सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ

सोमबार, ०१ असार २०८३, ०७ : ३६
सोमबार, ०१ असार २०८३

सारांश

  • रौतहट प्रहरीले करिब साढे ५ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
  • गौर नगरपालिका–४ गढवा क्षेत्रबाट राकेश कुमार कुशवाहा र सुनिल कुमार बैठालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
  • उनीहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा, एक थान मोबाइल र प्रयोग गरेको मोटरसाइकल बरामद गरिएको छ।

रौतहट। रौतहट प्रहरीले करिब साढे ५ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले गौर नगरपालिका–४ गढवा क्षेत्रबाट उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा गौर नगरपालिका–४ कै २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठालाई पक्राउ गरेको हो। उनीहरू सवार बीआर ०५ एस ६६०९ नम्बरको भारतीय सुपर स्प्लेन्डर मोटरसाइकल रोकेर जाँच गर्दा उक्त लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले पक्राउ परेकाहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा, एक थान मोबाइल र उनीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरिएको जानकारी दिएका छन्। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा आइतबार रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप