सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौं : नीरज आचार्य

सोमबार, ०१ असार २०८३, १४ : ११
सोमबार, ०१ असार २०८३

सारांश

  • नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • उनले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने र पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताए ।
  • विभाग प्रमुख आचार्यले आफू विभागको 'कमान्डर' नभई सबैको 'सहयात्री' का रूपमा काम गर्ने, विचारमा स्पष्टता, कार्यशैलीमा आधुनिकता र टिमवर्कमा गतिशीलतालाई सफलताको मूल मन्त्र बनाउने बताए ।

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदभारग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना र प्रविधिको युगमा प्रचार–प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने बताएका हुन्। उनले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने उल्लेख गरे।

‘हाम्रो विचार–डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ,’ प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले भने, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ।’

आचार्यले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताए ।  ‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्यको बलले ध्वस्त पार्नेछौँ। सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन,’ आचार्यको भनाइ छ । 

विभाग प्रमुख आचार्यले आफू विभागको ‘कमान्डर’ नभई सबैको ‘सहयात्री’ का रूपमा काम गर्न आएको उल्लेख गर्दै सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताए । 

‘विचारमा स्पष्टता, कार्यशैलीमा आधुनिकता र टिमवर्कमा गतिशीलता नै हाम्रो सफलताको मूल मन्त्र हुनेछ,’ उनको भनाइ छ ।

पदभार ग्रहण गर्दै आचार्यले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गरेका थिए । साथै, विभागलाई अहिलेको अवस्थामा पु¥याउन योगदान दिने निवर्तमान नेतृत्व र टोलीप्रति धन्यवाद व्यक्त गर्दै हिजोका उपलब्धिलाई निरन्तरता दिँदै नयाँ ऊर्जा र प्रविधिसहित विभागलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

आचार्यले प्रचार तथा प्रकाशन विभागलाई पार्टीको नीति, विचार र सिद्धान्त जनतामाझ पुर्याउने महत्त्वपूर्ण ‘पावर हाउस’ को संज्ञा दिँदै आगामी दिनमा सबैको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप