बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

सभामुखको ‘मानवीय त्रुटि’ : संसद्‌को रेकर्डबाट कसरी सच्याउने ?

सभामुखले राष्ट्रपतिलाई ‘प्रधानमन्त्री’ भनेको रेकर्ड संसद्‌बाट यसरी हटाउन मिल्छ (अडियोसहित)
बिहीबार, २८ जेठ २०८३, १३ : ४२
बिहीबार, २८ जेठ २०८३

सारांश

  • सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई 'प्रधानमन्त्री' भनी सम्बोधन गर्दा सामाजिक सञ्जालमा भिडियो भाइरल बनेको छ ।
  • सभामुखबाट भएको यस मानवीय त्रुटिलाई सच्याउने प्रक्रियाबारे राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलसँग रातोपाटीले कुराकानी गरेको छ ।
  • सभामुखले स्वयंले अर्को बैठकमा गल्ती सच्याउनुपर्ने र सचिवालयका कर्मचारीले तत्कालै सचेत गराउनुपर्ने फुयाँलले बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने क्रममा सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’ भनी सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको मन्त्रिपरिषद् गठन र कार्य विभाजनसम्बन्धी पत्र पढ्ने क्रममा सभामुखबाट मानवीय त्रुटि भएको थियो । सदनमा ‘सम्माननीय राष्ट्रपति’ भन्नुपर्ने ठाउँमा अर्यालले ‘सम्माननीय प्रधानमन्त्री’ उच्चारण गरेका थिए । 

संसद्‌मा सांसद, प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्ति हटाउन सांसदहरूले आवाज उठाउन सक्ने भए पनि सभामुखको हकमा त्यस्तो व्यवस्था छैन । यस्तो अवस्थामा सभामुखबाट हुन पुगेको त्रुटि कसरी सच्याउन सकिन्छ ? या सच्चिँदैन ? यस्तो अवस्थामा अपनाउने प्रक्रियाका बारेमा राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलसँग रातोपाटीले गरेको कुराकानी :

  • बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्ने क्रममा सभामुखले ‘राष्ट्रपति’ शब्द प्रयोग गर्नुपर्ने ठाउँमा ‘प्रधानमन्त्री’ भनेर सम्बोधन गर्नुभयो, यो कस्तो किसिमको त्रुटि हो ?

संसद्‌मा यस्तो त्रुटि नहुनुपर्ने हो । तर, मानवीय हिसाबले कहिलेकाहीँ त्यस्तो त्रुटि पनि हुन पुग्छ । त्यसरी त्रुटि भए पनि सच्याउनुपर्छ । त्यस कामका लागि सभामुख वा सभाध्यक्षको सहयोगीका रूपमा संसद् सचिवालयका कर्मचारीहरू, त्यसमा पनि वरिष्ठ अधिकारीहरू दायाँबायाँ बस्ने गर्छन् ।

  • तर, हिजो हुन पुगेको त्रुटि सच्याएको देखिएन, कर्मचारी वा सभामुखले थाहा नै नपाएको जस्तो देखियो नि ?

सभामुखको दायाँबायाँ बस्नुको अर्थ नै त्यहाँ हुने प्रक्रिया वा बोलीमा आउन सक्ने कुनै पनि त्रुटि वा समस्या समाधानका लागि हो । किनभने त्यस्तो अवस्थामा तत्क्षण उहाँहरूले तदारुकता देखाउन सक्नुपर्छ । समस्या पहिचान गरेर त्रुटि सच्याउनलाई सभामुखसमक्ष लिखित रूपमा साथ दिनुपर्ने कर्मचारीहरूको कर्तव्य पनि हो । त्यसकारण त्यसबेला नै त्यो त्रुटि सच्याउनुपर्थ्यो ।

  • सच्याउने प्रक्रिया के हुन्छ, सभामुखले बोलेको विषय पनि रेकर्डबाट हटाउन मिल्छ ?

सभामुखले बोलेको कुरालाई रेकर्डबाट हटाउनका लागि माग गर्ने अभ्यास हाम्रो संसदीय प्रणालीमा छैन । सभामुखले आचरण अनुकूलको काम नगरेको भन्ने प्रस्तावका विषयमा हुने छलफलमा बाहेक सभामुखले गरेको कुनै कार्यलाई लिएर सदनमा आलोचना गरिँदैन । हिजोको घटना नियतभन्दा पनि उच्चारणमा भूलवश भएको त्रुटि हो । त्यस्तो त्रुटि हाउसको रेकर्डमा रहनुहुँदैन । त्यसैले सचिवालयका कर्मचारीहरूले त्यतिबेलै ‘यहाँ यस्तो भयो’ भनेर लेखेर दिएको वा कुनै तरिकाबाट इसारा वा सङ्केत गरिदिएको भए त्यतिबेलै सच्याउन सकिन्थ्यो ।

  • त्यसमा सभामुख र कर्मचारीहरूको ध्यान पुगेको देखिएन, अब यसलाई सच्याउने बाटो के हुन सक्छ त ?

अब यसको बाटो भनेको अर्को बैठकमा अरू कसैले माग गर्ने होइन कि सभामुख स्वयंले त्यस अभिव्यक्तिलाई सच्याउनु राम्रो हुन्छ ।

यस्तो खालको गल्ती यसअघि राष्ट्रिय सभामा पनि भएको छ । विद्युतीय व्यापारसम्बन्धी विधेयकमाथिको छलफलमा भएको त्यो गल्ती तत्क्षण औँल्याइएको थिएन । त्यसबेला अध्यक्षको दायाँबायाँ बस्ने कर्मचारीको तर्फबाट ‘आज यो विषय होइन, एउटा कार्यसूची भएको ठाउँमा अर्को कार्यसूची प्रवेश भइरहेको छ’ भनेर चेयरलाई सहयोग गर्नुपर्थ्यो । यस्ता सवालमा चेयर स्वयंले पनि ख्याल गर्ने कुरा त छँदै छ । त्यसपछि वक्ता वा सदस्यहरूले ध्यान दिनुपर्ने कुरा पनि हुन्छ । उहाँहरू कसैबाट गल्ती वा कमजोरी भयो भने पनि ‘वाच डग’का रूपमा बसिरहनुभएका साथीहरूले भूमिका निर्वाह गर्नुपर्ने हो तर किन गर्नुभएन भन्ने उहाँहरूले नै बताउने कुरा हो ।

  • सभामुखले पढ्ने पत्रहरू संसद् सचिवालयका कर्मचारीले तयार पार्ने हो वा राष्ट्रपति कार्यालयबाट आएको पत्र हुबहु पढ्ने हो ?

राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रलाई जस्ताको तस्तै पढ्ने हो । प्राप्त पत्रलाई कपी गरेर पढ्ने प्रचलन छ । यद्यपि ‘वर्किङ स्टाइल’ आ–आफ्नै पनि हुन सक्छ । त्यसरी पत्र वाचन गर्दा कहिलेकाहीँ त्रुटि हुन्छ, नहुने होइन । त्यस्तो त्रुटि हुनुलाई मानवीय रूपमा हेर्नुपर्छ । लाइभकास्ट गर्दा पेपरमा सही लेखिएको पदावलीलाई हामीले एउटाको साटो अर्को उच्चारण गर्न पुग्छौँ । अनौपचारिक क्षेत्रमा त यस्तो ठूलो कुरा भएन तर संसद्‌जस्तो औपचारिक फोरम भएको हुनाले त्यस्तो खालको गल्ती हुनुहुँदैन र भइहाले तत्कालै सच्याउनुपर्छ । यदि नसच्याइएको भए अब पनि सच्याउनुपर्छ । त्यो सच्याउने विधि भनेको, सभामुख आफैँले ‘फलानो बैठकमा फलानो पत्र पढेर सुनाउने क्रममा राष्ट्रपतिको नाम अन्यथा उल्लेख भएकाले सच्याइएको छ’ भनेर रेकर्ड सच्याउन आदेश दिन सक्नुपर्छ ।

  • यस्ता खालका घटना यसअघि पनि भएको तपाईंलाई सम्झना छ ?

एकपटक भएको मलाई सम्झना छ । राष्ट्रिय सभामा एकजना मन्त्रीको नामको अगाडि ओहदा प्रयोग गर्ने क्रममा सम्बन्धित मन्त्री डाक्टर हुनुहुन्नथ्यो तर भूलवश ‘डा.’ उच्चारण भएको थियो । तर, त्यसलाई तत्कालै सच्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप