विश्वकपमा स्पेनको खराब रेकर्ड : २,५०० पास तर गोल शून्य
सारांश
- विश्वकप २०२६ मा केप भर्डले पहिलो खेलमै साविक युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै स्तब्ध पारेको छ।
- ४० वर्षका गोलकिपर वोजिन्हाले उत्कृष्ट बचाउ गर्दै स्पेनलाई गोल गर्नबाट रोके भने केप भर्डले खेलभरि जम्मा एक फल गर्यो।
- स्पेनले विश्वकपमा २,५०० पास खेल्दा पनि गोल गर्न सकेन र आफ्नो खराब सुरुआतको इतिहास कायम राख्यो।
एटलान्टा । विश्वकप २०२६ मा पहिलो पटक पाइला राखेको केप भर्डले आफ्नो पहिलो खेलमै साविक युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्व फुटबललाई स्तब्ध पारेको छ। एटलान्टामा सोमबार राति भएको खेलमा केप भर्डले बलियो प्रतिद्वन्द्वी स्पेनविरुद्ध उत्कृष्ट रक्षापङ्क्ति प्रदर्शन गर्यो।
खेल अवधिभर आफ्ना डिफेन्डरहरूको बलियो साथ पाएका केप भर्डका भेट्रान गोलकिपर वोजिन्हाले केही उत्कृष्ट बचाउ गर्दै स्पेनलाई गोल गर्नबाट बञ्चित गरे। खेल सुरु हुनुअघि कसैले पनि कल्पना नगरेको नतिजा निकाल्दै केप भर्डले ऐतिहासिक एक अङ्क जोड्न सफल भयो। यस स्मरणीय खेलका केही मुख्य र रोचक तथ्याङ्कहरू यस्ता छन्:
- ४० वर्षको उमेरमा वोजिन्हाको सानदार डेब्यु
पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट व्यावसायिक फुटबल खेल्ने गोलकिपर वोजिन्हाले जुन ३ मा मात्रै आफ्नो ४० औँ जन्मदिन मनाएका थिए। उनी पुरुष विश्वकपको इतिहासमै डेब्यु गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। यसअघि सन् २०१८ को विश्वकपमा इजिप्टका गोलकिपर एसाम एल-हदारेले ४५ वर्ष १६१ दिनको उमेरमा डेब्यु गर्दै सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान बनाएका थिए।
स्पेनले खेलभरि केप भर्डको पोस्टमा २७ पटक प्रहार गरेकामा वोजिन्हा एक्लैले ७ वटा उत्कृष्ट बचाउ गरे। सन् १९६६ यता विश्वकपको एउटै खेलमा ४० वर्ष वा सोभन्दा बढी उमेरमा योभन्दा धेरै बचाउ गर्ने कीर्तिमान उत्तरी आयरल्यान्डका पाट जेनिङ्सको नाममा मात्र छ, उनले सन् १९८६ मा ब्राजिलविरुद्ध आफ्नै ४१ औँ जन्मदिनको दिन १० वटा सेभ गरेका थिए।
- खेलभरि मात्र एक फल
केप भर्डका खेलाडीहरू मैदानमा कति अनुशासित रूपमा उत्रिएका थिए भन्ने कुरा उनीहरूले खेलभरि जम्मा एउटा मात्र फल गर्नुले प्रमाणित गर्छ। सन् १९६६ यता विश्वकपको इतिहासमै कुनै पनि टोलीले एउटा खेलमा गरेको यो सबैभन्दा कम फलको कीर्तिमान हो। पहिलो हाफमा सिड्नी लोपेज काब्रालले गरेको सो एक मात्र फलका लागि उनले पहेँलो कार्ड भने खानु परेको थियो।
- ओयार्साबालले ३० मिनेटसम्म बल नै छुन पाएनन्
युरो २०२४ को फाइनलमा इङ्गल्यान्डविरुद्ध स्पेनका लागि विजयी गोल गरेका स्टार स्ट्राइकर मिकेल ओयार्साबालले केप भर्डविरुद्ध मैदान उत्रिँदा सुरुवाती ३० मिनेटसम्म एक पटक पनि बल छुन पाएनन्। फुटबल तथ्याङ्क राख्ने संस्था ओप्टाका अनुसार सन् १९६६ यता विश्वकपको इतिहासमा कुनै पनि प्रमुख स्ट्राइकरले खेलको सुरुवाती आधा घण्टासम्म बल नै नछोएको यो पहिलो घटना हो।
- फिफा वरीयताको भिन्नताले काम गरेन
फिफाको विश्व वरीयतामा स्पेन र केप भर्डबीच ६५ स्थानको ठूलो दूरी रहेको छ। विश्वकपको इतिहासमा यति धेरै वरीयताको अन्तर भएको खेलमा माथिल्लो स्थानमा रहेको टोलीले जित्न नसकेको यो नै इतिहासकै सबैभन्दा ठूलो अन्तर हो।
- २,५०० पास तर गोल शून्य
सन् २०२२ को कतार विश्वकपको समूह चरणको अन्तिम खेलमा जापान विरुद्ध अल्भारो मोराटाले ११ औँ मिनेटमा हेडमार्फत गोल गरेयता स्पेनले विश्वकपमा कुनै गोल गर्न सकेको छैन। त्यसयता स्पेनले विश्वकपका खेलहरूमा ४९ पटक गोलको प्रयास गरिसकेको छ भने कुल २,५०० पासहरू खेलिसक्दा पनि बललाई जाली चुमाउन सकेको छैन। कतार विश्वकपमा जापानसँगको सो खेलपछि स्पेन अन्तिम १६ मा मोरक्कोसँग ०–० को बराबरीमा रोकिएको थियो र पछि पेनाल्टी सुटआउटमा पराजित भएको थियो। अहिले सन् २०२६ को विश्वकपको सुरुआत पनि उसले केप भर्डसँगको बराबरीबाटै गरेको छ।
- स्पेनको खराब सुरुआतको इतिहास कायमै
विश्वकपको पहिलो खेलमा खराब सुरुआत गर्ने स्पेनको पुरानो बानी यस पटक पनि दोहोरिएको छ। स्पेनले आफ्ना पछिल्ला १५ वटा विश्वकप सहभागितामध्ये मात्र ३ पटक आफ्नो पहिलो खेल जितेको छ भने ५ खेल बराबरी खेलेको र ७ खेलमा पराजय भोगेको छ। यद्यपि, ती ७ पराजयमध्ये एक पराजय सन् २०१० मा बेहोरेको थियो, जहाँ पहिलो खेल हारेर पनि स्पेनले इतिहासमै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो।
तर त्यसपछिका वर्षहरूमा विश्वकपमा स्पेनको प्रदर्शन खस्कँदो छ। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन सन् २०१८ र २०२२ मा लगातार अन्तिम १६ बाटै घर फर्कियो। सन् २०१० को फाइनलमा नेदरल्यान्डलाई पराजित गरेयता स्पेनले विश्वकपमा १२ खेल खेलिसकेको छ तर उसले मात्र ३ खेलमा मात्र जित निकाल्न सकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
-
नेतान्याहुको हालतः तेल पानी एकै ठाउँ, पिना बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण