सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
सारांश
- खेतीको मुख्य सिजनमा किसानहरू रासायनिक मलको अभाव झेल्न बाध्य छन्, जबकि सरकारी तथ्याङ्कले गोदाममा पर्याप्त मल मौज्दात देखाएको छ।
- सरकारी तथ्याङ्क अनुसार ८० हजार ९ सय मेट्रिक टन युरिया मल गोदाममा मौज्दात छ र ४ सय ८८ मेट्रिक टन आउने क्रममा छ।
- यस्तै, ४० हजार ७ सय ६० मेट्रिक टन डीएपी र १९ हजार १८० मेट्रिक टन पोटास मल गोदाममा मौज्दात रहेको छ।
काठमाडौँ । नेपालमा खेतीपातीको मुख्य सिजन सुरु भएसँगै देशभरका किसानहरू रासायनिक मलको अभाव झेल्न बाध्य छन्। एकातिर मल नपाएको झोँकमा प्रतिनिधि सभादेखि स्थानीय सहकारीसम्म विवाद र आक्रोश चुलिएको छ भने अर्कोतिर सरकारको आधिकारिक तथ्याङ्कले भने गोदाममा पर्याप्त मल मौज्दात रहेको देखाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा मल मौज्दात देखिए पनि किसानको खेतसम्म मल पुग्न नसकेको स्थिति छ।
युरिया मल: ८० हजार टन गोदाममा, ४८८ टन आउने क्रममा
मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ १८ गतेसम्म कुल ३ लाख २९ हजार ६ सय ८९ मेट्रिक टन युरिया मल आपूर्ति भएको थियो । त्यसमध्ये २ लाख ७५ हजार ९ सय ९३ मेट्रिक टन मल बिक्री भइसकेको छ ।
आपूर्ति गरिएको कुल युरियामध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २ लाख ६२ हजार ७ सय ९३ र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ६६ हजार ८ सय ९६ मेट्रिक टन व्यवस्थापन गरेका थिए । हाल सरकारी गोदामहरूमा ८० हजार ९ सय मेट्रिक टन युरिया मल सुरक्षित रहेको र थप ४ सय ८८ मेट्रिक टन युरिया बाटोमै रहेको मन्त्रालयले जनाएको छ ।
डीएपी र पोटासको अवस्था
यस्तै, धान खेतीका लागि महत्त्वपूर्ण मानिने डीएपी मलको आपूर्ति २ लाख ८ सय ३२ मेट्रिक टन भएकोमा १ लाख ७४ हजार मेट्रिक टन बिक्री भइसकेको छ ।
हाल देशभरका सरकारी गोदाममा ४० हजार ७ सय ६० मेट्रिक टन डीएपी मौज्दात छ । कृषि सामग्री कम्पनीले १ लाख ११ हजार ९ सय २१ र साल्ट ट्रेडिङ्गले ६२ हजार ८१ मेट्रिक टन डीएपी वितरण गरेका छन् । थप २ हजार ८ सय ४६ मेट्रिक टन डीएपी मल अहिले आयातको क्रममा रहेको छ।
पोटासको हकमा भने माग र आपूर्ति सन्तुलित देखिएको मन्त्रालयले जनाएको छ । यस वर्ष २७ हजार २ सय ६८ मेट्रिक टन पोटास आपूर्ति भएकोमा १५ हजार ३ सय २३ मेट्रिक टन बिक्री भएको छ ।
हाल गोदाममा १९ हजार १८० मेट्रिक टन पोटास मौज्दात रहेको र यसले तत्कालको माग धान्ने सरकारी अनुमान रहेको जनाएको छ।
५ लाख टन मल खरिद
सरकारले आर्थिक वर्ष २०८२/८३ का ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्य राख्दै २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये अहिलेसम्म नै ४ लाख ९१ हजार ३ सय मेट्रिक टन मलका लागि टेण्डर प्रक्रिया गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण