नहुँदा बिदेसिनुको विकल्प छैन ।’
राईले भनेजस्तै अन्तर्राष्ट्रियस्तरको कोर्ष गर्न त्यति सहज भने छैन । यो कोर्ष पूरा गर्दा ३० देखि ३५ लाख रुपैयाँ खर्च भइसक्छ, तर लगानी उठाउन भने निकै मुस्किल हुने उनको अनुभव छ ।

अर्का अनुभवी अन्तर्राष्ट्रिय माउन्टेन गाइड पासाङ किदार शेर्पाको भोगाइ अलि फरक छ । ३० वर्षभन्दा बढी समय यही क्षेत्रमा बिताएका शेर्पा अहिले बाध्य भएर नर्वे लगायतका मुलुकमा गाइड पेसाकै लागि पुग्छन् । सन् २००५ मा उनी अमेरिका हानिए । स्वदेशको कमाइले नपुगेपछि ९ वर्ष अमेरिका बस्न बाध्य भएको उनले बताए ।
‘नेपालको ट्रेकिङ र एक्स्पेडिसनको कमाइले घरखर्च चलाउनै गाह्रो छ । विदेशमा काम गर्दा ट्याक्स तिरेपछि सामाजिक सुरक्षा कोषमा पेन्सन पनि सुविधा हुन्छ, जुन नेपालमा छैन,’ शेर्पाले आफ्नो अनुभव सुनाए ।
दोलखाको रोल्वालिङमा जन्मिएका शेर्पाका अनुसार, नेपाल सरकारले पेन्सन वा सामाजिक सुरक्षाको व्यवस्था गरिदिने हो भने दक्ष र अनुभवी गाइडहरू विदेश पलायन हुनु पर्दैनथ्यो ।
शेर्पा १५ वर्षको उमेरदेखि नै पर्यटन क्षेत्रमा होमिए । ४७ वर्षीय उनले सिङ्गो जीवन नै हिमालमा बिताइसके । अहिलेकै अवस्था कायम रहने हो भने अबको ५–६ वर्षभित्र नेपालमा दक्ष जनशक्ति पाउनै मुस्किल हुने उनी सङ्केत गर्छन् ।
पर्यटन क्षेत्रमा जीवन नै समर्पित गरिसकेका राई र शेर्पाको एउटै स्वर छ— हिमालमा काम गर्नेहरूलाई राज्यले पेन्सनको व्यवस्था वा सामाजिक सुरक्षा कोषमा समेट्नैपर्छ ।

पिम्बा तेन्जिङ लामा नेपालका प्रख्यात अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक (माउन्टेन गाइड) हुन् । विशेषगरी नेपालको पर्वतारोहण क्षेत्रको विकास, प्रवर्द्धन र साहसिक खेलकुदका कार्यक्रमहरूको आयोजना उनी गर्छन् । सरकारले औपचारिक कार्यक्रमहरूमा सीमित हुनुभन्दा दक्ष जनशक्तिको पलायन रोक्नमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
‘झाँकी, पुरस्कार वितरण गरेर औपचारिकता निभाउनु भन्दा गाइडहरूलाई उचित ज्याला, बीमा र सामाजिक सुरक्षा कोषको व्यवस्था हुनुपर्छ,’ लामाले भने, ‘यो पेसा एकदमै असुरक्षित छ । सरकारले दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्छ ।’
माउन्टेन गाइडको तालिमका लागि सरकारले बजेट बढाउनु पर्नेमा उनले जोड दिए ।
लामाको कुरामा सहमत छन् नुवाकोटका पर्यटनकर्मी विवेक पाण्डे । १७ वर्षदेखि पर्यटन क्षेत्रमा होमिएका पाण्डे हिमाल आरोहीहरूका लागि बीमा रकम बढाउनु पर्ने पक्षमा छन् । हिमालमा कोही बिरामी पर्दा हेलिकप्टर रेस्क्यु गरेर राजधानी ल्याउँन मुस्किल हुने उनको अनुभव छ । ‘हेलिकप्टर रेस्क्यु र स्वास्थ्य उपचारका लागि छुट्ट्याइएको बजेट बढाउनुपर्छ,’ पाण्डेले भने ।
सरकारी तहबाटै माउन्टेन गाइडहरूलाई पेन्सन, सामाजिक सुरक्षा, बीमा लगायतका सुविधा उपलब्ध गराएमा मात्रै उनीहरू ढुक्क हुने देखिन्छन् । यति मात्र होइन, राज्यले माउन्टेन गाइडहरूलाई आधुनिक प्रविधि र सुरक्षा तालिमका लागि अनिवार्य लगानी गर्नुपर्ने देखिन्छ ।
नेपालको पर्यटनको मुख्य मेरुदण्ड हिमाल हो भने हिमालका सारथि यिनै गाइडहरू हुन् । उनीहरूले पर्यटन क्षेत्रमा देशको इज्जत त बढाइरहेका छन्, तर आफ्नै भविष्य भने अनिश्चित र असुरक्षित देखिरहेका छन् । सरकारले मनाउँदै गरेको सगरमाथा दिवस केवल औपचारिकतामा सीमित नहोस् । हिमालका सारथिहरूको सुरक्षा र उज्ज्वल भविष्यका लागि नीतिगत बहसको ढोका पनि खोलोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण