सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
सुदूरमा बजेट ल्याउन ढिलाइ

सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी

सोमबार, ०१ असार २०८३, १८ : ५५
सोमबार, ०१ असार २०८३

सारांश

  • सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटको सिलिङलाई लिएर विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्योलमा परेको छ।
  • एमालेले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट सिलिङलाई लिएर विवाद छ, जसमा एमालेले बजेट बढाउन माग गरेको छ भने मुख्यमन्त्रीले बढाउन नसकिने बताएका छन्।
  • यस खिचातानीका कारण बजेट स्वीकृत गर्नुपर्ने मन्त्रिपरिषद्को बैठक समेत बस्न सकेको छैन र सरकारले राति ९ बजे बैठक बसेर बजेट भाषण गर्ने तयारी गरेको छ।

धनगढी । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटको सिलिङलाई लिएर विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्योलमा परेको छ। 

सोमबार साँझ ५ बजेका लागि तय गरिएको प्रदेश सभाको बैठक दुई दलबिचको रस्साकस्सीका कारण अहिलेसम्म सुरु हुन सकेको छैन। विवादको मुख्य कारण एमालेले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट सिलिङ बनेको छ। सुरुमा ७ अर्ब ५३ करोड ९१ लाख रुपैयाँको सिलिङ पाएको यो मन्त्रालयका लागि एमालेले थप बजेट माग गरेको छ। स्रोतका अनुसार एमालेले भौतिकको बजेट १२ अर्ब पुर्‍याउनुपर्ने अडान राखेको छ भने मुख्यमन्त्री कमलबहादुर शाहले अन्तिम समयमा सिलिङ बढाउन नसकिने बताएका छन्।

यही खिचातानीका कारण बजेट स्वीकृत गर्नुपर्ने मन्त्रिपरिषद्को बैठक समेत बस्न सकेको छैन। मुख्यमन्त्री शाहले मध्यमार्गी बाटो खोज्न अर्थ विविध शीर्षकबाट पछि व्यवस्थापन गर्ने प्रस्ताव गरे पनि एमालेले कम्तीमा २ अर्ब तत्काल थप गर्नुपर्ने अडान राखेको छ।

बजेट भाषण सुन्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका सांसदहरू समयमै प्रदेश सभा पुगे पनि सत्तापक्षका मन्त्री र अधिकांश सांसदहरू अनुपस्थित छन्। प्रतिपक्षी सांसद ओमविक्रम भाटले सरकारको गैरजिम्मेवारीपनले बजेट अन्योलमा परेको टिप्पणी गरे। 

‘बजेटका लागि बैठक बोलाइएको छ, सत्तापक्ष आफैँभित्रको कलहले मन्त्रिपरिषद् समेत बस्न सकेको छैन, बजेट पाँच भनिएको थियो, त्यसपछि अहिले राति ९ बजेको सूचना गरिएको छ, सत्ता गठबन्धनभित्र बजेटका लागि तानातान छ, प्रदेशमा योजना बैंकबाट योजना पास गरेको भए, विधि, शासन प्रयोग गरेको भए यस्तो हुन्थेन, उहाँहरूले खुद्रा र टुक्रे बजेट ल्याउनुहुन्छ, त्यही भएर यहाँ सधैँ ढिला हुन्छ, अव ९ बजे पनि बैठक बसेर बजेट भाषण हुन्छ वा हुँदैन थाहा छैन,’ सांसद भाटले भने।

यसअघि आइतबार पनि दबाब बढाउन एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित मन्त्रीहरूले सदन बहिष्कार गरेका थिए। अवरोध नभएको खण्डमा सरकारले यस पटक हालसम्मकै ठुलो अर्थात् साढे ३८ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएको प्रदेशले यस पटक खर्च हुन नसकेको रकम बचत लाई समेत गणना गरेर आकार बढाउन खोजेको हो।

हाल दलहरूबिच सहमतिका लागि अनौपचारिक छलफल जारी छ। सहमति जुटेमा राति अबेरसम्म भए पनि बजेट प्रस्तुत गर्ने तयारी सरकारको छ। प्रदेश सभा सचिवालयले राति ९ बजे बैठक बस्ने अर्को सूचना जारी गरेको छ। मुख्यमन्त्री बजेट ल्याउनका लागि कसरतमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप