शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

२० वर्षपछि विश्वकपमा फर्किएको चेकियासँग भिड्दै एसियाली महारथी दक्षिण कोरिया

बिहीबार, २८ जेठ २०८३, १७ : ५१
बिहीबार, २८ जेठ २०८३

सारांश

  • दक्षिण कोरियाले फिफा विश्वकप २०२६ को आफ्नो अभियान २० वर्षपछि विश्वकपमा फर्किएको चेकियाविरुद्धको खेलबाट सुरु गर्दैछ।
  • सन ह्युङ-मिन, लि काङ-इन र किम मिन-जे जस्ता खेलाडी सम्मिलित दक्षिण कोरिया समूह 'ए' मा बलियो दाबेदारको रूपमा रहेको छ।
  • चेकोस्लोभाकियाको रूपमा सन् १९३४ र १९६२ मा उपविजेता बनेको चेकिया २० वर्षपछि विश्वकपमा फर्किएको हो।

काठमाडौँ । विश्वकपमा एसियाकै सबैभन्दा सफल टोली दक्षिण कोरियाले आफ्नो २०२६ को अभियान चेकियाविरुद्धको खेलबाट सुरु गर्दैछ।

चेकिया २० वर्षको लामो अनुपस्थितिपछि प्रतियोगितामा फर्किएको हो।

 

सन ह्युङ-मिन, लि काङ-इन र किम मिन-जे जस्ता प्रतिभाशाली खेलाडी सम्मिलित पूर्व सेमिफाइनलिस्ट दक्षिण कोरिया समूह ‘ए’ को यस भिडन्तमा बलियो दाबेदार हो। विश्व वरीयतामा २५औँ स्थानमा रहेको यो टोली सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकासमेत रहेको यस कठिन समूहमा सुखद सुरुवात गर्न चाहन्छ।

तर ४०औँ वरीयताको चेकियालाई पनि कमजोर मान्न सकिँदैन। एडम ह्लोजेक, प्याट्रिक सिक र पाभेल सुल्क जस्ता खेलाडीहरूसँग उनीहरू अप्रत्याशित नतिजा निकाल्न सक्षम छन्।

  • दक्षिण कोरियाको नेतृत्व सनको काँधमा

सधैँझैँ, यसपटक पनि सबैको नजर दक्षिण कोरियाका सुपरस्टार सन ह्युङ-मिनमाथि हुनेछ। उनी हाल लस एन्जलस एफसीबाट क्लब फुटबल खेल्छन्।

south korea

चौथो पटक विश्वकप खेल्न लागेका ३३ वर्षीय पूर्व टोटनह्याम विङ्गरको यो अन्तिम विश्वकप हुन सक्छ। यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन। हालैको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका कप्तानले यस खेलमा पनि गोल गर्नेमा समर्थकहरू आशावादी छन्।

 

सन् २०२२ मा कोरिया अन्तिम १६ मा पुगेको थियो। ह्वाङ ही-चानले पोर्चुगलविरुद्ध इन्जुरी समयमा विजयी गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याएका थिए। उल्भरह्याम्टन वान्डरर्सका यी फरवार्ड आगामी प्रतियोगितामा पनि त्यस्तै प्रदर्शन दोहोर्‍याउन चाहन्छन्।

तेस्रो पटक विश्वकप खेल्न लागेका ह्वाङले भने, ‘यदि मैले फेरि त्यस्तै खेल देखाउन सकेँ भने यो मेरो र हाम्रो टोलीका लागि उत्कृष्ट हुनेछ। म त्यस्तो क्षणको लागि कडा मेहनत गरिरहेको छु। हरेक खेल महत्त्वपूर्ण हुन्छ, तर पहिलो खेल विशेष हुन्छ।’

  • चेकिया : दुई पटकको उपविजेता

चेकोस्लोभाकियाको रूपमा सन् १९३४ र १९६२ मा यो टोली उपविजेता बनेको थियो। तर त्यसयता उनीहरूको प्रदर्शन कमजोर छ। त्यसपछि उनीहरूले जम्मा चार पटक मात्र सहभागिता जनाएका छन्। सन् १९९० मा क्वाटरफाइनलसम्म पुग्नुबाहेक उनीहरू समूह चरणबाटै बाहिरिएका छन्।

czechia-v-denmark-fifa-world-cup-2026-european-qualifiers-ko-play-offs-scaled

यूईएफए छनोट चरणमा पेनाल्टी सुटआउटको रोमाञ्चक जितमार्फत चेकिया २० वर्षपछि विश्वकपमा फर्किएको छ। डिसेम्बर २०२५ मा प्रशिक्षक मिरोस्लाभ कोउबेकको नियुक्तिले उनीहरूको भाग्य बद्लियो। सङ्कटमा परेको अभियानलाई उनीहरूले उत्कृष्ट रूपमा सम्पन्न गरे।

अब दुई दशकपछि फुटबलको सबैभन्दा ठुलो मञ्चमा फर्किँदा चेक टोली नकआउट चरणमा पुग्ने आशामा छ।

स्लाभिया प्रागका ६ फिट ७ इन्च अग्ला स्ट्राइकर टोमास छोरीको उपस्थितिमा प्रशिक्षक कोउबेकको टोलीले दक्षिण कोरियामाथि शारीरिक बलको फाइदा उठाउने प्रयास गर्नेछ। टोलीसँग बायर लिभरकुसनका स्ट्राइकर तथा युरो २०२० का सर्वाधिक गोलकर्ता (संयुक्त) सिक जस्ता आक्रामक हतियार पनि छन्। होफेनहाइमका स्ट्राइकर ह्लोजेक अग्रपङ्क्तिमा अर्को अनुभवी विकल्प हुन्।

प्रशिक्षक कोउबेकले टोलीमा अनुभव र स्थिरता प्रदान गर्न वेस्ट ह्यामका मिडफिल्डर टोमास सोउसेक र ३५ वर्षीय भ्लादिमिर डारिडाको पनि भर पर्नेछन्।

  • विश्वकपको समूह चरण कसरी अघि बढ्छ ?

समूह ‘ए’ मा दक्षिण कोरिया, चेकिया, मेक्सिको र दक्षिण अफ्रिका रहेका छन्। विश्वकपमा पहिलो पटक समावेश गरिएको राउन्ड अफ ३२ मा प्रवेश गर्न १२ वटै समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली छनोट हुनेछन्।

‘हेड-टु-हेड’ तथ्याङ्कमा दुवै टोली बराबरी

दक्षिण कोरिया र चेकिया हालसम्म तीन पटक आमनेसामने भएका छन्। दुवैले एक-एक खेल जितेका छन् भने एउटा खेल बराबरीमा सकिएको छ।

उनीहरूको अन्तिम भेट ठ्याक्कै एक दशकअघि जुन २०१६ मा भएको थियो। प्रागमा भएको उक्त मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले २-१ को जित निकालेको थियो।

पछिल्लो लय

दक्षिण कोरिया: जित-जित-हार-हार-जित

चेकिया: जित-जित-जित-जित-जित

उद्घाटन खेलअघि चेकिया उत्कृष्ट लयमा छ। विश्वकपअघिको मैत्रीपूर्ण खेलमा उनीहरूले कोसोभो र ग्वाटेमालालाई हराएका थिए। त्यसअघि युइएफए छनोटको प्लेअफमा डेनमार्क र आयरल्यान्डलाई पेनाल्टीमा हराउनुका साथै जिब्राल्टरलाई पनि फराकिलो अन्तरले पराजित गरेका थिए।

अर्कोतर्फ, दक्षिण कोरियाको लय भने मिश्रित छ। विश्वकपअघिका मैत्रीपूर्ण खेलहरूमा उनीहरूले एल साल्भाडोर र ट्रिनिडाड एन्ड टोबागोलाई फराकिलो अन्तरले हराएका थिए। त्यसपछि अस्ट्रिया र आइभोरी कोस्टसँग भने टोली पराजित भएको थियो।

टोलीबारे समाचार

प्रशिक्षक कोउबेकलाई खेलाडी छनोट गर्न गाह्रो पर्ने देखिएको छ। ह्लोजेक भर्खरै चोटमुक्त भएको अवस्था छ भने सुल्क र लुकास प्रोभोड पनि टोलीमा छन्। यस्तोमा सिकलाई साथ दिन कुन दुई आक्रमणकारीलाई खेलाउने भन्ने कठिन निर्णय कोउबेकले गर्नुपर्नेछ।

यता दक्षिण कोरियाका प्रशिक्षक होङ म्याङ-बो पनि केही चिन्तामा छन्। टोलीका युवा खेलाडीमध्ये एक विङ्गर बाए जुन-होलाई कुर्कुच्चाको चोटका कारण खेल्न गाह्रो छ। पिँडुलाको समस्या पछि लेफ्ट-ब्याक ली टे-सियोक भने टोलीको प्रशिक्षणमा फर्किएका छन्।

दक्षिण कोरियाको सम्भावित सुरुवाती ११

  • किम सेउङ-ग्यु (गोलकिपर), किम मिन-जे, ली हान-बियोम, ली गि-ह्युक, सियोल योङ-वू, ली टे-सियोक, ह्वाङ इन-बियोम, पाइक सेउङ-हो, ली काङ-इन, ली जे-सुङ, सन ह्युङ-मिन।

चेकियाको सम्भावित सुरुवाती ११

  • मातेज कोभार (गोलकिपर), भ्लादिमिर कुफाल, डेभिड डौडेरा, टोमास होलेस, लाडिस्लाभ क्रेजी, जारोस्लाभ जेलेनी, टोमास सोउसेक, माइकल साडिलेक, एडम ह्लोजेक, पाभेल सुल्क, प्याट्रिक सिक।

कसले के भने?

‘हाम्रो तयारी अब पूरा भएको छ। मैले हाम्रा खेलाडीहरूसँग धेरै कुराकानी गरेको छु। मैले उनीहरूलाई दिन चाहेको हरेक सन्देश उनीहरूले बुझेका छन्। कोरियाले यसअघि कहिल्यै विश्वकपको पहिलो दिनमै खेल्ने मौका पाएको थिएन। हामी विश्वभरको नजरमा हुनेछौँ। हाम्रा खेलाडीहरूले त्यो माहोलमा सहज महसुस गरुन् भन्ने म चाहन्छु।’ 

- होङ म्याङ-बो, दक्षिण कोरियाका प्रशिक्षक

‘हाम्रो टोलीको वातावरण लगातार उत्कृष्ट छ। म यहाँ आएदेखि कुनै पनि समस्या भएको छैन। मैले देखेअनुसार हरेक खेलाडीले राष्ट्रिय टोलीका लागि आफूलाई भनिएभन्दा पनि बढी मिहिनेत गरेका छन्। कहिलेकाहीँ त मैले उनीहरूलाई शान्त गराउनुपरेको थियो। यस प्रतियोगिताको तयारीमा हामीले यति धेरै लगाव राखेका छौँ। म केवल यति चाहन्छु, यो तयारी अब मैदानमा फक्रियोस्।

- सन ह्युङ-मिन, दक्षिण कोरियाका कप्तान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप