शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाद्वारा इरानी सैन्य स्थलमा आक्रमण, जवाफ इरानले बनायो अमेरिकी हवाई अड्डालाई निशाना

सोमबार, १८ जेठ २०८३, ११ : १२
सोमबार, १८ जेठ २०८३

सारांश

  • अमेरिकाले इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको जनाएको छ भने इरानले त्यसको जवाफमा अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।
  • जारी युद्धविराम अवधिभर अमेरिका आफ्ना सम्पत्ति र हितहरूको रक्षा गर्न प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
  • अमेरिका र इरानबीच प्रतिबन्ध हटाउने तथा विदेशी बैंकहरूमा रोक्का गरिएका इरानका अर्बौं डलर बराबरका तेल आम्दानी फुकुवा गर्ने विषयमा पनि अझै सहमति हुन सकेको छैन ।

दुबई । अमेरिकाले गएको सप्ताहान्तमा इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको जनाएको छ भने इरानको इस्लामिक क्रान्तिकारी गार्ड कप्र्स (आईआरजीसी)ले सोमबार त्यसको जवाफस्वरूप अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ । तीन महिनादेखि जारी युद्ध अन्त्य गर्न भइरहेको वार्ताका बिच दुवै पक्षबिच फेरि आक्रमण–प्रत्याक्रमण भएको हो ।

अमेरिकी आक्रमण इरानको खाडी तटीय क्षेत्रमा गरिएको थियो । अमेरिकाले यसलाई इरानका आक्रामक गतिविधिहरूको जवाफ भनेको छ । ती गतिविधिमा अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि उडिरहेको अमेरिकी एमक्यू–१ ड्रोन खसालिएको घटना पनि समावेश रहेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले सामाजिक सञ्जाल एक्समा जनाएको छ ।

‘अमेरिकी लडाकु विमानहरूले तत्काल प्रतिक्रिया जनाउँदै इरानी वायु प्रतिरक्षा प्रणाली, एउटा भू–नियन्त्रण केन्द्र तथा क्षेत्रीय जलमार्गबाट आवतजावत गर्ने जहाजहरूका लागि स्पष्ट खतरा बनेका दुईवटा एकतर्फी आक्रमणकारी ड्रोनलाई नष्ट गरेका छन्,’ सेन्टकमले आफ्नो विज्ञप्तिमा भनेको छ । जारी युद्धविराम अवधिभर अमेरिका आफ्ना सम्पत्ति र हितहरूको रक्षा गर्न प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता आईआरजीसीले सोमबार जारी वक्तव्यमा दक्षिणी इरानमाथिको अमेरिकी आक्रमणका लागि प्रयोग गरिएको एउटा अमेरिकी हवाई अड्डालाई निशाना बनाएको जनाएको छ । तर कुन हवाई अड्डामा आक्रमण गरिएको हो भन्ने कुरा उसले खुलाएको छैन । यसैबीच, अमेरिकी प्रमुख सैन्य अड्डा रहेको कुवेतमा सोमबार साइरन बजिरहेका बेला त्यहाँको वायु प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणहरूलाई अवरोध गरिरहेको कुवेती सरकारी समाचार संस्था कुनाले जनाएको छ । तर घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

गत अप्रिलको सुरुआतमा युद्धविराम लागू भएयता अमेरिका र इरानबीच बेला–बेलामा यस्ता आक्रमण र प्रत्याक्रमण भइरहेका छन् । दीर्घकालीन सम्झौताका लागि भइरहेको वार्ता सुस्त गतिमा अघि बढिरहेका बेला गत बिहीबार पनि यस्तै प्रकृतिको आक्रमण–प्रत्याक्रमण भएको थियो र दुवै पक्षले त्यसलाई समान शब्दावलीमा व्याख्या गरेका थिए ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा सुरु गरेको युद्धमा मुख्यतः इरान र लेबनानमा हजारौं मानिसको ज्यान गएको छ । साथै इरानले स्ट्रेट अफ होर्मुजलाई प्रभावकारी रूपमा बन्द गरेपछि विश्व बजारमा ऊर्जाको अभावले मूल्यवृद्धि गराएको छ भने त्यसले विश्व अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा आफ्नो मुख्य उद्देश्य इरानलाई उच्चस्तरमा संवर्धित युरेनियम प्रयोग गरेर परमाणु हतियार विकास गर्नबाट रोक्नु रहेको बताएका छन् । तर तेहरानले आफूले परमाणु हतियार बनाउने कुनै योजना नरहेको कुरा निरन्तर दोहोर्‍याउँदै आएको छ ।

नोभेम्बरमा हुने संसदीय निर्वाचनअघि पेट्रोलको मूल्य घटाउन र स्ट्रेट अफ होर्मुज पुनः खुलाउन राष्ट्रपति ट्रम्पमाथि दबाब बढिरहेको छ । इन्धन मूल्यवृद्धिप्रति मतदाताहरूको असन्तुष्टि बढ्दै जाँदा उनी चुनौतीमा परेका छन् । अर्कोतर्फ, तेहरानसँग कुनै सम्झौता वा सहुलियत गरेमा आफ्नै दलभित्रका इरानविरोधी कठोर धारका नेताहरूको आलोचनासमेत खेप्नुपर्ने जोखिम छ ।

अमेरिका र इरानबीच प्रतिबन्ध हटाउने तथा विदेशी बैंकहरूमा रोक्का गरिएका इरानका अर्बौं डलर बराबरका तेल आम्दानी फुकुवा गर्ने विषयमा पनि अझै सहमति हुन सकेको छैन । यसका साथै इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाह विरुद्ध इजरायलले लेबनानमा जारी राखेको युद्ध पनि ठुलो अवरोध बनेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार हिज्बुल्लाहविरुद्धको लडाइँमा आफ्ना सैनिकहरूलाई लेबनानभित्र अझ अगाडि बढ्न आदेश दिएको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लेबनानका राष्ट्रपति जोसेफ औन तथा नेतान्याहूसँग इजरायल–लेबनानबीचको कूटनीतिक वार्ताबारे छलफल गरेका छन् । एक अमेरिकी अधिकारीका अनुसार उनले क्रमिक रूपमा तनाव घटाउने योजना पनि प्रस्ताव गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप