प्रिमियर लिगका लेजेन्ड मिल्नरद्वारा ४० वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा
सारांश
- इङ्गल्यान्डका पूर्वमिडफिल्डर जेम्स मिल्नरले २४ वर्ष लामो व्यावसायिक प्रिमियर लिग खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्।
- उनले प्रिमियर लिगमा ६ वटा फरक-फरक टोलीबाट खेलेका थिए र गत फेब्रुअरीमा सर्वाधिक खेल खेल्ने कीर्तिमान तोडेका थिए।
- मिल्नरले लिड्स युनाइटेडबाट करियर सुरु गरी म्यानचेस्टर सिटीबाट दुई र लिभरपुलबाट एक पटक प्रिमियर लिग उपाधि जितेका थिए।
लन्डन। इङ्गल्यान्डका पूर्वमिडफिल्डर जेम्स मिल्नरले २४ वर्ष लामो व्यावसायिक प्रिमियर लिग खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्।
मैदानमा विभिन्न भूमिकामा खेल्न सक्ने भर्सटायल विशेषता बोकेका ४० वर्षीय मिल्नर पछिल्लो तीन सिजन ब्राइटनमा बिताएपछि सम्झौता विहीन अवस्थामा थिए।
मिल्नरले इङ्गल्यान्डको शीर्ष डिभिजन प्रिमियर लिगमा ६ वटा फरक-फरक टोलीबाट व्यावसायिक फुटबल खेलेका थिए। उनले गत फेब्रुअरी महिनामा प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीको कीर्तिमान समेत तोडेका थिए।
लिड्स युनाइटेडबाट आफ्नो व्यावसायिक खेल जीवनको सुरुवात गरेका उनले आफ्नो करियरमा तीन पटक प्रिमियर लिगको उपाधि जित्न सफल भए। उनले म्यानचेस्टर सिटीबाट दुई र लिभरपुलबाट एक पटक प्रिमियर लिग जितेका थिए भने सन् २०१९ मा लिभरपुललाई प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
सन् २००९ मा एस्टन भिल्लामा रहँदा इङ्गल्यान्डको राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मिल्नरले देशका लागि ६१ क्याप जित्दै अन्तर्राष्ट्रिय करियरको अन्त्य गरेका थिए। सन्न्यासको घोषणा गर्दै मिल्नरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले रेलिगेसनबाट बच्नका लागि लड्नेदेखि लिएर ट्रफीहरू जित्ने, युरोपमा खेल्ने र दुई वटा युरोपियन च्याम्पियनसिप तथा दुई वटा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्नेसम्मका केही अविस्मरणीय क्षणहरू अनुभव गर्ने सौभाग्य पाएँ।’
उनले अगाडि थपेका छन्, ‘तर यी सबै कुराहरू भन्दा पनि यस खेलको यात्रामा मैले बनाएका मानिसहरू र मित्रतालाई म सधैँ सम्हालिरहनेछु।’
मिल्नरले सन् २००२ को नोभेम्बरमा मात्र १६ वर्षको उमेरमा लिड्सका लागि डेब्यु गरेका थिए। त्यस समयमा उनी प्रिमियर लिग खेल्ने दोस्रो कान्छा खेलाडी बनेका थिए।
त्यसको अर्को महिना उनी प्रिमियर लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। हाल उनी म्याक्स डोम्यान र जेम्स भनपछि सो सूचीको तेस्रो स्थानमा छन्।
चोटका कारण सन् २०२४-२५ को अधिकांश सिजन गुमाएका मिल्नरले सन् २०२५-२६ को सिजनमा भने सबै प्रतियोगिताहरू गरी २२ खेल खेले। उनले ब्राइटनको सिजनको अन्तिम खेल खेल्दै प्रिमियर लिगमा ६ सय ५८ औँ तथा आफ्नो करियरको अन्तिम खेल पूरा गरे।
लिड्सको पहिलो टोलीमा दुई वर्ष बिताएपछि सन् २००४ मा उनको बाल्यकालको क्लब च्याम्पियनसिपमा रेलिगेट भएपछि मिल्नर न्यूक्यासल युनाइटेडमा आबद्ध भएका थिए। त्यसपछि उनी सन् २००८ मा एस्टन भिल्ला र सन् २०१० मा म्यानचेस्टर सिटीमा सामेल भए।
उनले सिटीलाई सन् २०१२ र २०१४ मा इतिहासकै पहिलो दुई प्रिमियर लिग उपाधि दिलाउन सहयोग गरे। सन् २०१५ मा लिभरपुल प्रस्थान गरेका उनले एनफिल्डमा आठ सिजन बिताउँदै ३ सय ३२ खेलमा २६ गोल गरे। सन् २०२० मा उनले लिभरपुललाई सन् १९९० पछिको पहिलो लिग उपाधि दिलाउन सघाएका थिए। उनले लिभरपुल र सिटी दुवै क्लबबाट एफए कप र लिग कपको उपाधि समेत उचालेका थिए।
आफ्नो खेल यात्राको बिदाइमा मिल्नरले भनेका छन्, ‘म सङ्घर्ष, ठुलो गर्व, कृतज्ञता र जीवनभर सम्झनाहरूका साथ यो खेलबाट बिदा लिँदैछु।‘’ उनले फुटबलले आफूलाई कल्पना गरेभन्दा धेरै कुरा दिएको भन्दै यस यात्राको हिस्सा बन्ने सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना
-
फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?
-
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण