सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक तनावको छायामा इरान, विश्वकप तयारीमा अनेक अवरोध

सोमबार, ०१ असार २०८३, १६ : ३६
सोमबार, ०१ असार २०८३

विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद र विरोध प्रदर्शनको छायाँले इरानको तयारी प्रभावित भएको प्रशिक्षक अमिर घालेनोईले बताएका छन् । तर उनले आफ्ना खेलाडीहरू कुनै पनि ‘हाइप’ वा प्रचारमा नअल्मलिई पूर्ण रूपमा खेलमा केन्द्रित रहने दाबी गरेका छन् ।

अमेरिका र इरानबीच महिनौँदेखि जारी सैन्य द्वन्द्वका बीच केही इरानी टोली सहयोगीहरूलाई भिसा अस्वीकार गरिएको विषयले टोलीलाई कूटनीतिक दबाबमा पारेको छ । आयोजक अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा इरानले पहिलो खेल सोमबार लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्दैछ ।

खेलअघि टोलीलाई प्रहरी मोटरसाइकल एस्कर्टसहित प्रशिक्षण मैदानसम्म पुर्‍याइएको थियो । त्यहाँ इरानी शासन विरोधी प्रदर्शनकारीहरूको सानो समूहले टोलीलाई स्वागत गरेको थियो । इरानी डायस्पोराका केही समूहले स्टेडियम बाहिर ठूला प्रदर्शन गर्ने तयारी गरेका छन् भने सरकारविरोधी ब्यानर देखिएमा टोलीले मैदान छोड्न सक्ने चेतावनीसमेत दिइएको छ ।

यसैबीच पत्रकार सम्मेलनमा प्रशिक्षक घालेनोईले टोलीको उद्देश्य केवल फुटबल खेल्नु रहेको स्पष्ट रूपमा बताएका छन् । उनले भने, “हामी राम्रो खेल खेल्न आएका हौँ, उच्च स्तरको प्रदर्शन दिन आएका हौँ । हामी कुनै पनि प्रचार वा बाहिरी विषयमा ध्यान दिँदैनौँ ।” उनका अनुसार प्रत्येक देशका टोलीले आफ्नै चुनौतीहरू सामना गर्नुपर्छ र ती सबै फुटबलसँग प्रत्यक्ष सम्बन्धित हुँदैनन् ।

उनका अनुसार इरानको प्रतिनिधित्व देशभित्र र विदेशमा रहेका सबै इरानी जनताका लागि गरिएको हो । उनले फुटबललाई राजनीतिबाट अलग राख्नुपर्नेमा जोड दिँदै आफूहरू राजनीतिक व्यक्ति नभएको स्पष्ट पारे ।

उनको पत्रकार सम्मेलन अमेरिका र इरानबीच शान्ति सम्झौता घोषणा भएको केही समयपछि भएको हो । शान्ति सम्झौताको घोषणाले युद्धविराम र हर्मुज जलघाँटी खुलाउने विषयलाई प्राथमिकतामा राखेको छ । तर विश्वकपमा देखिएको राजनीतिक संवेदनशीलता यसअघि नै खेल वातावरणमा स्पष्ट रूपमा महसुस गरिएको छ ।

इरान मात्र नभई, अन्य टोली र अधिकारीहरू पनि भिसा तथा प्रवेशसम्बन्धी समस्याबाट प्रभावित भएको बताइएको छ । केही रेफ्रीहरूलाई समेत अमेरिका प्रवेश अनुमति नदिइएको घटनाले प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।

इरानी स्टार स्ट्राइकर मेहदी तारेमीले प्रतियोगिताको वातावरणले खेलाडीको मनोबल र खेलको आनन्द दुवैमा असर पारेको बताएका छन् । उनका अनुसार शान्ति र उत्सवको सन्देश दिने फुटबलमै यस्तो तनाव आउनु दुःखद् हो ।

यसैबीच, इरानले सुरुमा अमेरिकामा प्रशिक्षण शिविर राख्ने योजना बनाएको भए पनि अन्तिम समयमा मेक्सिकोको टिजुआनामा स्थानान्तरण गरिएको थियो । प्रशिक्षक घालेनोईले बारम्बार स्थान परिवर्तनले तयारीमा असर परेको स्वीकार गरेका छन् । “हामीसँग पर्याप्त समय थिएन, तर कठिनाइलाई अवसरमा बदल्ने हाम्रो संस्कार छ,” उनले भने ।

इरान अहिलेसम्म विश्वकपको नकआउट चरणमा पुग्न सकेको छैन । समूह ‘जी’ मा इरानसँगै बेल्जियम र इजिप्टजस्ता बलिया टोलीहरू रहेका छन् ।

लस एन्जलस नजिकैको कार्सन क्षेत्रमा प्रशिक्षण सत्र बाहिर करिब २५ जना प्रदर्शनकारीहरू भेला भई इरानको वर्तमान शासनको आलोचना गरेका थिए । उनीहरूले टोलीले जनताको प्रतिनिधित्व नगरेको दाबी गरेका थिए । एक प्रदर्शनकारी सतगिन जलालीले टोलीलाई ‘इरानी जनताको प्रतिनिधि नभएको’ आरोप लगाउँदै स्टेडियमभित्र थप प्रदर्शन हुने चेतावनी दिएका छन् ।

अर्का प्रदर्शनकारी सोरात दाराबीले इरानभित्र अभिव्यक्ति स्वतन्त्रता सीमित रहेको दाबी गर्दै आफूहरू विदेशमा इरानी जनताको आवाज बन्न खोजिरहेको बताएका छन् । उनका अनुसार देशभित्र इन्टरनेट बन्द हुने र विरोध गरेमा दमन हुने अवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप