तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
सारांश
- तिलगंगा क्षेत्रका बासिन्दाले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरूमाथि अन्याय भएको भन्दै विरोध जनाइरहेका छन् ।
- स्थानीयवासीका अनुसार उनीहरूसँग लालपूर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र र कर तिरेको प्रमाण सुरक्षित छ, तर पनि उनीहरूलाई सुकुमबासी भनिएको छ ।
- कानुनी दस्ताबेज हुँदाहुँदै पनि थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले यसलाई मानव अधिकार र सम्पत्तिको अधिकारको उल्लङ्घन भनेका छन् ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरूमाथि अन्याय भएको भन्दै तिलगंगा क्षेत्रका बासिन्दाले विरोध जनाइरहेका छन् ।
गत वैशाख १८ र १९ गते सरकारले सुकुमबासीझैँ गरेर अधिकार हनन गरेको आरोप लगाउँदै केही समय यता प्रदर्शन जारी राखेका हुन् ।
स्थानीयवासी सुदर्शन गौतमले कोषको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू सुकुमबासी नभई वैधानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्पष्ट पारेका छन् ।
गौतमकाअनुसार तिलगंगा क्षेत्रमा बसोबास गरिरहेका परिवारहरूसँग लालपूर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र र राज्यलाई कर बुझाएको प्रमाण सुरक्षित छ ।
वि.सं. २०५३ सालमा पशुपति क्षेत्र विकास गुरुयोजना लागू भएदेखि नै यो विवाद सुरु भएको र सोही समयदेखि स्थानीयको घरजग्गा रोक्का गरी बेचबिखनमा बन्देज लगाइएको उनले जानकारी दिए ।
सामाजिक सञ्जाल र स्थानीय स्तरमा समेत आफूहरूलाई अमर्यादित शब्दले सम्बोधन गरिएको भन्दै उनले चित्त दुखाए । कानुनी दस्ताबेज हातमा हुँदाहुँदै पनि आफ्नै थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसलाई मानव अधिकार र सम्पत्तिको अधिकारको ठाडो उल्लङ्घनको संज्ञा दिए ।
उनले भने,‘हामी पीडित हौँ । पशुपति क्षेत्र विकास कोषबाट पीडित बनाइएका हौँ, पीडक होइनौँ । यो बस्ती सुकुमबासी बस्ती होइन । हामी लालपूर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा अन्य आवश्यक कागजातका आधारमा कर तिरेर बसेका हौँ । यो विवाद २०५३ सालमा पशुपति क्षेत्र विकास गुरुयोजना लागू भएपछि सुरु भएको हो । हाम्रो बस्ती रोक्का गरियो, बेचबिखन गर्न नमिल्ने बनाइयो । हाम्रा माग पूरा नभए हामी अन्यायविरुद्ध अझ कडा रूपमा उभिन बाध्य हुनेछौँ। त्यतिबेला जे पनि हुन सक्छ, किनभने हामीसँग न गाँस छ, न बास छ । सरकारले हाम्रो सम्पत्तिको अधिकार हनन गर्यो, मानव अधिकार पनि हनन गर्यो ।’
स्थानीयले गुरुयोजनाको कार्यान्वयन र पुनर्स्थापनाको विषयमा समेत प्रश्न उठाएका छन्। आफ्ना मागहरू सम्बोधन नभए र अन्यायपूर्ण व्यवहार नरोकिए आगामी दिनमा सशक्त रूपमा विरोधमा उत्रने चेतावनी समेत उनीहरूले दिएका छन्।
राज्यका जिम्मेवार निकायले वास्तविकता नबुझी पीडितलाई नै दोषी देखाउन खोजेको उनीहरूको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण