सङ्घीय बजेटमा सुदूरपश्चिम : पुराना योजनालाई निरन्तरता, बजेटको आकार अन्योलमै
सारांश
- आगामी आर्थिक वर्ष २०८३/८४ को सङ्घीय बजेटमा सुदूरपश्चिम प्रदेशका पुराना र अधुरा आयोजनाहरूलाई पुनः समेटिएको छ ।
- बजेटमा सुदूरपश्चिमका धार्मिक पर्यटकीय स्थलहरूलाई जोडेर विशिष्ट धार्मिक पर्यटकीय सर्किट निर्माण, पर्या-पर्यटन पदमार्ग, प्रादेशिक पर्यटकीय करिडोर विकास, महाकाली करिडोरको ट्रयाक खोल्ने कार्यलाई प्राथमिकता, पश्चिम सेती र बेतन कर्णाली जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार विधामा पढाई सुरु गरिने जस्ता योजना समावेश छन् ।
- पर्याप्त बजेटको सुनिश्चितता नहुँदा पुराना गौरवका आयोजनाहरूको कार्यान्वयनमा चुनौती देखिन सक्ने र बजेटको आकार अन्योलमै हुँदा योजनाको काम अगाडी बढ्छ वा बढ्दैन भन्ने आशङ्का पैदा हुने बताइएको छ ।
धनगढी । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको सङ्घीय बजेटमा सुदूरपश्चिम प्रदेशका पुराना र अधुरा आयोजनाहरूलाई पुनः समेटेको छ ।
अर्थमन्त्रीले बजेट भाषणमार्फत यस प्रदेशका शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारका क्षेत्रलाई सम्बोधन गरे पनि कुन योजनाका लागि कति रकम विनियोजन गरिएको हो भन्ने विषयमा भने प्रस्ट पारिएको छैन ।
सुदूरपश्चिमका प्रमुख धार्मिक पर्यटकीय स्थलहरू रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुनलाई जोडेर ‘विशिष्ट धार्मिक पर्यटकीय सर्किट’ निर्माण गरिने भएको छ ।
यस्तै उच्च पहाडी क्षेत्रमा पर्या–पर्यटन पदमार्ग निर्माण गर्ने र खप्तड–बडिमालिका–शुक्लाफाँटालाई जोड्ने गरी प्रादेशिक पर्यटकीय करिडोर विकास गर्ने योजना बजेटमा समेटिएको छ ।
यातायात पूर्वाधारतर्फ पूर्व–पश्चिम राजमार्गको कोहलपुरदेखि गड्डाचौकी खण्डलाई चार लेनमा विस्तार गर्न आगामी वर्ष सम्भाव्यता अध्ययन पुरा गर्ने लक्ष्य राखिएको छ ।
यस्तै सामरिक महत्त्वको महाकाली करिडोर (दार्चुला–टिंकर सडक) को ट्रयाक खोल्ने कार्यलाई प्राथमिकता दिइने बजेट वक्तव्यमा उल्लेख छ । सेती राजमार्ग र खुटिया–दिपायल सडक खण्डको स्तरोन्नति कार्यलाई पनि तीव्रता दिइने सरकारको योजना छ ।
ऊर्जा क्षेत्रमा वर्षौँदेखि चर्चामा रहेका पश्चिम सेती र बेतन कर्णाली जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइने भएको छ। यस्तै, सुदूरपश्चिमकै ठुलो आयोजनाका रूपमा रहेको बुढीगंगा जलविद्युतको निर्माणलाई पनि गति दिइने बताइएको छ ।
सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ र रानी–जमरा–कुलरिया सिँचाइको कमाण्ड क्षेत्र विस्तार गर्ने योजना बजेटमा परेको छ ।
कैलालीको गेटामा निर्माण भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित चार वटा विधामा पढाई सुरु गरिने घोषणा गरिएको छ ।
यस्तै खेलकुदतर्फ धनगढीको फाप्ला मैदानलाई इन्डोर मल्टिपर्पोज स्टेडियमका रूपमा विकास गर्न र क्रिकेट मैदानको लगानी मोडालिटी तय गर्न बजेटले बाटो खोलेको छ ।
समग्रमा सुदूरपश्चिमका धेरैजसो पुराना गौरवका आयोजनाहरूलाई बजेटमा समावेश गरिएको भए पनि पर्याप्त बजेटको सुनिश्चितता नहुँदा कार्यान्वयनमा भने चुनौती देखिन सक्ने पूर्व शिक्षक मानबहादुर चौधरीले बताए।
उनका अनुसार बजेटको आकार अन्योलमै हुँदा योजनाको काम अगाडी बढ्छ वा बढ्दैन भन्ने पनि आशङ्का पैदा हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण