शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा एआई साक्षरता तालिम सुरु

शुक्रबार, २९ जेठ २०८३, २२ : ३६
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । ललितपुरमा शुक्रबारदेखि 'एक्सेस टु एजेन्सी: एआई साक्षरता पाइलट' तालिम सुरु भएको छ।  

स्थानीय समुदाय र जनप्रतिनिधिहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित, व्यावहारिक र जिम्मेवार प्रयोगमा सक्षम बनाउने उद्देश्यले  महानगरपालिका वडा नं. ०२ र ओपन नलेज नेपालको सहकार्यमा तीन दिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

सांग्रिला ब्लु होटलमा आइतबारसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई एआई प्रविधिको माध्यमबाट जीविकोपार्जनमा सुधार, प्रभावकारी सञ्चार र स्थानीय सुशासन सुदृढ गर्ने तरिकाहरू सिकाइने छ। दैनिक बिहान १० बजेदेखि साढे ४ बजेसम्म चल्ने यस कार्यक्रममा समुदायका सदस्य र वडा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।

तालिमलाई तीनवटा मुख्य चरणमा विभाजन गरिएको छ। पहिलो दिन सहभागीहरूलाई एआई उपकरणहरूको पहिचान र सुरक्षित प्रयोगका बानीहरूका बारेमा प्रशिक्षित गरिएको छ। दोस्रो दिन अनुवाद, सामग्री सिर्जना र सरकारी सेवाहरूको सहज पहुँचका लागि एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे व्यावहारिक अभ्यास गराइनेछ। 

तालिमको अन्तिम दिन सहभागीहरूले आगामी तीन महिनाका लागि ठोस कार्ययोजना तयार गर्ने र त्यसको माध्यमबाट आफ्नो समुदायमा एआई साक्षरता फैलाउने अभियानमा उनीहरुको भूमिका स्थापित हुने आयोजकको विश्वास छ । 

परियोजना संयोजक एवं युएन अनलाइन भोलेन्टियर जयराज कुमार रोय दनुवारले यो तालिम प्रविधिको ज्ञान दिने मात्र नभई नागरिकको क्षमता र आत्मसम्मान अभिवृद्धि गर्ने माध्यम पनि भएको बताए । कार्यक्रमलाई लन्डन स्कूल अफ इकोनोमिक्सको इन्टरनेशनल इनइक्वालिटीज इन्स्टिच्युट अन्तर्गत रहेको 'एट्लान्टिक फेलोसिप फर सोसल एण्ड इकोनोमिक इक्विटी' ले आर्थिक सहयोग उपलब्ध गराएको छ।

तालिम समापनपछि पनि सहभागीहरूलाई तीन महिनासम्म साप्ताहिक 'चेक-इन' मार्फत मार्गदर्शन प्रदान गरिने बताइएको छ। यस पहलले डिजिटल युगमा स्थानीय सरकार र नागरिकबीचको खाडल कम गर्न र सुरक्षित प्रविधि प्रयोगको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप