आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘राष्ट्रियताभन्दा ठुलो बजेट होइन’

प्रधानमन्त्रीले संसद्‍मा आएर माफी माग्नुपर्छ : हर्कराज राई
मङ्गलबार, १९ जेठ २०८३, १७ : ०१
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा माफी माग्नुपर्ने बताएका छन्।
  • राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता र सुरक्षामाथि खतरा हुने बताए।
  • उनले प्रधानमन्त्रीले संसद्मा माफी नमागेसम्म अरू विषयमा छलफल हुन नदिने अडान लिएका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा आएर माफी माग्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकोले माफी माग्नुपर्ने बताएका हुन्। 

प्रधानमन्त्रीले भारतलाई रिझाउने हिसाबले त्यस्तो बोलेको हो कि भन्ने शङ्का उत्पन्न भएको उनले बताए। प्रधानमन्त्री साहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता र सुरक्षामाथि नै खतरा हुने देखिएको उनको भनाइ छ। 

प्रधानमन्त्रीले नेपालले भारतको कहाँ र कति भूमि मिचेको हो भन्ने कुरा स्पष्ट रूपमा जानकारी दिनुपर्ने उनले बताए। अध्यक्ष राईले भने, ‘उहाँले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न। उहाँले जे बोल्नु भएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथि नै खतरा हुने देखिन्छ। त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरू रोकिए, भन्ने कुराहरू आइरहेको छ।’

उनले थपे, ‘उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ। प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र? त्यसरी चिप्लिन पाइन्छ र भन्ने कुरा हो। अर्को कुरा मलाई अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आइतबार बिदाको दिन संसद् राख्नुभएछ, उहाँ बोल्नुभएछ। सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो कि? त्यो पनि हुनसक्छ।’

प्रधानमन्त्री साहले संसद्मा आएर माफी नमागेसम्म संसद्मा अरू विषयमा छलफल हुन नदिने उनले स्पष्ट पारे। राष्ट्रियता भन्दा ठुलो बजेटको छलफल नभएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको जवाफ र माफीलाई नै मुख्य अडान बनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप