जेनजी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी
सारांश
- जेनजी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
- आन्दोलनका क्रममा पक्राउ परेका सयौँ युवाहरूमाथि ९०० भन्दा बढी मुद्दा चलाइएको, करोडौँको बिगो र वर्षौँ कैद माग गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन् ।
- सम्झौता कार्यान्वयन नहुँदा थुनुवाका पीडित परिवारहरू विगत १८ दिनदेखि माइतीघर मण्डलाको सडकमा निरन्तर धर्ना र आन्दोलन गर्न बाध्य भएका छन् ।
काठमाडौँ । जेनजी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आन्दोलनका क्रममा पक्राउ परेका सयौँ युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेको विषयप्रति उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्ति अनुसार गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी जनआन्दोलन सुशासन र लोकतान्त्रिक अधिकारका लागि युवाहरूले उठाएको नागरिक आवाज थियो । तर, सो समयमा राज्यले अत्यधिक बल प्रयोग र दमन गर्दा दर्जनौँ प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने हजारौँ घाइते र सयौँ पक्राउ परेका थिए ।
आन्दोलनमा सहभागी भएकै आधारमा मात्रै युवाहरूमाथि ९०० भन्दा बढी मुद्दा चलाइएको, करोडौँको बिगो र वर्षौँ कैद माग गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन् । यो कदम संविधानको धारा १७ द्वारा प्रदत्त विचार, अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शनको स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उनीहरूको ठहर छ ।
यसका साथै राज्यको यस शैलीले संविधानको धारा १८, २०, २४, ३८ र ३९ ले सुनिश्चित गरेका क्रमशः समानता, न्याय, यातनाविरुद्धको हक, तथा महिला र बालबालिकाको अधिकारको समेत धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि गत मङ्सिर २४ गते नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच १० बुँदे सम्झौता सम्पन्न भएको थियो । नेपाल राजपत्रमा समेत प्रकाशित उक्त निर्णयको बुँदा २ को (ग) र (घ) मा आन्दोलनकारीमाथि १५ दिनभित्र स्क्रिनिङ र छानबिन गरी गम्भीर अपराधमा संलग्न नरहेकाहरूलाई तत्काल हिरासत वा थुनामुक्त गर्ने र मुद्दा फिर्ता लिने स्पष्ट प्रतिबद्धता जनाइएको थियो । तर, सम्झौता भएको महिनौँ बितिसक्दा समेत सरकारले यसलाई कार्यान्वयन नगरेकोमा अभियन्ताहरूले आक्रोश पोखेका छन् ।
सम्झौता कार्यान्वयन नहुँदा थुनुवाका पीडित परिवारहरू विगत १८ दिनदेखि माइतीघर मण्डलाको सडकमा निरन्तर धर्ना र आन्दोलन गर्न बाध्य भएका छन् । लोकतान्त्रिक राज्य व्यवस्थामा नागरिकको शान्तिपूर्ण असहमति अपराध हुन नसक्ने भन्दै युवाहरूको आवाजलाई दमन, थुना तथा राजनीतिक प्रतिशोधमार्फत दबाउने प्रयासले विधिको शासन तथा मानवअधिकारको मर्ममाथि नै गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा भनिएको छ ।
जनआन्दोलनसँग ऐक्यबद्धता जनाउँदै सम्पूर्ण जेनजी युवा समूहहरूले संयुक्त रूपमा सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले आन्दोलनका क्रममा पक्राउ परेका सम्पूर्ण थुनुवाहरूको तत्काल तथा बिनाशर्त रिहाइ गर्न र अभिव्यक्ति स्वतन्त्रता एवं राजनीतिक अधिकारसँग जोडिएका सम्पूर्ण मुद्दाहरू तत्काल फिर्ता लिन माग गरेका छन् । यसका साथै नेपाल सरकार र आन्दोलनकारी पक्षबिच सम्पन्न १० बुँदे सम्झौताको पूर्ण तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।
युवाहरूले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, गैरन्यायिक दमन तथा मानवअधिकार उल्लङ्घनका घटनामाथि स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि उठाएका छन् । हिरासत तथा कारागारमा रहेका महिला, विद्यार्थी र नाबालिग थुनुवाहरूको अधिकार र सुरक्षाको विशेष सुनिश्चितता गरिनुपर्ने तथा भविष्यमा शान्तिपूर्ण आन्दोलनमाथि गैरकानुनी दमन, अत्यधिक बल प्रयोग र राजनीतिक प्रतिशोध नदोहोरिने वातावरण बनाउन सरकारसँग माग गरिएको छ ।
यी जायज तथा संवैधानिक मागहरूप्रति राज्य अझै पनि उदासीन रहिरहेमा आन्दोलनरत सम्पूर्ण जेनजी युवा समूहहरू थप सशक्त र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण