सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?

सोमबार, २५ जेठ २०८३, १६ : ४४
सोमबार, २५ जेठ २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको अभिव्यक्ति र आर्थिक विधेयकमा कर हेरफेरको विषयमा संसदीय छानबिनको माग गरेको छ।
  • एमालेकी उपनेता पद्मा अर्यालले संसद्मा पेस भएको विधेयक मन्त्रालयमा लगेर करका दर हेरफेर गरिनुलाई 'आर्थिक अपराध' र 'नियतगत भ्रष्टाचार' को संज्ञा दिएकी छन्।
  • उनले चिनियाँ विद्युतीय सवारी साधन 'बीवाईडी' को कर हेरफेरमा चरम घोटाला भएको दाबी गर्दै सत्यतथ्य निरूपणका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेकी छन्।

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र आर्थिक विधेयकमा गरिएको करका दर हेरफेरको विषयलाई लिएर संसदीय छानबिनको माग गरेको छ। 

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याएको र बजेट निर्माणमा गम्भीर आर्थिक अपराध भएको भन्दै उच्चस्तरीय छानबिनको आवश्यकता औँल्याएकी हुन्।

सत्तापक्ष र प्रतिपक्षबिच सदन सुचारु गर्ने विषयमा संवाद जारी रहे पनि एमालेले आफ्ना मागहरूमा अडान कायम राखेको छ। उपनेता अर्यालले आर्थिक विधेयक संसद्मा पेस भइसकेपछि पुनः मन्त्रालयमा लगेर करका दर र अङ्कहरू हेरफेर गरिनुलाई ‘आर्थिक अपराध’ को संज्ञा दिएकी छन्। 

संसद्को क्षेत्राधिकारभित्र रहेको विधेयकमा अनाधिकृत रूपमा परिवर्तन गरिनु आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन भएको उनको तर्क छ। विशेष गरी चिनियाँ विद्युतीय सवारी साधन ‘बीवाईडी’ को कर हेरफेरमा चरम घोटाला भएको दाबी गर्दै उनले यसलाई नीतिगत नभई ‘नियतगत भ्रष्टाचार’ भएको टिप्पणी गरिन्। विगतमा आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश र कर हेरफेरको विवादमा संसदीय विशेष समिति बनेको नजिर स्मरण गराउँदै अर्यालले यसपटक पनि सत्यतथ्य निरूपणका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेकी छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उपनेता अर्यालले भनिन्, ‘संसद्मा एउटा अङ्क पास गर्ने र मन्त्रालयमा पुर्‍याएर अर्को अङ्क राख्ने कार्य कसको स्वार्थका लागि गरियो ? यसबाट लाभान्वित हुने निश्चित समूह र व्यक्तिहरू को हुन् ? यसको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ।’

उपनेता अर्यालका अनुसार प्रधानमन्त्री बालेन्द्र साहले कूटनीतिक मर्यादा विपरीत र राष्ट्रिय सार्वभौमिकतामा खलल पुग्ने गरी दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका सम्बन्धमा संसद्मा स्पष्ट जवाफ नआएसम्म विरोध जारी रहनेछ। हाल सत्तापक्ष र प्रतिपक्षबीच निकासका लागि विभिन्न विकल्पमा छलफल भइरहे पनि एमालेले राष्ट्रिय हित र आर्थिक पारदर्शिताको मुद्दामा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप