राष्ट्रिय सभामा कांग्रेसको आपत्ति, ‘नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षलाई भित्र्याउनु चिन्ताजनक’
सारांश
- कांग्रेस सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् ।
- थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल बनाएको र कूटनीतिमा असर पार्ने चेतावनी दिए ।
- उनले सीमा विवादमा तेस्रो पक्षलाई जोड्ने प्रयास चिन्ताजनक भएको र प्रमाण नभए प्रधानमन्त्रीले क्षमायाचना गर्नुपर्ने माग गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल बनाएको आरोप लगाएका हुन् ।
सांसद थापाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका अन्य राष्ट्रहरूसँगको नेपालको कूटनीतिमा समेत गम्भीर असर पार्ने चेतावनी दिए । नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धसँग जोडिएका विषयमा सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्यमा आधारित, स्पष्ट र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद् र जनतासमक्ष तत्काल सार्वजनिक गर्न आग्रह गर्दै उनले त्यसो नभए राष्ट्रसमक्ष क्षमायाचना गर्नुपर्ने माग गरे । राष्ट्रिय हितसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि नरहेको उनको भनाइ छ ।
बैठकमा बोल्दै सांसद थापाले भने, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रियहित र छिमेकी राष्ट्रसँगको संवेदनशील विषयसँग जोडिएको अभिव्यक्ति अत्यन्तै जिम्मेवार, स्पष्ट र यथार्थमा आधारित हुनुपर्छ । यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद् र नेपाली जनतासमक्ष प्रस्तुत गर्नुपर्छ । यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग क्षमायाचना गर्नुपर्छ । राष्ट्रियहितसँग जोडिएको विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि छैन । त्यसभन्दा पनि चिन्ताको विषय के हो भने नेपाल भारतबिचको द्विपक्षीय प्रकृतिबिचको सीमा र भूराजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारण जोड्ने प्रयास भएको देखिन्छ, नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रियहित सँग सम्बन्धित विषयहरू नेपाल र भारतबिचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्छ । यस्तो संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउनु नेपालको हितमा छैन ।’
प्रधानमन्त्री साहले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादका विषयमा इङ्गल्यान्ड (यूके) सँग पनि छलफल भइरहेको अभिव्यक्ति दिएका थिए । सांसद थापाले नेपाल–भारत सीमा तथा भू–राजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारणा जोड्ने प्रयास चिन्ताजनक भएको उल्लेख गरे । नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू नेपाल र भारतबिचको द्विपक्षीय संवाद तथा स्थापित कूटनीतिक संयन्त्रमार्फत नै समाधान हुनुपर्ने उनको जिकिर छ । यस्ता संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउँदा नेपाल-भारत सम्बन्धमा अविश्वास र तनाव उत्पन्न हुन सक्ने र कूटनीतिक टकराबबाट नेपाललाई कुनै लाभ नहुने उनले स्पष्ट पारे ।
सांसद थापाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणले झन् धेरै प्रश्नहरू खडा गरेको टिप्पणी गरे । मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सुस्ता क्षेत्रको ‘क्रस होल्डिङ’ तथा सीमा सम्बन्धी जटिल अवस्थासँग सम्बन्धित रहेको स्पष्टीकरण दिएको थियो ।
यस विषयमा बोल्दै थापाले ‘क्रस बोर्डर अकुपेसन’ वा ‘क्रस होल्डिङ’ लाई एउटा राष्ट्रले अर्को राष्ट्रको भूमि अतिक्रमण गरेको भन्न नमिल्ने प्रष्ट पारे । प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण संसद् अवरोध भइरहेको उल्लेख गर्दै उनले संसद् सुचारु गराउन जिम्मेवार भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण