खेलकुद क्षेत्रका लागि बजेट: अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रमा कुल ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
- आगामी तीन वर्षभित्र १० वटा फुटबल रङ्गशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने र प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख छ।
- अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेुका साथै सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको छ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रतर्फ कुल ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने योजना अघि सारेका हुन्।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लड लाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेका छन्। यसैगरी प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख छ। देशका प्रमुख सहरहरू विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा आगामी तीन वर्षभित्र कम्तीमा दुई हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने योजना सरकारले अघि सारेको छ।
क्रिकेटतर्फ मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने बजेट वक्तव्यमा उल्लेख छ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीहरूलाई विद्यालयको आधारभूत तहदेखि नै छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने घोषणा सरकारले गरेको छ।
खेलाडीहरूको प्रोत्साहनका लागि अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने बजेटमा समेटिएको छ। यसका साथै सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको अर्थमन्त्री वाग्लेले बताएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण