शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

हर्कराज राईको प्रश्न– नेपाली सेना सिमानामा जान के अप्ठ्यारो छ ?

शुक्रबार, २९ जेठ २०८३, १२ : १२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • सांसद हर्कराज राईले सीमा रक्षाका लागि नेपाली सेना परिचालन नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
  • उनले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बलले नेपाली नागरिकहरूलाई हप्कीदप्की गर्ने गरेको भिडियो सार्वजनिक हुँदा पनि सरकार मौन बसेको आरोप लगाए ।
  • राईले राष्ट्रियताको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र विगतका राष्ट्रघात तथा सीमा मिचिएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले नेपालको सिमाना रक्षाका लागि नेपाली सेनालाई किन परिचालन नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा सांसद राईले सुस्ता लगायतका क्षेत्रमा नेपाली नागरिकहरू भारतीय सुरक्षा बलसँग हप्कीदप्की खाँदै निहत्था लडिरहेको भन्दै रक्षामन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद राईले सुस्तामा नेपाली दाजुभाइहरूलाई एसएसबीले हप्काउने र दप्काउने गरेको भिडियोहरू सार्वजनिक भइरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । ‘हाम्रो नेपाली सेना सिमानामा जानै नहुने त्यस्तो के कसम खाएको छ ? नेपाल सरकारले सिमानामा सेना पठाउन नमिल्ने के त्यस्तो सन्धि वा सम्झौता गरेको छ ? त्यो सन्धिपत्र संसद्‌मा देखाइयोस्,’ राईले भने । 

संविधानको धारा २७ बमोजिम सूचनाको हक प्रयोग गर्दै उनले सीमा सुरक्षाको वास्तविकता स्पष्ट पार्न सरकारसँग आग्रह गरे । 

संसद्‌मा भइरहेको बजेट र अन्य भ्रष्टाचारका विषयमाथिको छलफललाई ‘आन्तरिक’ भन्दै राईले राष्ट्रियताको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।  ‘बजेट, बीवाइडी कर छली, वा संसदीय छानबिन समितिका कुराहरू आन्तरिक र दोस्रो प्राथमिकताका विषय हुन्,’ राईले भने, ‘हाम्रो पहिलो प्राथमिकता सिमाना नै हुनुपर्छ। भूगोल र माटो बिनाको देश सम्भव छैन।’

सांसद राईले विगतमा भएका सबै राष्ट्रघात र सीमा मिचिएका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताए । 

 ‘दोषी जोसुकै होस्, अनुहार र नाम नहेरी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस्,’ राईले भने, ‘विगतमा कसले राष्ट्रघात गर्‍यो र कसले सिमाना मिच्न दियो, ती सबैको हिसाब किताब हुनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप