सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशको बजेट आकार निरन्तर वृद्धि हुँदै

सोमबार, ०१ असार २०८३, १४ : ११
सोमबार, ०१ असार २०८३

सारांश

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६६ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।
  • प्रदेशमा विकास निर्माणका योजनाको चाप बढ्दै गएपछि बजेटको आकार सुरुमा अनुमान गरिएको ५० अर्बबाट बढाएर ६६ अर्ब पुर्‍याइएको छ।
  • संघीयता कार्यान्वयनपछि बागमती प्रदेशको बजेट आकार विगत ९ वर्षमा करिब ७० गुणाले वृद्धि भई ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

हेटौँडा । बागमती प्रदेश सरकारले सोमबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। प्रदेश सरकारले ल्याउन लागेको यो १०औँ बजेट हो । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गर्ने तयारी गरेको छ। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सो रकम हाराहारीमा बजेट ल्याउन लागेका हुन् । 

प्रदेशमा विकास निर्माणका योजनाको चाप बढ्दै गएको कारण सुरुमा ५० अर्ब रुपैयाँको बजेट स्रोत अनुमान गरिए पनि माग बढ्दै गएपछि ६६ अर्बसम्मको बजेट ल्याउने सहमति बनेको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए। उनका अनुसार सांसद तथा योजनागत मागको चाप उच्च भएकाले बजेटको आकार बढाउने दबाब बढ्दै गएको छ।

यद्यपि आर्थिक मामिला तथा योजना मन्त्री तामाङ स्रोत अनुमानभन्दा ठूलो आकारको बजेट ल्याउन नसकिने अडानमा रहेको र सोही अनुसार बजेटको सिलिङ तय गरिएको ती कर्मचारीले बताए । अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट सिलिङ वितरण गरिसकेको छ भने साउनदेखि प्रशासनिक पुनर्संरचना कार्यान्वयनमा जाने तयारी भइरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।

विगतका बजेटको अवस्था

मुलुकमा संघीयता कार्यान्वयनसँगै बागमती प्रदेश सरकारले हालसम्म ९ वटा वार्षिक बजेट प्रस्तुत गरिसकेको छ। आर्थिक वर्ष २०७४/७५ देखि सुरु भएको प्रदेशको बजेट यात्रा पछिल्ला वर्षहरूमा आकार र खर्च दुवै हिसाबले विस्तार हुँदै गएको देखिन्छ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार प्रदेश सरकारको खर्च गर्ने क्षमतामा क्रमिक सुधार आएको छ। आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २ करोड ५ लाख रुपैयाँबाट सुरु भएको बजेट आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा प्रदेश बजेटको आकार करिब ७० गुणाले बढेको देखिन्छ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा ठूलो आकारको बजेट ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको थियो। सुरुका वर्षहरूमा खर्च क्षमता कमजोर देखिए पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ७१.९० प्रतिशत खर्च गर्दै हालसम्मकै उच्च कार्यक्षमता प्रदर्शन गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७०.९८ प्रतिशत खर्च भएको थियो।

पहिलो आर्थिक वर्ष २०७४/७५ मा विनियोजित बजेटको केवल २६.४० प्रतिशत मात्र खर्च हुन सकेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा (फागुन मसान्तसम्म) कुल विनियोजनको २२.३० प्रतिशत अर्थात् १५ अर्ब ५ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ।

बागमती प्रदेश सरकारले प्रत्येक वर्षको बजेटमा पुँजीगत खर्च (विकास खर्च) लाई प्राथमिकता दिँदै आएको देखिन्छ। विशेषगरी भौतिक पूर्वाधारमा बजेट केन्द्रित गर्ने प्रवृत्ति रहेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनमध्ये चालुतर्फ ३९.८६ प्रतिशत र पुँजीगततर्फ ५७.८२ प्रतिशत बजेट छुट्याइएको थियो। सोही वर्ष पुँजीगत खर्च ७८.७७ प्रतिशतसम्म पुगेको थियो।

९ वर्षको बजेट र खर्चको तुलनात्मक अवस्था (रु. करोडमा)

dt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप