सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

विश्व मल्टिपल स्क्लेरोसिस दिवस : २० देखि ४० वर्षका उमेर समूह बढी जोखिममा

शनिबार, १६ जेठ २०८३, १५ : ४८
शनिबार, १६ जेठ २०८३

सारांश

  • विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस नेपालमा पहिलो पटक सचेतना कार्यक्रमका साथ मनाइएको छ ।
  • मल्टिपल स्क्लेरोसिस एक जटिल स्वास्थ्य समस्या हो जसमा शरीरको एन्टिबडीले आफ्नै नसाको झिल्ली बिगार्छ, जसले मस्तिष्क र मेरुदण्डमा असर गर्छ ।
  • यो रोग २० देखि ४० वर्षका व्यक्तिमा बढी देखिए पनि जुनसुकै उमेरमा हुन सक्छ र यसको पूर्ण निको पार्ने औषधि नभए पनि नियन्त्रण गर्न सकिन्छ ।

काठमाडौँ । नेपालमा पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस विभिन्न सचेतना कार्यक्रमका साथ मनाइएको छ । ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा यो दिवस मनाइएको हो । 

संसारभर हरेक वर्ष मे ३० तारिखका दिन यो दिवस मनाउने गरिन्छ । शरीरभित्र रहेको एन्टिबडीले आफ्नै शरीरलाई चिन्न नसकी नसाको झिल्ली बिगार्ने जटिल स्वास्थ्य समस्यालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । विश्वभर ८ करोड (८० मिलियन) भन्दा बढी मानिस यस रोगबाट प्रभावित रहेको अनुमान गरिए पनि नेपालमा भने यसका बिरामीको कुनै यकिन तथ्याङ्क छैन । 

विशेषज्ञहरूका अनुसार नेपालमा यो रोग विशेष गरी २० देखि ४० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको छ । पुरुषको तुलनामा महिलाहरू यसबाट बढी प्रभावित हुने गरेको पाइए पनि क्लिनिकल तथ्याङ्क अनुसार यो ८ वर्षका बालकदेखि ८० वर्षका वृद्धसम्म जुनसुकै उमेरमा हुन सक्छ ।

यसै अवसरमा अल्का अस्पतालका नसा रोग विशेषज्ञ डा. अविनाश चन्द्रले मल्टिपल स्क्लेरोसिस भएका व्यक्तिको नसाका विभिन्न स्थानमा घाउ देखापर्ने बताएका छन् । यो रोगले विशेष गरी मानव मस्तिष्क र मेरुदण्ड (स्पाइनल कर्ड) मा गम्भीर असर पुर्‍याउँछ । यो रोग रोगप्रतिरोधात्मक क्षमता कम भएका र वंशाणुगत कारणले हुने गरेको पाइएको छ । 

यो के कारणले हुन्छ भन्ने यकिन तथ्य पत्ता नलागे पनि विभिन्न अध्ययनहरूले शरीरमा भिटामिन डी को कमी हुँदा, धेरै पटक भाइरल सङ्क्रमण ब्यहोरेका व्यक्तिहरूमा र धेरै चिसो स्थानमा बसोबास गर्नेहरूमा मल्टिपल स्क्लेरोसिसको समस्या बढी देखिने गरेको छ । शरीरको प्रतिरोधात्मक प्रणालीले आफ्नै नसालाई बाहिरी शत्रु ठानेर आक्रमण गर्ने भएकाले यसलाई ‘अटोइम्युन’ रोग मानिन्छ । डा. चन्द्रका अनुसार मानव नसालाई एक विद्युतीय तारको रूपमा बुझ्ने हो भने, यसको बाहिरी सुरक्षा कवच (माइलिन सिथ) खुइलिँदा मस्तिष्कबाट प्रवाह हुने सूचनामा अवरोध पैदा हुन्छ र रोगका लक्षणहरू देखिन थाल्छन् ।

यस रोगका मुख्य लक्षणहरूमा एउटै वस्तु दुईवटा देखिनु (डबल भिजन), रिँगटा लाग्नु, शरीरको सन्तुलन गुम्नु, अत्यधिक थकाइ लाग्नु र शरीरमा विद्युतीय झट्का लागे जस्तो महसुस हुनु रहेका छन् । तातो पानीले नुहाउँदा वा गर्मी मौसममा यी लक्षणहरू थप बढ्ने गरेको पाइएको छ । 

यो रोगका लक्षणहरू अन्य सामान्य रोगका समस्याहरूसँग मिल्ने भएकाले नेपालमा यसको उपचार गलत हुने र उपचारपूर्व गलत डाइग्नोसिस (निदान) हुने उच्च जोखिम रहेको डा. चन्द्रले जानकारी दिएका छन् । कतिपय अवस्थामा बिरामीले महसुस गर्ने अत्यधिक थकाइलाई अन्य साधारण कारण मानिँदा वास्तविक रोग छुट्न सक्ने जोखिम रहन्छ । तसर्थ, शङ्कास्पद लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग ‘यो मल्टिपल स्क्लेरोसिस त होइन’ भनी परामर्श लिन उनले सुझाव दिएका छन् ।

हालसम्म मल्टिपल स्क्लेरोसिसलाई पूर्ण रूपमा निको पार्ने कुनै औषधि पत्ता नलागे तापनि रोगको वृद्धि रोक्न र यसबाट हुने शारीरिक क्षति न्यूनीकरण गर्न प्रभावकारी औषधिहरू उपलब्ध छन् । एमआरआई र नसाको पानी जाँच (सीएसएफ) जस्ता परीक्षणहरू महँगा हुने भएकाले यसको पहिचान र उपचार खर्चिलो मानिन्छ । 

यद्यपि नेपाल सरकार र मल्टिपल स्क्लेरोसिस सोसाइटीको निरन्तरको पैरवीका कारण हाल क्यान्सर उपचारमा प्रयोग हुने ‘रितुक्सिम्याब’ जस्ता औषधिहरूलाई एमएसका बिरामीका लागि पनि सहुलियत र सहज उपलब्धताको व्यवस्था मिलाइएको डा. चन्द्रले जानकारी दिएका छन् ।

यो रोगलाई उपचार गरेर निर्मूल गर्न नसकिए पनि पूर्ण रूपमा नियन्त्रणमा राख्न सकिन्छ । रोगले च्याप्दै जाँदा सासमा समस्या, नसाको समस्या र मुटुको नसामा समस्या एकसाथ आउन सक्छ र यो विकसित भएर बिरामीको मृत्युसमेत हुन सक्छ । त्यसैले रोगको लक्षण देखापर्ने बित्तिकै चिकित्सकको सम्पर्कमा गएर उपचार सुरु गरिहाल्न डा. चन्द्रले अनुरोध गरेका छन् । 

समयमै रोगको पहिचान गरी उपचार सुरु गरेमा शरीर अपाङ्गता हुनबाट जोगिने भएकाले व्यापक जनसचेतना फैलाउनु नै यसको प्रमुख रोकथाम रहेको चिकित्सकहरूको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप