शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राज्य संयन्त्रलाई संयमित रहन केपी शर्मा ओलीको चेतावनी

बुधबार, २० जेठ २०८३, १३ : ५५
बुधबार, २० जेठ २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिएका छन् ।
  • उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू ढलेको उदाहरण दिँदै वर्तमान 'अराजक तन्त्र' लामो समय नटिक्ने दाबी गरे ।
  • ओलीले भदौ २३ र २४ गतेका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूलाई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको आरोप लगाए ।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई उत्ताउलिएर अगाडि नबढ्न सचेत गराएका हुन् ।

नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ‘अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे । अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु— समय र परिस्थिति सधैँ एउटै रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला। सधैँ एउटै परिस्थिति रहँदैन । राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए । यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजकतन्त्र लामो समय चल्न सक्दैन । मैले अघि नै भनेको थिएँ, भदौ २३–२४ मा भएका उपद्रवकारी क्रियाकलाप, आगजनीजस्ता राष्ट्रव्यापी घटनाहरू, राष्ट्रको सम्पत्ति जलाउनेजस्ता अपराधलाई केही नभएको जस्तो गरी सर्लक्क पचाउने प्रयास भएको छ। यो सानोतिनो कुरा होइन ।’ राष्ट्रको सम्पत्ति जलाउने जस्तो गम्भीर अपराधलाई पचाउने प्रयास भइरहेको भन्दै उनले यसलाई सानोतिनो विषय नमानी गम्भीरतापूर्वक लिन आग्रह गरे ।

अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरे । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।

उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे । ओलीका अनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको भन्दै उनले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे ।

आफ्नो भनाइलाई स्पष्ट पार्दै उनले थपे, ‘गत भाद्र २३ र २४ गतेको घटनालाई कसैले आन्दोलन भन्छन्, कसैले क्रान्ति । गर्नेहरूले त क्रान्ति भन्ने नै भए । युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई पनि उनीहरूले क्रान्ति भन्ने नै भए । आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने, काँक्रो खाइसकेपछि बियाँ अर्काको गालामा टाँसेर आरोप लगाउने काम उनीहरूले त गर्ने नै भए । तर त्यो एउटा षड्यन्त्रपूर्ण, पूर्वनियोजित घटना थियो । यो मेरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा भाद्र २३ र २४ गतेको घटना पूर्वनियोजित, पहिल्यै षड्यन्त्र गरिएको तथा प्रायोजित घटना थियो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो यथार्थ हो । त्यो षड्यन्त्र हाम्रा विरुद्ध त थियो नै । हामी संवैधानिक र लोकतान्त्रिक हिसावले बलियो अवस्थामा थियौँ । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौँ र त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक, कानूनी तथा संसदीय बाटोबाट अनेक पटक ढाल्ने र ध्वस्त पार्ने प्रयास गरियो । तर त्यो सम्भव भएन ।’ 

उनले थपे, ‘सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट सरकारलाई विस्थापन गर्ने षड्यन्त्र भयो । त्यसका निम्ति पहिलेदेखि नै तालिमहरू सञ्चालन गरिए। आगो कसरी लगाउने, अत्यंत प्रज्वलनशील वस्तुहरू कसरी बनाउने, पेट्रोल बम कसरी तयार गर्ने, प्रज्वलनशील पदार्थलाई अझ बढी प्रज्वलनशील तथा उच्च तापक्रममा बल्ने कसरी बनाउने, छिटो आगो लाग्ने विधि कसरी अपनाउने भन्ने जस्ता विषयमा प्रशिक्षण दिइयो । राष्ट्रव्यापी रूपमा आगलागीका घटना कसरी गराउने भन्ने योजना बनाइयो । गुगलको माध्यमबाट कुन–कुन नेताका घर कहाँ छन् भन्ने जानकारी सङ्कलन गरियो । संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत त सबैलाई देखिएकै थिए । विभिन्न व्यापारिक प्रतिष्ठान तथा उद्योगधन्दा पनि देखिएकै थिए । तर नेताहरूका घर, निवास र सम्पत्तिहरू गल्ली तथा बस्तीभित्र हुने भएकाले तिनीहरूलाई गुगलमार्फत पहिचान गरी जानकारी वितरण गरिएको थियो । यो कुरा आकस्मिक रूपमा त्यतिबेला भएको होइन । यो अघिल्ला दिनहरूदेखि नै भइरहेको थियो । भाद्र २३ र २४ गतेको घटना त्यतिबेलाकै उपज मात्र पनि थिएन। यसका लागि लोकप्रिय नेताहरूलाई अलोकप्रिय कसरी बनाउने, उनीहरूका विरुद्ध झुट्टा आरोप कसरी लगाउने, बनावटी आरोपहरू सिर्जना गरेर जनमत प्रभावित कसरी पार्ने भन्ने योजनाहरू पनि बनाइएका थिए ।’

आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे । अध्यक्ष ओलीको यो भनाइले वर्तमान शासन शैली र सुरक्षा अवस्थाप्रति उनको कडा असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप