गण्डकीले उद्योग र पर्यटनमा छुट्यायाे २ अर्ब
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन र औद्योगिक विकासमा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- पोखराको फेवाताल संरक्षण तथा सौन्दर्यीकरणका लागि ५ करोड र नवलपुरको धौवादी फलाम खानी उत्खननका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ ।
- प्रदेश सरकारले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना पुनः सञ्चालन गर्न सङ्घीय सरकारसँग समन्वय गर्ने योजना बनाएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन र औद्योगिक विकासलाई लक्षित गर्दै २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखराको फेवाताल संरक्षण तथा सौन्दर्यीकरण र राष्ट्रिय गौरवको धौवादी फलाम खानी उत्खनन तथा सञ्चालनलाई सरकारले प्राथमिकतामा दिएको छ ।
पर्यटनको राजधानी पोखराको फेवातालमा पोखरा महानगरपालिकासँगको साझेदारीमा सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरेको छ । तालको संरक्षणसँगै राउन्ड फेवा, न्यु फेवा कार्यक्रमलाई निरन्तरता दिइएको सरकारले जनाएको छ । यस्तै, फेवातालमा फेवा होराइजन पेडेस्ट्रियन ब्रिज र सेल्फी ब्रिज निर्माण कार्य अघि बढाउने अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
उनका अनुसार, रुपातालमा सिसाको पुल निर्माण अगाडि बढाउन छुट्टै बजेट विनियोजन भएको छ । साहसिक र खेलकुद पर्यटनको केन्द्रका रूपमा पोखरालाई विकास गर्दै आगामी ५ वर्षभित्र अन्तर्राष्ट्रिय पर्यटकको आगमन दोब्बर बनाउने लक्ष्य लिएको छ ।
संघ सरकारसँगको साझेदारीमा नवलपुरको धौवादी फलाम खानी उत्खनन, प्रशोधन र सञ्चालनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसका साथै प्रदेशभित्र रहेका अन्य खानी तथा खनिज पदार्थको खोजी र अन्वेषण कार्यलाई पनि तीव्रता दिइने सरकारको योजना छ ।
लामो समयदेखि बन्द अवस्थामा रहेका गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन सङ्घीय सरकारसँग समन्वय गरिने शेरचनले बताए । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रश्रय दिन घरेलु मदिरा उत्पादन, ब्रान्डिङ तथा नियमन गर्ने सरकारको घोषणा छ ।
स्थानीय स्तरमा उद्यमशीलता, उत्पादन र रोजगारी अभिवृद्धि गर्न तीन तहकै सरकारको साझेदारीमा सञ्चालन हुने नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि १३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पुँडीटार र लोकाहा खोलामा औद्योगिक क्षेत्रको जग्गा प्राप्ति र पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण