सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
विश्वकप प्रिभ्यु

स्पेन र नवप्रवेशी केप भर्डे आज भिड्दै, यस्तो छ दुवै टोलीको अवस्था

सोमबार, ०१ असार २०८३, १५ : १०
सोमबार, ०१ असार २०८३

सारांश

  • युरो २०२४ को विजेता स्पेनले जर्जियाको एटलान्टा स्टेडियममा केप भर्डेविरुद्ध खेल्दै सन् २०२६ को फिफा विश्वकपको सुरुआत गर्नेछ।
  • स्पेनिस टोली उत्कृष्ट प्रदर्शन गरेर बाँकी प्रतियोगिताका लागि बलियो सन्देश दिन चाहन्छ, पछिल्ला ३१ प्रतिस्पर्धात्मक खेलमा अपराजित छ।
  • यस विश्वकपमा डेब्यु गरिरहेको केप भर्डे अफ्रिकी महारथी क्यामरुनलाई पछि पार्दै समूहको शीर्ष स्थानमा रहेर छनोट भएको हो।

एटलान्टा । युरोपियन च्याम्पियन स्पेनले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो उपस्थिति जनाउँदै गर्दा सिङ्गो राष्ट्रलाई ठुलो अपेक्षा छ।

युरो २०२४ को विजेता स्पेनले जर्जियाको एटलान्टा स्टेडियममा केप भर्डेविरुद्ध खेल्दै यस विश्वकपको सुरुआत गर्दै छ।

यसपटक विश्वकपमा पहिलोपटक सहभागी भइरहेका चार टोलीमध्ये एक केप भर्डेविरुद्ध खेल्दै स्पेनले समूह ‘एच’ को सुरुआत गर्नेछ। यस समूहमा साउदी अरब र उरुग्वे पनि छन्। लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेनिस टोली सुरुआती खेलमै उत्कृष्ट प्रदर्शन गरेर बाँकी प्रतियोगिताका लागि बलियो सन्देश दिन चाहन्छ।

दुई वर्षअघि आफ्नो पछिल्लो प्रमुख प्रतियोगिता युरो २०२४ को फाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको स्पेन अहिले फिफा वरीयताको दोस्रो स्थानमा छ। छनोट चरणका ६ मध्ये ५ खेल जित्दै स्पेन समूह विजेता बनेर यस विश्वकपमा आएको हो।

युरोपियन च्याम्पियनका रूपमा यसपटक विश्वकपको उपाधि पनि जितेमा स्पेन एकैसाथ विश्वकप र युरोकप दुवै उपाधि जित्ने चौथो टोली बन्नेछ। यसअघि पश्चिम जर्मनी (युरो १९७२, विश्वकप १९७४), फ्रान्स (विश्वकप १९९८, युरो २०००) र स्वयं स्पेन (युरो २००८, विश्वकप २०१०, युरो २०१२) ले मात्रै यस्तो सफलता हात पारेका थिए।

spain

प्रशिक्षक डे ला फुएन्टेले स्पेनलाई पुरानै लयमा फर्काएका छन्। उनको टोली पछिल्ला ३१ प्रतिस्पर्धात्मक खेलमा अपराजित छ। मार्च २०२३ मा स्कटल्यान्डसँग २-० ले पराजित भएयता स्पेनले २५ खेल जितेको छ, जुन मैत्रीपूर्णबाहेकका खेलमा उनीहरूको अहिलेसम्मकै लामो अपराजित यात्रा हो।

यस विश्वकपको छनोट चरणमा स्पेनले प्रति ९० मिनेट औसत ९.७ पटक पोस्टमा प्रहार गरेको थियो, जुन अन्य कुनै पनि टोलीको भन्दा बढी हो।

युरो २०२४ को फाइनलमा स्पेनका लागि विजयी गोल गर्ने मिकेल ओयारजाबाल युरोपेली छनोट चरणमा १० वा सोभन्दा बढी गोलमा संलग्न हुने तीन खेलाडीमध्ये एक थिए। उनका ६ गोल र ४ असिस्टलाई एर्लिङ हालान्ड (१८) र मेम्फिस डिपाए (१२) ले मात्रै उछिनेका थिए।

स्पेनले विश्वकपमा स्थान पक्का गरेयता पनि ओयारजाबालले आफ्नो गोल गर्ने लय कायम राखेका छन्। २०२६ का ४ मैत्रीपूर्ण खेलमा उनले ३ गोल गरेका छन्। यसका साथै भिक्टर मुनोज, फेरान टोरेस र पेड्रीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।

यद्यपि, पछिल्ला विश्वकपहरूमा स्पेनको कीर्तिमान त्यति राम्रो छैन। विश्वकपका पछिल्ला ६ खेलमध्ये स्पेनले ९० मिनेटभित्र एउटा खेल मात्र जितेको छ। २०२२ को विश्वकपको समूह चरणमा स्पेनले कोस्टारिकालाई ७-० ले हराएको थियो।

कोस्टारिकाविरुद्धको त्यही जितलाई स्पेनले आधार मान्न सक्छ। किनभने उसले आज विश्वकपमा पहिलोपटक खेलिरहेको केप भर्डेसँग खेल्दै छ। अफ्रिकी महारथी क्यामरुनलाई पछि पार्दै आफ्नो समूहको शीर्ष स्थानमा रहेर केप भर्डे विश्वकपमा छनोट भएको हो।

cape verde

छनोट चरणमा केप भर्डेले व्यहोरेको एक मात्र हार क्यामरुनसँगको ४-१ को पराजय थियो। यद्यपि, विश्वकपमा पुग्ने अफ्रिकी टोलीमध्ये ‘ब्लु सार्क्स’ उपनामले चिनिने केप भर्डेको गोल अन्तर (+८) सबैभन्दा कम थियो।

कुराकाओ, जोर्डन र उज्वेकिस्तानसँगै यस विश्वकपमा डेब्यु गरिरहेको केप भर्डेले मुख्य प्रशिक्षक बुबिस्टाको नेतृत्वमा दुई पटक अफ्रिका कप अफ नेसन्स (आफ्कन) को नकआउट चरणमा प्रवेश गरेको छ।

वास्तवमा, केप भर्डेले आफ्ना कुल ४ एफ्कन सहभागितामध्ये ३ पटक नकआउट चरणको यात्रा तय गरेको छ। सन् २०१३ र २०२३ मा टोली क्वाटरफाइनलसम्म पुगेको थियो, जसमध्ये पछिल्लो सफलता बुबिस्टाकै नेतृत्वमा मिलेको हो।

छनोट चरणका ७ मध्ये ६ खेल जित्दै केप भर्डे उच्च मनोबलका साथ यस विश्वकपमा प्रवेश गरेको छ। प्रतियोगिताअघिका दुई मैत्रीपूर्ण खेलमा उसले सर्बिया र बर्मुडा दुवैलाई ३-० को समान अन्तरले हराएको थियो।

फरवार्ड डेलोन लिभ्रामेन्टोले २०२६ को विश्वकप छनोटका पछिल्ला ५ खेलमा ४ गोल गरेका थिए। जसमध्ये क्यामरुनविरुद्धको महत्त्वपूर्ण १-० को जितसहित तीन खेलमा उनले सुरुआती गोल गरेका थिए।

लिल र नटिङ्घम फरेस्टका पूर्व विङ्गर रायन मेन्डिसको कप्तानीमा रहेको केप भर्डे स्पेनका लागि त्यति परिचित टोली होइन। तर भिल्लारियलका सेन्टर-ब्याक लोगन कोस्टालगायत केही खेलाडी भने स्पेनिस खेलाडीमाझ परिचित छन्।

स्पेन र केप भर्डेको हेड-टु-हेड 

विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा अफ्रिकी राष्ट्र केप भर्डेले डेब्यु गर्दै गर्दा स्पेन र केप भर्डेबीच यो पहिलो भेट हुनेछ।

विश्वकपमा स्पेनलाई हराउने एकमात्र अफ्रिकी राष्ट्र नाइजेरिया हो। सन् १९९८ को समूह चरणमा नाइजेरियाले स्पेनलाई ३-२ ले हराएको थियो।

अफ्रिकी टोलीविरुद्ध स्पेनले खेलेका पछिल्ला दुई खेल मोरक्कोसँग थियो। सन् २०१८ मा २-२ को बराबरी खेलेको स्पेन २०२२ को क्वाटरफाइनलमा गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा ३-० ले पराजित भएको थियो।

स्पेनको २६ सदस्यीय टोली

  • गोलकिपर: उनाइ सिमोन (एथलेटिक बिल्बाओ), डेभिड राया (आर्सनल), जोन गार्सिया (बार्सिलोना)।
  • डिफेन्डर: मार्कोस लोरेन्टे (एथलेटिको म्याड्रिड), मार्क पुबिल (एथलेटिको म्याड्रिड), पेड्रो पोरो (टोटनह्याम), एमरिक लापोर्टे (एथलेटिक बिल्बाओ), एरिक गार्सिया (बार्सिलोना), पाउ कुबार्सी (बार्सिलोना), मार्क कुकुरेला (चेल्सी), अलेजान्ड्रो ग्रिमाल्डो (बायर लिभरकुसन)।
  • मिडफिल्डर: रोड्री (म्यानचेस्टर सिटी), मार्टिन जुबिमेन्डी (आर्सनल), मिकेल मेरिनो (आर्सनल), पेड्री (बार्सिलोना), गाभी (बार्सिलोना), फाबियन रुइज (पेरिस सेन्ट जर्मेन), एलेक्स बाएना (एथलेटिको म्याड्रिड)।
  • फरवार्ड: जेरेमी पिनो (क्रिस्टल प्यालेस), भिक्टर मुनोज (ओसासुना), मिकेल ओयारजाबाल (रियल सोसिडाड), फेरान टोरेस (बार्सिलोना), लामिन यामल (बार्सिलोना), डानी ओल्मो (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिल्बाओ), बोर्जा इग्लेसियास (सेल्टा भिगो)।

केप भर्डेको २६ सदस्यीय टोली

  • गोलकिपर: भोजिन्हा (चाभ्स), मार्सियो रोजा (मोन्टाना), सीजे डोस सान्तोस (सान डिएगो)।
  • डिफेन्डर: स्टोपिरा (टोरेन्से), रोबर्टो लोपेस (सामरक रोभर्स), जोआओ पाउलो (एफसीएसबी), डिने (अल बताह), लोगान कोस्टा (भिल्लारियल), स्टेभन मोरेरा (कोलम्बस क्रिउ), वाग्नर पिना (ट्राबजोन्सपोर), सिड्नी लोपेस काब्राल (बेन्फिका), केल्भिन पिरेस (एसजेके)।
  • मिडफिल्डर: जामिरो मोन्टेरो (पीईसी ज्वाल्ले), केभिन पिना (क्रास्नोडार), डेरोय डुआर्टे (लुडोगोरेट्स), टेल्मो अर्कान्जो (भिटोरिया गुइमारेस), लारोस डुआर्टे (पुस्कास एकेडेमिया), यानिक सेमेडो (फारेन्से)।
  • फरवार्ड: रायन मेन्डेस (इग्दिर), ग्यारी रोड्रिगेस (अपोलोन लिमासोल), विली सेमेडो (ओमोनिया), जोभाने काब्राल (इस्ट्रेला अमाडोरा), गिल्सन टाभारेस (एक्रोन टोल्याटी), डेलोन लिभ्रामेन्टो (कासा पिया), हेलियो भारेला (मक्काबी तेल अभिभ), नुनो डा कोस्टा (इस्तानबुल बासाक्सेहिर)।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप