देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
सारांश
- शेरबहादुर देउवा र आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि हङकङमा केही समय बस्ने भएका छन् ।
- सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
- नेपाल फर्किएपछि देउवा दम्पती कहाँ बस्ने भन्ने टुंगो नभएकाले ललितपुरतिर घर खोजी भइरहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा नेपाल फर्कन अझै केही समय लाग्ने भएको छ । निकटस्थ स्रोतका अनुसार देउवा दम्पती जुन ५ तारेखमा नेपाल फर्कने तयारीमा थिए, तर डाक्टरले दिएको सुझावका कारण केही समय हङकङमै बस्ने निधो गरेको पारिवारिक स्रोतले जनाएको छ ।
फागुन १३ गते देउवा नेपालबाट सिङ्गापुर गएका थिए । पत्नी डा. आरजु भने त्योभन्दा केही समय अगाडि नेपालबाट भारत गएकी थिइन् । भारतबाटै सिङ्गापुर पुगेर दम्पती चैत ७ गते हङकङ प्रस्थान गरेका थिए । त्यो भन्दा अगाडि देउवा दम्पती कात्तिक १० गते सिङ्गापुर गएर १८ दिनमा नेपाल फर्किएका थिए ।
जेनजी आन्दोलनका बेलामा बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा दम्पती मरणासन्न हुनेगरी आन्दोलनकारीबाट कुटिएका थिए । त्यसपछि लामो समय सैनिक अस्पताल छाउनीमा उपचार गरेका देउवा दम्पती थप उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुगेका हुन् ।
_bJX5BBK5s4.jpg)
देउवा दम्पती हङकङमै रहेका बेलामा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
तर, सम्पत्ति शुद्धीकरण हेर्नका लागि तोकिएको ‘विशेष अदालत’ हँदाहुँदै कानुनविपरीत जिल्ला अदातलबाट पक्राउ पुर्जी लिएको भन्दै देउवा दम्पती बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा पुगे । विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ नगर्नू, नगराउनू भनी जेठ ११ गते अन्तरिम आदेश जारी गर्यो । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
गत वैशाख १८ गते जारी अध्यादेश अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्ने व्यवस्था छ, तर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएकाले कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
देउवालाई भेट्न अहिले कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला हङकङमै पुगेका छन् । उनी त्यहाँ पुगेको करिब एक साता भएको स्रोतले जानकारी दियो ।
पार्टीको वर्तमान अवस्थाबारे देउवाले पछिल्लो समय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग कुराकानी गर्ने गरेको पनि स्रोतहरू दाबी गर्छन् ।
कांग्रेसमा देउवा र तत्कालीन केन्द्रीय समितिको असहमतिबिच पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि विवाद छ । त्यो विवाद अझै टुङ्गोमा पुगेको छैन ।
- देउवा दम्पती बस्ने घरको खोजी हुँदै
देउवाको बुढानीलकण्ठस्थित निवास जेनजी आनदोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट ध्वस्त भएको छ । ध्वस्त भएको घर पनि अहिले भत्काइएको छ । त्यसपछि देउवा दम्पती महाराजगञ्जस्थित विकास गौतमको घरमा बसिरहेका थिए । सिङ्गापुर जाँदा उनीहरूले उक्त घर गौतमलाई नै बुझाएर गएका थिए ।
अब हङकङबाट फर्किएपछि देउवा दम्पती कहाँ बस्ने टुङ्गो छैन । परिवारका सदस्यहरूले देउवाका लागि बसोबास गर्ने घर खोजी गरिरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार देउवाका लागि ललितपुरतिर घर खोजी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण