शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी

शुक्रबार, २९ जेठ २०८३, १६ : ०६
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । बुढ्यौली प्रक्रिया उल्ट्याउने सम्भावना बोकेको भनिएको उपचार मानव शरीरमा परीक्षण गरिएको छ । मानिसमा बुढ्यौली रोक्ने सुई दिइएको यो पहिलो पटक हो।

एक जना बिरामीमा नयाँ ‘सेलुलर रि–प्रोग्रामिङ’ इन्जेक्सन लगाइएको अमेरिकाको बोस्टनमा रहेको बायोटेक स्टार्ट अप कम्पनी ‘लाइफ बायोसाइन्सेस’ले बताएको छ । परीक्षणमा सुई ग्लूकोमाबाट पीडित एक बिरामीको आँखाको नानीमा लगाइएको हो।

यस परीक्षणको मुख्य उद्देश्य उमेर बढेर कमजोर भएको कोशहरूलाई पुनः युवा–जस्तो अवस्थामा फर्काउने हो । अबको ६ महिनासम्म वैज्ञानिकहरूले यसको उपचारको प्रभावकारिता र सम्भावित जोखिमहरूलाई नजिकबाट अध्ययन गर्नेछन्।

हालसम्म कम्पनीले उक्त बिरामीबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन । यसले भविष्यमा सम्पूर्ण शरीरमा बुढ्यौलीसम्बन्धी उपचारको ढोका खोल्न सक्ने आशा गरिएको छ ।

यो प्रविधि ‘एपिजेनेटिक रि–प्रोग्रामिङ’ मा आधारित छ, जसले कोषभित्रको जीन अभिव्यक्तिको तरिका परिवर्तन गरेर तिनीहरूलाई युवा अवस्थामा फर्काउने प्रयास गर्छ ।

यो अवधारणामा हालका वर्षहरूमा ठुलो लगानी बढेको छ । विश्वका चर्चित व्यवसायीहरू जेफ बेजोस र साम अल्टम्यान लगायत ठुला औषधि कम्पनीहरू इली लिली र मर्कले पनि दीर्घायूसम्बन्धी अनुसन्धानमा लगानी बढाएका छन्।

लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी अधिकृत जेरी म्याक्लग्लिनले यसलाई चिकित्सा विज्ञानका लागि सम्भावित ऐतिहासिक मोड बताएका छन्। 

उनका अनुसार यदि परीक्षण सफल भएमा यसले मानव बुढ्यौलीसँग सम्बन्धित रोगहरूको उपचारमा नयाँ युग सुरु गर्न सक्छ । तर विज्ञहरूका अनुसार यो प्रविधि अझै प्रारम्भिक चरणमा छ भने यसको वास्तविक प्रभाव र सुरक्षा प्रमाणित हुन धेरै समय लाग्नेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप