बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले सांसद बराल भन्छन्– बालेनले भुलसुधार नगरेसम्म कार्यव्यवस्था परामर्श बैठकमा जानुको अर्थ छैन

मङ्गलबार, १९ जेठ २०८३, १२ : २७
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्री बालेन्द्र शाहले 'नेपालले भारतको भूमि मिचेको छ' भन्ने अभिव्यक्ति सच्याएर संसदको रेकर्डबाट नहटाएसम्म कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी सहभागी हुनुको अर्थ नभएको बताएका छन् ।
  • सभामुख डीपी अर्यालले संसदको अवरोध हटाउन बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरु सहभागी नभएकोमा गुनासो गरेका थिए ।
  • सांसद बरालले प्रधानमन्त्री बालेनले संसदमा आएर गल्ती स्वीकार नगरेसम्म वा मिचिएको विवरण पेस नगरेसम्म कार्यव्यवस्थामा छलफलको विषय नहुने बताए ।

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले ‘नेपालले भारतको भूमि मिचेको छ’ भनेर दिएको अभिव्यक्तिप्रति भुलसुधार नगरेसम्म र संसदको रेकर्डबाट अभिव्यक्ति नहटाएसम्म कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी सहभागी हुनुको अर्थ नभएको बताएका छन् ।

सभामुख डीपी अर्यालले सोमबार संसदको अवरोध हटाउने विषयमा छलफल गर्न राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरु नआएर ‘असहयोग’ गरेको गुनासो गरेका थिए । 

सदनको अवरोध हटाउन सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा किन नजानुभएको भनेर रातोपाटीले सांसद बराललाई प्रश्न गर्दा उनले भने, ‘जबसम्म प्रधानमन्त्री बालेनले संसदमा आएर भुल स्वीकार गर्दैनन् वा मिचिएको विवरण पेस गर्दैनन् तबसम्म कार्यव्यवस्थामा छलफलको विषय नै छैन ।’

सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आफूले सांसदका गतिरोधबारे छलफल गर्न दलहरूलाई बोलाएको, तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको बताएका थिए । मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि विपक्षीहरूले अवरोध कायमै राख्ने जनाएका छन् । 

कांग्रेस सांसद उर्मिला थपलियाले सोमबारको कार्यव्यवस्था समितिको बैठक विपक्षीले बहिस्कार गरेको बताइन् । आइतबार प्रतिनिधि सभाको बैठकले नयाँ नियमावली स्वीकृत गरेपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः निष्क्रिय बनिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप